भानु जयन्तीमा रामायणवाचन प्रतियोगिता हुने

राष्ट्रिय समाचार समिति (रासस) २०८१ असार १७ गते ९:२५

दमौली ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय ११ औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ ।

Advertisement


आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्तीका अवसरमा असार २८ गते भानु नगरपालिका ४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।


खुला ५ हजार र सान्त्वना हुने २ जनालाई जनही १ हजार ५ सय प्रदान गरिने रानाभाटले जानकारी दिए । विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना हुने २ जनालाई जनही ५ सय प्रदान गरिनेछ ।

रामायण वाचनमा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना हुने २ जनालाई जनही ५ सय प्रदान गरिनेछ । भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ ।


असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ ।

Advertisement

भानु नगरपालिका ४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।


मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायत कृति लेखेका थिए भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया