वर्ष खेलाडीलाई स्कुटर

समाधान संवाददाता २०८१ असार १९ गते १०:४२

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

Advertisement


अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आइटिएफ टेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका अर्जुन कुमाललाई टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो ।

अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर प्रदान गरे ।

Advertisement


गत वैशाख २८ गते पोखरा सभागृहमा भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ट पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए ।


वार्षिक रुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

Advertisement


मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशिकुमार पौडेल, प्रतिभा छनोट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, सदस्य रिखीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर, गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए । मञ्चले २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया