मेलामा नेपाल भारतका लोपोन्मुख नृत्य

समाधान संवाददाता २०८१ असार १८ गते १६:५०

पोखरा ।
‘एक घर, एक व्यवसाय’को नारालाई साकार पार्ने अभियानका साथ अगाडी बढेको साना तथा मझौला उद्योग महासंघ नेपालले पोखराका प्रदर्शनी केन्द्रमा ‘पोखरा औद्योगिक मेला/महोत्सव’ गर्‍यो । स्थानीय हस्तकला, कृषि, जडिबुटीका उत्पादन र मौलिक कला संस्कृतिको जगेर्ना गर्न यही असार १३ देखि १७ गतेसम्म मेला गरेको महासंघका अध्यक्ष हरिभक्त पराजुलीले जानकारी दिए ।

Advertisement


मेलामा नेपाल र भारतका ख्याति प्राप्त कलाकारले पौराणिक तथा लोपोन्मुख नृत्य प्रस्तुत गरेको लोक गीत महत्व र लोककलाहरुको अन्तर्राष्ट्रिय परिषद् (सिआईओएफएफ)नेपालका सभापति निर्मल श्रेष्ठले जानकारी दिए । समारोहमा कलाकल्प सांस्कृतिक संस्थान दिल्ली भारतको डा अतसी मिश्रको टिमले गणेश ताण्डव नृत्य देखायो ।


भिरा कल्चर डान्स सेन्टर पञ्जावका कलाकारले पञ्जावी हिप पप भांगडा, नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपालको हिमालयन इन्टरनेसनल कल्चर एशोसियसन काठमाडाैंका कलाकारले लोपोन्मुख चरिया, काल भैरव, बज्रयोगिनी र अन्नपूर्ण नृत्य देखाए ।

Advertisement


कला संस्कृति केन्द्र देहेरादुनको तरुण गुरुङको नेतृत्वमा आएको नेपाली भाषी कलाकारले नेपाली सोरठी र साखेला नृत्य प्रस्तुत गरे । पश्चिम बंगालको मानकुरा वालेट प्रोभेथियस डान्स ग्रुपका सोमा मण्डल, रोनी सिन्हा, प्रतिशी दास र यौनिक तथा लैंगिक अल्पसंख्यक कलाकार नविला दारुले नृत्य देखाएका थिए ।


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले नेपाली मौलिक उत्पादन प्रकृति, संस्कृति, भेषभूषा, खानपान रहन सहनसँग मिल्ने बताए । रैथाने बाली तथा कच्चा पदार्थबाट उत्पादित वस्तु जगेर्ना गर्न साना तथा मझौला उद्योगीले महत्वपूर्ण भूमिका खेलेका उल्लेख गर्दै उनले हस्तकला, कृषि र जडिबुटीबाट उत्पादित सामग्रीको ब्रान्डिङ गरी गुणस्तरीयता कायम गर्न सुझाव दिए ।

Advertisement


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सबै संस्कार र संस्कृति साना तथा मझौला उद्यमीसँग सम्बन्धित कुरा भएको बताए । ‘कलाकारले लगाएको गहना र पोशाक साना उद्यमीले तयार गरेको सामाग्री हो,’ उनले भने, ‘घर घरका उद्यमीले कला संस्कृतिको जगेर्ना र देशलाई चिनाउन योगदान गरेका छन् ।’ उनले घर घरमा उद्यमशीलताको विकाससँगै सिल्पी र कलाकार समेत उत्पादन भएको उल्लेख गरे ।


मुल्मीले दैनिक प्रयोगमा आउने उत्पादन, प्रदर्शन र बजारीकरण राष्ट्रको प्रमुख आधार भएको चर्चा गरे । घर घरमा उद्यमशीलताको विकासमा लाग्ने उद्यमीको संरक्षण र विकास गर्न नीति नियम बनाउन सरकारको ध्यान नपुगेको उल्लेख गर्दै उनले महासंघले मध्यमवर्गीय परिवारलाई उद्यमी बनाउन बाटो कोरेर सबैलाई हिडाउनुपर्ने सुझाव दिए ।


साना तथा घरेलु उद्योग महासंघ नेपाल गण्डकी अध्यक्ष ढाकाराम पौडेलले ‘एक घर एक व्यवसायको नारा साकार भए प्रत्येक घर आत्मनिर्भर बन्ने दाबी गरे । २५ करोडसम्म लगानी गर्ने व्यवसायी महासंघमा समेटिने जानकारी दिँदै उनले साना व्यवसायीले बहुर्राष्ट्रिय कम्पनीसँग पुँजीले प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गरे । उनले साना उद्यमीले सञ्जाल मार्फत उत्पादित सामग्रीको बजारीकरण गर्ने बताए ।


कार्यक्रममा महासंघ केन्द्रीय महिला समितिका सभापति यशोदा दाहाल, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष दुर्गा गौतम, सचिव भागिरथ शर्मा, कास्कीका अध्यक्ष सिर्जना तिवारीले मेलाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया