युवा संघको वृक्षरोपण

समाधान संवाददाता २०८१ असार २० गते ९:५२

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले पोखरा २६ सिलिङे टाइगर टपडाँडामा वृक्षरोपण गरेको छ । मदन भण्डारीको ७३ औं स्मृति दिवसको सन्दर्भमा युवा संघ नेपाल केन्द्रीय कमिटीले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्ष रोपण कार्यक्रम अभियान’ अन्तर्गत स्थानीय शिवशक्ति आधारभूत विद्यालयको प्रांगणमा विरुवा रोपिएको हो ।

Advertisement


कार्यक्रम गरेको कास्कीका अध्यक्ष शंकर पौडेलले केन्द्रीय कमिटीले राखेको ३ लाख बिरुवा रोप्ने लक्ष्यलाई पूरा गर्न ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नाराका साथ रुद्राक्ष, फलफुल लगायत बहुमुल्य वनस्पतिका गरी ४ सय ८४ वटा बिरुवा रोपिएको बताए ।


नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेसबीच सहकार्य भएको बताए । नयाँ समीकरण अन्तर्गत राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्ने उनको भनाइ छ । अधिकारीले अबको चुनावभन्दा अगाडि अब कुनै खालको गठबन्धन नबन्ने जानकारी दिए ।

Advertisement

‘केन्द्रमा चुनावअघि गठबन्धन बनाइने छैन । चुनावमा एकल प्रतिस्पर्धा गर्नेमा कांग्रेस सहमत हुने देखियो,’ उनले भने, ‘नयाँ बनेको समीकरण अन्तर्गत माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न गरिनेछ ।’


उनले हरेक पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधान संशोधन हुने गरेको स्मरण गरे । उनले भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दासमेत संविधान संशोधन गरेको उनले बताए ।

Advertisement

उनले ७ सय ५३ स्थानीय तह र सात प्रदेशलाई सानो नबनाएसम्म स्थायी सरकार नबन्ने र जनतामा आर्कषण नहुने भएर संविधान संसोधन गर्न चाहेको प्रष्ट पारे । उनले समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्षमात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने बताए ।


गण्डकी प्रदेशमा १२ मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ मा झार्ने कामले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको उनले सुनाए । उनले एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेर जुल्फी हल्लाएका कारण सरकार परिवर्तनको अवस्था आएको बताए ।

यो चक्र घुमिरहने भएकाले यसलाई सामान्य रुपमा लिन उनको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकाले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उनको भनाइ छ ।


उनले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने उल्लेख गरे । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास थियो ।

‘न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, महासचिव सुमन पुरी, सचिव प्रभात भण्डारी, एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्य लगायतले युवा संघको वृक्षरोपण अभियानका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया