सम्पादकीय—असारे विकास

समाधान संवाददाता २०८१ असार १९ गते १२:२५

झमझम पानी परिरहेको छ । खेतबारी पानीले भरिएका छन् । पहाडका टाकुरा टाकुरामा पनि पानीको मूल पलाएको छ । त्यही आकाशे पानीको भरमा खेती गर्नेहरुलाई खुसी छ । खेतमा धान रोपाइँ धमाधम हुन पाएको छ । जसरी खेती किसानी गर्नेहरुलाई असार लाग्छ, अर्थात धमाधम खेतमा काम हुन्छ । बेफुर्सद र उपयुक्त बेलाको उपयुक्त कर्मका लागि ‘असार लागेको’ भनिन्छ । तर नेपालमा त विकासमा पनि असार लाग्छ ।

Advertisement

तर, यो उपयुक्त बेलाको उपयुक्त कर्म होइन । पानी परिरहेको बेला, पहिरो चलिरहेको बेला र बाढी आइरहेको समयमा हुने ‘विकास’को प्रतिफल हुँदैन । बरु राज्यकोषको नोक्सानीचाहिँ हुन्छ । असार खेती किसानीको मुख्य महिना र आर्थिक वर्षको चाहिँ अन्तिम महिना हो । बजेट सक्ने प्रयोजनार्थ नै असारे विकास नेपालमा चल्ने गरेको छ ।


असारे विकास भनेको बाटोघाटोपिच्छ नै देखिन्छ । कतै पिच भइरहेको हुन्छ । कतै खनखान भइरहन्छ । कतै खाल्डो पुर्न खोजिन्छ । कतै पर्खाल बन्छन्, कतै भवन टालटुल हुन्छन् । कतै धारापँधेराको काम हुन्छ त कतै समुदाय र विद्यालयका पनि । वर्षभरि निदाउने र अब वर्ष सकिन लाग्यो भनेपछि बजेट सक्ने ध्याउन्नमा ‘असारे विकास’ हुने गरेको छ । गर्दा गर्दैको पिच पानीले बगाएका धेरै उदाहरण छन् ।

तर पनि यस्तो प्रवृत्तिमा कुनै पनि मात्रामा कमी आएको छैन । बरु प्रवृत्ति बर्सेनि झ्याङ्गिँदै आएको देखिन्छ । असारमा सरकारी निकाय र सरकारहरूबाट हुने भुक्तानीबाट नै असारे विकासको आँकड बताउँछ । त्यसो त कतिपय विकास आयोजना र निर्माणका कामको भुक्तानी असारमा हुँदा पनि त्यस्तो देखिएको भन्ने कतिपय बताउँछन् । तर, विकासको काम वर्षान्तमै गर्ने कुप्रथाचाहिँ अचाक्ली नै छ र असारे विकासले राज्यको ढुकुटी खोक्रो पारिरहेको छ ।


हतपतको काम लतपत हुन्छ । असारे विकास त्यस्तै हो । पानी परिरहेको बेला हुने कुनै पनि निर्माण र विकासको गुणस्तर हुँदैन । नेपालका हकमा विकास निर्माणको काम गर्न नमिल्ने मौसम नै बर्खा हो । असारे विकासको प्रवृत्ति अन्त्य होस् भन्ने पनि उद्देश्यसहित संघीय सरकारको बजेट जेठ १५ गते ल्याउने प्रावधान संविधानमै उल्लेख गरिएको हो ।

Advertisement

तर सरकारी संयन्त्रको प्रवृत्ति भने अन्तिम अवस्थामै आएर तात्नै नै छ । जबसम्म नियत र प्रवृत्ति खराब रहिरहन्छ, बजेट बेलामा ल्याए पनि काम हुन सम्भव हुन्न भन्ने पछिल्ला वर्षका दृष्टान्तहरुले पनि देखाइरहेका छन् । असारे विकासको प्रवृत्ति अन्त्य गर्न सरकारको कार्यशैलीमै र सरकारमा बस्नेहरुको नियत र प्रवृत्तिमा परिवर्तन आवश्यक छ ।

तपाईको प्रतिक्रिया