गण्डकीमा राइड सेयरिङ ‘ई–ड्राइभ’को सेवा विस्तार

आफ्नै विद्युतीय कार, मोटरसाइकल र स्कुटर चलाउने

समाधान संवाददाता २०८१ असार १६ गते ११:५७

पोखरा ।
प्रविधिको प्रयोगमा जोड दिँदै गण्डकी प्रदेशभर सेवा प्रदान गर्ने गरी ‘ई–ड्राइभ नेपाल’ को राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गर्दै राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।

Advertisement


गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा सुरुआत गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।


‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ,’ कार्कीले भने ।

Advertisement


१ हजारभन्दा बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो ।


भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए । उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र प्राकृतिक प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’ विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिब विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ ।

Advertisement


यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेसन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफूलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ,’ उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन सेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’


ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्णरुपमा सुरक्षित रहने दाबी गरिएको छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् ।


उनका अनुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनीले गर्ने उल्लेख गरेको छ ।


ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिँदै आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो ।


आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हुँदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं,’ उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’


वातावरणमैत्री विद्युतीय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री सहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए । ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभई सहजीकरण गर्न आएको बताए ।

‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने । उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया