पाउलो फ्रेरेको शिक्षा–दर्शन

पाउलो फ्रेरे ब्राजिलका एक दार्शनिक थिए । उनी शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्दथे । उनले शिक्षाको परम्परावादी प्रणाली खारेज गरे र समाजवादी, जनतान्त्रिक र सहभागितामूलक दृष्टिकोणको विकास गरे । उनका अनुसार ‘शिक्षाले शिक्षार्थीहरूको वरिपरिको संसारसँग गम्भीर रूपले जोडिनका लागि सशक्त बनाउनेछ’ । उनले शिक्षालाई केवल एउटा व्यक्तिले अर्को व्यक्तिलाई ज्ञान प्रदान गर्ने माध्यम मात्र मानेनन्, बरु शिक्षा व्यक्ति र समाज परिवर्तनको प्रक्रिया हो भन्ने कुरा स्पष्ट पारे ।
उनले भने, ‘शिक्षा प्राप्त गर्नु भनेको आफ्ना अनुभव र ज्ञानले वस्तुगत सामाजिक संरचनाहरूका बारे सोच्न सक्ने शक्ति पैदा गर्नु हो, गलत र अन्यायको विरोध गर्न र समतामूलक समाज निर्माणको दिशामा सक्रिय रूपले काम गर्नमा सक्षम बनाउनु हो ।’
पाउलो फ्रेरेको जन्म १९ सेप्टेम्बर १९२१ मा उत्तर–पूर्वी ब्राजिलको एउटा सानो शहर रेसिफको पेरनामबुकोमा भएको थियो ।
उनको पूरा नाम पाउलो रेग्लास नेभेस फ्रेरे हो । उनी गरिबी र अभावमा हुर्किएका थिए । गरिबिको सम्पूर्ण दर्शन उनको शिक्षा–दर्शनमा देखिन्छ । उनको प्रारम्भिक शिक्षा रेसिफको स्कूलमा भयो, तर सन् १९२९ को आर्थिक संकट पछि उनले स्कूलमा नियमित रूपमा पढ्न सकिरहेका थिएनन् । त्यसकारणले गर्दा स्कूलमा उनी पछाडि परेका थिए ।
सामाजिक वर्गभेदको कारण बुझे: फ्रेरेले उनको स्कूल जीवनमा खान–लाउन नपाएर हैरान भएका र खान र लाउन पर्याप्त भएको विद्यार्थी साथीहरूको संगत गरे । त्यसैबेलादेखि उनको मनमा ईश्वरले कोहीलाई गरिब र कोहीलाई धनी किन बनाउँदछन् भन्ने शंका उत्पन्न भयो । पछि उनले गरिब र धनी हुने कुरा ईश्वर प्रदत्त नभएर सामाजिक वर्गभेदको कारण रहेछ भन्ने बुझे । उनी भन्छन्– मैले अझै यसको वास्तविक कारण खोजी गर्न सकिरहेको छैन ।
बचपनमा नै उनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवादी, नस्लवादी र फाँसीवादी उत्पीडनका अलग–अलग रूपहरूलाई बुझ्न पाएका थिए । उनले एघार वर्षकै उमेरमा मानिसले खान–लाउन नपाउने कुराको कारण खोजी खान पाउने बनाउन कसरी सकिन्छ भनी उपायको खोजीमा जुटे । बचपनको अनुभवले उनीमा गरिब र कम भाग्यशाली भनिएका मानिसका लागि केही न केही गर्ने हुटहुटी जागेको थियो ।
जीवनमा एक दिन मात्र वकालत गरे: सन् १९३१ मा फ्रेरे परिवार जावाटाओमा बसाइ सरेको थियो । सन् १९३३ मा उनका पिताको देहान्त भयो । त्यसपछि उनको जीवन अझ कष्टमय अवस्था पुगेको थियो । उनले आफ्नो बेलाको सामाजिक स्थितिबाट सामाजिक वर्ग र ज्ञानको अन्तरसम्बन्धलाई बुझेका थिए ।
सन् १९४३ मा उनले ‘युनिभर्सिटी अफ रेसिफ’ मा कानूनको स्कूलमा भर्ना भए । उनले यहाँ दर्शनशास्त्र र भाषा मनोविज्ञान पनि अध्ययन गरे । आफ्ना कठिन परिस्थितिका बाबजुद विश्वविद्यालयमा प्रवेश गरेर उनले कानूनको डिग्री हासिल गरे । उनले कानून अध्ययन गरे पनि जीवनमा एकदिन मात्र वकालत गरेका थिए ।
‘शिक्षा प्राप्त गर्नु भनेको आफ्ना अनुभव र ज्ञानले वस्तुगत सामाजिक संरचनाहरूका बारे सोच्न सक्ने शक्ति पैदा गर्नु हो, गलत र अन्यायको विरोध गर्न र समतामूलक समाज निर्माणको दिशामा सक्रिय रूपले काम गर्नमा सक्षम बनाउनु हो’
दर्शनका प्रोफेसर ः उनले सुरुमा माध्यमिक तहमा पोर्चुगिज भाषा पढाएका थिए । सन् १९४४ मा फ्रेरेको इल्जा माइयासँग विवाह भएको थियो । उनी शिक्षिका पेशामा आवद्ध रहेकी थिइन् । उनीहरूका पाँच सन्तान थिए । सन् १९४६ मा फ्रेरेले सामाजिक सेवाअन्तर्गत शिक्षा तथा संस्कृति विभागमा काम गरेका थिए । यही बेलामा उनले शिक्षाबाट वञ्चित व्यक्ति कसरी अधिकारबाट वञ्चित हुन्छन् भन्ने कुरामा गहन अध्ययन गरेका थिए ।
सन् १९५९ मा उनले रेसिफ विश्वविद्यालयबाट डाक्टरेटको उपाधि प्राप्त गरेका थिए र त्यही विश्वविद्यालयमा शिक्षाको इतिहास तथा शिक्षा दर्शनको प्रोफेसरको रूपमा उनको नियुक्ति भएको थियो । त्यसपछि उनले विभिन्न साक्षरता सम्बन्धी कार्यक्रमहरू सुरु गरे । फ्रेरेको चिन्तनले ल्याटिन अमेरिकी क्रान्तिकारी जनआन्दोलनको आन्तरिक तहसम्म गहिरो प्रभाव पारेको थियो ।
शिक्षा वर्गीय हुने: सन् १९५० पछि ब्राजिलमा जनआन्दोलन तीव्र भयो । सन् १९६१ मा रेसिफ विश्वविद्यालयको सांस्कृतिक विस्तार विभागको निर्देशक भएपछि राष्ट्रिय साक्षरताको अभियानको माध्यमबाट फ्रेरेले आफ्ना देशका विभिन्न भागमा यात्रा गरे । सन् १९६२ मा उनी सामूहिक अशिक्षाबाट मुक्तिको लागि एक शैक्षिक परियोजनामा सामेल भए ।
कामको सिलसिलामा उनले उत्पीडनका विभिन्न रूपहरूलाई धेरै निकटबाट हेर्ने, परीक्षण गर्ने र त्यसको विश्लेषणसमेत गर्ने मौका पाए । यो अभियानले शोषणलाई गहिरोसँग अनुभूत गर्ने अवसर पाए । शिक्षामा जनता र शासक वर्गमाथि विचार गर्दै उनले शिक्षा पनि राजनीति नै हो, जसरी राजनीति वर्गीय हुन्छ, त्यसरी नै शिक्षा पनि वर्गीय हुन्छ भन्ने निष्कर्ष निकाले ।
पन्ध्र वर्षसम्म देश निकाला: सन् १९६४ मा ब्राजिललाई सेनाको एउटा समूहले नियन्त्रणमा लिएको थियो । त्यसकारण फ्रेरेको जनजागरण सम्बन्धी कार्यक्रम अगाडि बढ्न सकेन । उनलाई बन्दी बनाएर जेल हालियो । ७५ दिन जेल हालेपछि उनलाई निर्वासित गरियो । यसपछि फ्रेरेको जीवन धेरै कठिन भयो ।
जीवनको लगभग पन्ध्र वर्षसम्म उनले देश निकालामा बिताए । उनी निर्वासनको क्रममा पहिले वोलिभिया गए र पछि चिली गए । त्यहाँ उनले ‘क्रिश्चियन डेमोक्रेटिक एग्रेरियन रिफर्म मुभमेन्ट’ र संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको लागि काम गरे । केही समय उनी संयुक्त राज्य अमेरिका पनि बसे ।
सिकाइको गुरु पेडागोजीका आविष्कार: सन् १९६८ मा फ्रेरेको विश्व प्रसिद्ध पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ पोर्चुगिज भाषामा पहिलोपटक प्रकाशित भएको थियो । सन् १९६९ मा फ्रेरेले हावर्ड विश्वविद्यालयमा आगन्तुक प्रोफेसरका रूपमा काम गरेका थिए । त्यसपछि १९७० मा उनको पुस्तक ‘पेडागोजी अफ अप्रेस्ड’ अंग्रेजी र स्पेनिश भाषामा पनि प्रकाशित भयो ।
उनले निर्वासनकै क्रममा ल्याटिन अमेरिका र अफ्रिकन लगायतका देशहरूमा शिक्षासम्बन्धि महत्त्वपूर्ण कार्यहरू गरेका थिए । यही बेला उनले जेनेभामा शिक्षा विभागको शैक्षिक सल्लाहकार भएर पनि काम गरे । त्यसपछि उनले अफ्रिकाका पोर्चुगिज उपनिपेशहरूलाई शैक्षिक सुधारको सल्लाह दिएका थिए ।
मजदुर दल निर्माण ः सन् १९७९ मा सैनिक शासनको अन्त्यपछि आममाफी पाएर उनी ब्राजिल फर्किएका थिए । उनले संसारका धेरै ठाउँको भ्रमण गरेर सबै ठाउँमा साक्षरता कार्यक्रमलाई व्यवस्थित गर्नको लागि सहायता प्रदान गरे । पछि फ्रेरेले ब्राजिलको साओ पालो शहरमा शिक्षा सचिवको रूपमा काम गरे ।
यो शहरका माक्र्सवादी मेयरले उनलाई यो पदमा नियुक्त गरेका थिए । साउ पाउलोमा सन् १९८० देखि १९८६ सम्म उनले शिक्षा परियोजनाको सिद्धान्तकार भएर काम गरेका थिए । ब्राजिल फर्किने बित्तिकै उनले आफ्नो प्रत्यक्ष संलग्नतामा मजदुर दलको निर्माण गरेका थिए ।
हृदयघातका कारण देहान्त: सन् १९८८ मा उनी संलग्न पार्टीले नगरको निर्वाचनमा जितेपछि त्यहाँको शिक्षा सचिव भएर काम गरेका थिए । उनी आफ्नो देशमा चलेको साक्षरता अभियानसँग घनिष्ठ रूपले जोडिएका थिए । जनशिक्षा अभियानमा फ्रेरेको महत्वपूर्ण योगदान रह्यो । सन् १९८६ मा फ्रेरेकी श्रीमतीको मृत्यु भएकोले मारिया अरौजोसँग दोस्रो विवाह गरेका थिए । शिक्षाविद् तथा दार्शनिक पाउलो फ्रेरेको सन् १९९७ को २ मईमा ब्राजिलको साओ पाउलो राज्यमा हृदयघातका कारण देहान्त भयो ।
पुरस्कार र सम्मान: उनलाई बेल्जियमले सन् १९८० मा अन्तर्राष्ट्रिय विकासको लागि राजा बलुद्दिन पुरस्कार दिएको थियो । त्यसैगरी उनलाई यूनेस्कोले शान्तिको लागि शिक्षा १९८६ पुरस्कार दिएको थियो । उनले सन् १९९२ मा अमेरिकी राज्य संगठन (ओएएस) ले शिक्षाको लागि ‘एन्ड्रेस बेलो इन्टर–अमेरिकन’ पुरस्कार दिएको थियो ।
पाउलो फ्रेरेका प्रमुख पुस्तक: पाउलो फ्रेरेका प्रमुख पुस्तकहरूमा– ‘पेडागोजी अफ अप्रेस्ड’ (१९७०), ‘कल्चरल एक्सन एण्ड फ्रिडम’ (१९७०), ‘एजुकेसन फर क्रिटिकल कन्सस्नेस’ (१९७३), ‘एजुकेशनस् द प्राक्टिस एण्ड फ्रिडम’ (१९७६), ‘द पोलिटिक्टस अफ इजुकेशन’ (१९८५), ‘पेडागोजी अफ होप’ (१९९४) मुख्य हुन् । उनले अन्यसँग मिलेर पनि धेरै किताबहरू लेखेका छन् ।
शोरसँग मिलेर उनले ‘पेडागोजी फर लिबिरेशन’ (१९८७), एन्टोनियो फोंडेजसँग मिलेर ‘लर्निङ टु क्वेशनस् ए पेडागोजी अफ लिबिरेसन’ (१९८९) र माइलेस हर्टनसँग मिलेर ‘वी मेक दि रोड वाइ वाकिङस् कन्भर्सेसन्स इन एजुकेसन एण्ड सोशल चेन्ज’ (१९९०), आदि हुन् ।
यी सबैमा उनको विश्व प्रसिद्ध पुस्तक उत्पीडितहरूको शिक्षा शास्त्र हो । यसले शिक्षाको क्षेत्रमा मात्र होइन, बरु दर्शन, विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, राजनीति, साहित्य, शोध र आलोचना, आदि अनेकौं क्षेत्रमा संसारका मानिसहरूलाई अति धेरै प्रभावित गरेको छ ।
पाउलो फ्रेरेको शिक्षा–दर्शन: फ्रेरेले शिक्षा दर्शनमा आवश्यकता पूर्तिको लागि व्यक्तिले वातावरणसँग जुन प्रतिक्रिया गर्दछ, त्यही प्रतिक्रिया नै शिक्षा हो भन्ने कुरा स्पष्ट पारेका छन् । शिक्षा व्यक्तिगत विकासको कारक हो । औद्योगिक शिक्षा एवम् व्यक्तित्व विकासमा पारस्परिक निर्भरता हुन्छ । बचपनदेखि नै हामीलाई व्यक्तित्व विकासको आवश्यकता हुन्छ ।
यो आवश्यकता पूर्तिको लागि हामी शिक्षा ग्रहण गर्दछौं । शिक्षा ग्रहण गरेपछि हाम्रो व्यक्तित्व विकास हुन्छ । आवश्यकताले नै हाम्रो शिक्षाको स्वरूप निर्धारण गर्दछ । शिक्षा जस्तो हुन्छ, त्यही अनुसारको व्यक्तित्वको विकास हुन्छ । त्यसरी नै व्यक्तित्व विकास अनुरूप नै हाम्रा आवश्यकताहरूको निर्माण हुन्छ ।
सरल बनाएर पढाउन: फ्रेरेले पाठ्यक्रममा पूर्ण रूपले परिवर्तन गर्ने कुरालाई स्वीकार गरेका छन् । उनी सुरुमा धार्मिक पुस्तकहरूबाट प्रभावित भए पनि पछि कार्ल मार्क्स र उनका विचारहरूबाट धेरै प्रभावित भएका थिए । यद्यपि उनले मार्क्सका सिद्धान्तहरूलाई आलोचनात्मक दृष्टिले हेरे । मार्क्सबाट प्रभावित उनले सबै शिक्षार्थीहरूलाई मार्क्सका अनुसार सामाजिक अन्तर्विरोधहरूलाई बुझ्ने परामर्श दिए ।
पाउलो फ्रेरे एरिक, सार्च, माओ, फ्रोम, मार्टिन लुथर किङ जस्ता चिन्तकहरूका विचारहरूलाई पाठ्यक्रमको अंग बनाउन चाहन्थे । फ्रोन्च फेनलको पुस्तक ‘द रेचिड अफ द अर्थ’ अर्थात् संसारका अभागी मानिसबाट उनी धेरै प्रभावित भएका थिए । उनका अनुसार विद्यार्थी गणित, इतिहास, भूगोल जस्ता विषयहरूमा असफल भएकोले गर्दा यी विषयहरूलाई सरल बनाएर पढाउनु पर्छ ।
पाठ्यक्रमको पुनर्गठनमा जोड: फ्रेरेले पाठ्यक्रमको पुनर्गठनमा जोड दिएका थिए । उनका अनुसार यसको लागि दार्शनिक, कला शिक्षक, भौतिक वैज्ञानिक, समाज शास्त्रीहरूको आवश्यकता पर्दछ । पाठ्यक्रमलाई विस्तृत र उपयोगी बनाउनको लागि उनीहरूको सहायता प्रभावकारी हुन्छ । शिक्षा, कला, नीति शास्त्र, मानव अधिकार, खेल, सामाजिक वर्ग, भाषा, दार्शनिक विचारधारा, आदि जस्ता विभिन्न ज्ञानका शाखाहरूमा व्यापक रूपले चर्चा–परिचर्चा गरेर पाठ्यक्रमको पुनर्संरचना ठीक ढंगले गर्नुपर्दछ ।
पाठ्य चर्चामा अलपसंख्यकहरूको मूल्यमान्यताहरूलाई पनि सामेल गर्नुपर्दछ । फ्रेरेका अनुसार पाठ्यक्रम जड, असंवेदनशील र अनुपयोगी हुनुहुँदैन । यसलाई पूर्ण रूपले उपयोगी बनाउनुपर्दछ । प्रायः पाठ्यक्रम यसका निर्माताहरूको लाभलाई ध्यान दिएर बनाउने गरेको देखिन्छ । तर पाठ्यक्रम बनाउँदा जहिले पनि शिक्षार्थीहरूलाई ध्यानमा राखेर बनाउनुपर्दछ ।
जनवादी पाठ्यक्रम महत्त्वपूर्ण: फ्रेरेका अनुसार सामान्य वर्गको लागि उपयुक्त हुने पाठ्यक्रम प्रभुत्व सम्पन्न वा धनी वर्गको लागि हितकारी नहुन सक्छ । पाठ्यक्रममा समाजवाद र साम्यवादका विचारहरूलाई अग्रणी स्थान दिनुपर्दछ । जनवादको वास्तविक स्वरूपलाई पाठ्यक्रममा सामेल गर्नुपर्दछ । तर जनवादको वर्तमान विकृत रूपलाई पाठ्यक्रममा समावेश गर्नुहुँदैन । पाठ्यक्रममा जनवादी भावनाको वास्तविक स्वरूपलाई अनिवार्य बनाउनु पर्दछ ।
पाठ्यक्रम जनवादी भएपछि शिक्षार्थीहरूले आफ्नो शिक्षालाई सही आकार दिनमा सक्रिय भूमिका निभाउन सक्दछन् । त्यसकारण संगठन, सहभागिता र सामाजिक परिवर्तनको विकास गर्नको लागि एक जनवादी पाठ्यक्रम महत्वपूर्ण हुन्छ । पाठ्यक्रमले सामाजिक र आर्थिक न्यायमा ध्यान दिनुपर्दछ । यसले धरातलीय यथार्थतालाई समेट्नुपर्दछ ।
विद्यार्थी–सहितको योजना: शिक्षा शिक्षार्थीहरूको जीवनको लागि प्रासंगिक र सार्थक हुनुपर्दछ । यसको लागि पाठ्यक्रम शिक्षार्थीहरूको अनुभवमा आधारित हुनुपर्दछ र यसलाई आलोचनात्मक प्रतिबिम्ब र सामाजिक परिवर्तनको विकास गर्ने गरी योजना बनाएर निर्माण गर्नुपर्दछ । पाठ्यक्रम बनाउँदा सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भलाई सम्बोधन गर्नको लागि विद्यार्थीसहितको योजना बनाउनुपर्दछ ।
पाठ्यक्रम शिक्षार्थीहरूलाई आफ्ना अनुभवहरूमाथि गम्भीर प्रतिबिम्बित गर्ने र आफ्ना वरिपरिको संसारसँग सार्थक रूपले जोडिनमा सक्षम बनाउनुपर्दछ । पाठ्यक्रम समस्यामा आधारित हुनुपर्दछ, जहाँ शिक्षार्थीहरूलाई वास्तविक संसारका समस्याहरूको पहिचान गरी त्यसलाई हल गर्नको लागि प्रोत्साहित गर्न सकियोस् । महत्त्वपूर्ण सोच, सहयोग र सक्रिय संगठनलाई विकास गर्नको लागि समस्यामा आधारित शिक्षा एक प्रभावकारी माध्यम हो ।
शिक्षण विधिमा महत्त्वपूर्ण पक्ष संवाद पद्धति: फ्रेरेका अनुसार शिक्षण विधि शिक्षार्थीहरूलाई सशक्त बनाउने र महत्वपूर्ण सोच तथा सामाजिक परिवर्तनलाई विकास गर्ने गरी योजनाबद्ध ढंगले निर्माण गरिनुपर्दछ । पारम्परिक तरिका, व्याख्यानमा आधारित निर्देशन सार्थक सिकाइको लागि अप्रभावकारी र दमनकारी विधि हुन् ।
फ्रेरेले सबभन्दा महत्त्वपूर्ण शिक्षण विधि संवाद पद्धतिलाई मानेका छन् । यस विधिअनुसार शिक्षा सूचनाको एकतर्फी प्रसारको सट्टा शिक्षक र विद्यार्थीहरूको बीचमा बातचित हुनुपर्दछ । संवाद पद्धतिमा शिक्षक र विद्यार्थी सह–निर्माणको सहयोगी प्रक्रियामा संलग्न हुन्छन्, जहाँ उनीहरू संयुक्त रूपले ज्ञान र अर्थको निर्माण गर्दछन् । संवाद पद्धतिलाई महत्वपूर्ण सोच, सहयोग र सक्रिय संगठन निर्माणको विकासका लागि योजनाबद्ध गरिएको हुन्छ ।
प्रभावकारी शिक्षण वातावरण: फ्रेरेका अनुसार शिक्षण सिकाइ भावनात्मक रूपले आकर्षक हुनुपर्दछ । प्रभावकारी शिक्षण वातावरणमा शिक्षार्थीहरू आफ्ना भावनाहरूसँग जोडिन र अन्यलाई सहानुभूतिको भावना विकसित गर्नको लागि प्रोत्साहित गर्न सक्छन् । सहानुभूति सहयोग र सामाजिक परिवर्तनलाई विकास गर्नको लागि एक प्रभावकारी शिक्षण वातावरण तयार गरिनुपर्दछ ।
फ्रेरे प्रभुत्व सम्पन्न र शोषकहरूको विरोधी थिए । उनका अनुसार साक्षरताले त्यतिखेर अर्थ राख्दछ, जतिखेर निरक्षर व्यक्ति आफ्नो अवस्था, आफ्नो काम र संसारमा परिवर्तन ल्याउने आफ्नो क्षमतालाई लिएर सोच्न लाग्नेछन् । यही नै चेतना हो । उनीहरूलाई संसार हाम्रो हो, शोषकहरू र प्रभुत्व सम्पन्न वर्गको होइन भन्ने कुरा थाहा हुनुपर्दछ । त्यो नै वास्तविक साक्षरता हो ।
ज्ञान समाजबाटै पूर्ति हुने: फ्रेरेका अनुसार आवश्यकता पूर्तिको लागि साधनको ज्ञान हामीलाई समाजबाट नै प्राप्त हुन्छ भन्ने कुरा सर्वविदित छ । यसको साथै साधनको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ । उदाहरणतः शरीर ढाक्नका लागि हामीलाई वस्त्र साधनको ज्ञान समाजबाट नै प्राप्त हुन्छ ।
वस्त्रहरूको स्वरूपलाई पनि समाजले नै निर्धारित गर्दछ । जस्तो कि ग्रामीण समाजमा सानो उमेरदेखि नै केटीहरू साडी लाउन सुरु गर्दछन् र शहरी समाजमा धेरै उमेरसम्म पनि केटीहरू स्कर्ट, जिन्स पेन्ट, आदि लुगा लाउँदछन् । समाजमा प्रत्येक कार्यको सम्पादन एक निश्चित स्तरबाट हुन्छ ।
राम्रो विचारका लागि सोचभन्दा कौशल जरुरी: समाजमा विभिन्न कार्यहरूको लागि विभिन्न प्रकारका भिन्न स्तरका योग्यता भएका व्यक्तिहरूको आवश्यकता हुन्छ । जस्तो कि भवन निर्माण योजनामा एउटा व्यक्तिले नक्सा बनाउँदछ, अर्कोले त्यसलाई कार्यान्वयन गर्दछ । यो योजना पूरा गर्नको लागि पर्खाल बनाउने, ढलान गर्ने, छत बनाउने, वायरिङ गर्ने, प्लम्बिङ गर्ने, रंग लगाउने, आदि विभिन्न प्रकारका कार्य गर्नेहरूको आवश्यकता हुन्छ ।
एउटा काम गर्ने क्षमता भएको मानिसले अर्को प्रकारको कार्य उचित दक्षतापूर्वक गर्न सक्दैन । त्यसकारण भवन निर्माण मात्र होइन, कुनै पनि योजनामा कुशल कारिगरको नै बढी आवश्यक हुन्छ । कारिगरहरूको मानसिक योग्यताको स्तर सामान्य हुन्छ । किनभने उनीहरूको आफ्नो कार्यलाई औद्योगिक प्रशिक्षण संस्थानहरूको स्थापना राम्रोसँग गर्नको लागि सोचविचारभन्दा कौशलको बढी आवश्यकता हुन्छ ।
औद्योगिक प्रशिक्षण संस्थान स्थापना: सामान्य योग्यता भएका व्यक्तिहरूलाई विभिन्न व्यवसायहरूको प्रशिक्षण दिएर प्राविधिकहरू तयार गर्ने उद्देश्यले नै औद्योगिक प्रशिक्षण संस्थानहरूको स्थापना भएको हो । बढ्दै गएको औद्योगिकीकरणको कारण प्राविधिक शिक्षा संस्थानहरूको धेरै विकास भएको छ र भविष्यमा अझ धेरै विकास हुन्छ ।
फ्रेरेका अनुसार भोक र अन्य दैनिक एवम् शारीरिक आवश्यकताहरूको पूर्ति सबैले गर्नुपर्ने हुन्छ । त्यसकारण हामीले व्यक्ति साक्षर र शिक्षित भएर आफ्ना आवश्यकताहरूको पूर्ति राम्रोसँग गर्न सकोस् भन्ने प्रयास गर्नुपर्दछ । शिक्षाद्वारा दैनिक आवश्यकता परिपूर्ति हुनुका साथै असल व्यक्तित्व निर्माण हुनुपर्दछ । मानिसले व्यवहार कुनै आवश्यकताको कारणले नै गर्दछ ।
मानिसका सबै क्रियाहरू सोउद्देश्यीय हुन्छन् । मानिसले गर्ने एउटा क्रियाबाट आवश्यकता पूर्ति नभएपछि उसले आफ्नो आवश्यकता पूर्तिको लागि अन्य क्रियाहरू गर्दछ । मानिसले गर्ने क्रियाबाट नै उसलाई अनुभव प्राप्त हुन्छ । यही अनुभवबाट नै उसको व्यक्तित्वको विकास हुन्छ ।
सिकाइ र ज्ञानको क्षेत्र: सुरुमा हाम्रा आवश्यकताहरू समिति हुन्छन् किनकि हाम्रो ज्ञानको क्षेत्र सीमित हुन्छ । तर हाम्रो विकास हुँदै गएपछि जानकारीको क्षेत्र पनि बढ्दै जान्छ । हाम्रा अनुभवहरूमा विविधता आउँदछ । ज्ञानमा वृद्धि भएको कारणले हाम्रा आवश्यकताहरूको क्षेत्रमा पनि वृद्धि हुन्छ । यी वृद्धि भएका आवश्यकताहरूको पूर्ति गर्नको लागि हाम्रा अनुभवहरूमा वृद्धि हुन्छ ।
यसको परिणामस्वरूप हाम्रो व्यक्तित्वको विकास हुन्छ । जस्तो कि सुरुमा हामी अक्षर–ज्ञान सिक्दछौं । अक्षर सिकेपछि हाम्रो ज्ञानको क्षेत्रको विकास हुन्छ । त्यसपछि हामीलाई अझ बढी जान्ने र बुझ्ने आवश्यकता हुन जान्छ । त्यसपछि हामी भाषा ज्ञान सिक्दछौं । त्यसैगरी सरल साहित्य पढ्न सिक्दछौं र यो क्रम निरन्तर चलिरहन्छ ।
आवश्यकता के रहेछ त ः आवश्यकता पूर्तिको लागि व्यक्तिमा आन्तरिक प्रवृत्तिहरूको रूपमा विद्यमान रहने प्रेरक व्यक्तित्वलाई नै आवश्यकता भनिन्छ । आवश्यकताको स्वरूप हाम्रा आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ । प्रत्येक व्यक्तिको व्यक्तिगत आवश्यकताहरूमा अन्तर पाइन्छ ।
त्यसकारणले गर्दा नै व्यक्तिहरूले एउटै आवश्यकता पूर्तिको लागि फरक–फरक साधनको प्रयोग गर्दछन् । साधनहरूलाई प्रयोग गर्ने तरीका पनि फरक–फरक हुन्छ । त्यसकारण आवश्यकताको स्वरूप व्यक्तिका आन्तरिक प्रवृत्तिहरूमा निर्भर हुन्छ ।
गिरी संस्कृति, दर्शन र इतिहास अध्ययन, लेखन तथा अनुवादमा संलग्न छन्।
तपाईको प्रतिक्रिया