‘न मैले लेखेँ, न उनले लेखिन्’ नयाँ स्वरुपमा

काठमाडौं ।
गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई २१ वर्षपछि नयाँ स्वरूपमा ल्याएका छन् । विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उनले गीतको श्रव्यदृश्य सार्वजनिक गरे ।
गायक सागरले गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा तयार गरिएको बताए । ‘नयाँ स्वरूपमा पनि उही मिठास कायम गरेका छौँ । प्राविधिक रूपमा श्रव्यदृश्यलाई बलियो बनाइएको छ । २१ वर्ष अगाडि चाहेर पनि गर्न नसकेका काम यसपटक म सहित मेरो समूहले गरेका छौं,’ उनले भने ।
२१ वर्षअगाडि उक्त गीतको १ लाख ५० हजारभन्दा बढी क्यासेट नै बिक्री भएको स्मरण गर्दै गायक सागरले सोही गीतमार्फत गायनमा स्थापित भएर आफूले नेपालबाहेक ६५ राष्ट्रमा सांगीतिक भ्रमण गरिसकेको बताए । धेरै दर्शक तथा स्रोताले सोही गीत रुचाएको उनको भनाइ छ । सागरले भने, ‘मलाई चिनाउने र स्थापित गराउने गीतलाई धेरै वर्ष पनि मैले चाहे जस्तो बनाएको छु । यो पुस्ताबाट पनि गीतलाई उत्तिकै माया प्राप्त हुनेछ भन्नेमा आशावादी छु ।’
सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेशकाजी शाहले एरेन्ज गरेका छन् । श्रव्यदृश्यमा गायक सागरसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।
अभिनेत्री अधिकारीले यो गीत सुन्नेबित्तिकै अभिनय गर्ने निर्णय लिएको जनाए । उनी भन्छन्, ‘यो गीत मैले स्कुले जीवनमै सुनेकी थिएँ । रेडियोमा यो गीतको फर्माइस पनि गरेकी छु । स्कुल र कलेजमा गुनगुनाएको गीतमा अभिनय गर्न पाउँदा निकै हर्षित छु ।’
गीतको श्रव्यदृश्यलाई निकेश खड्काले निर्देशन दिए । उनले लोकप्रिय गीतलाई नयाँ स्वरूपमा तयार गर्दा श्रव्यदृश्यमा बढी मेहनत गरिएको सुनाए । ‘गीत लोकप्रिय भइसकेकाले श्रव्यदृश्यमा यसलाई सरल र सुन्दर बनाउने प्रयास गरेको छु ।
शब्दमा भनिएको भावनालाई दृश्यमा उतारेको छु । गीतमा देखाइको कथासँग अहिलेको पुस्ता जोडिनुहुन्छ भन्नेमा आशावादी छु’, निर्देशक खड्काले भने ।
तपाईको प्रतिक्रिया