अयरपानी हाेमस्टेमा अन्तरक्रिया

समाधान संवाददाता २०८१ असार २० गते १३:५६

पोखरा ।
प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको पर्यटनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया भएको छ । बुधबार पोखरा २१ मट्टिखान र स्याङजाको फेदीखोला १ मा पर्ने अयरपानी सामुदायिक घरबासमा कार्यक्रम भएको हो ।

Advertisement


पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले अयरपानीको उत्थान र प्रवद्र्धनका लागि सहयोग गर्ने बताइन् । पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनलाई जोड दिनुपर्ने उल्लेख गरिन् ।


‘पर्यटन र कृषिलाई जोडेर अघि बढ्नु पर्छ । पर्यटक तान्न यहाँको विशेषतालाई ब्रान्डिङ गर्न आवश्वक छ । दुई जिल्लाको संगम भएकाले दुवै जिल्लाबाट उचित सहयोग प्राप्त भएमा पर्यटन विकासमा सहयोग पुग्छ,’ गुरुङले भनिन् ।

Advertisement


घरबास व्यवस्थापन समितिका सचिव राजकुमार २०७७ सालमा ९ वटा घर दर्ता गरेर घरबास सञ्चालन गरिएको बताए । कास्कीतर्फको भाग प्राकृतिक र स्याङजातर्फको भाग सँस्कृतिमा धनी रहेको बताउँदै पर्यटन प्रवद्र्धनमा दुवै जिल्लाले सहयोग गर्नुपर्ने उनको माग छ ।


घरबास सञ्चालक विन्दु गुरुङले बसाइसराइले यहाँका घरहरु खण्डहर बन्दै गएको गुनासो पोखिन् । घरबास सञ्चालन पछि बसाइसरेका फर्किने मात्र नभइ गाउँको विकास समेत भएको उनले बताइन् ।

Advertisement


गाउँको विकास गर्न साथै पर्यटक भित्राउन सामुदायिक भवन र गुरुङ संग्रहालय निमार्ण गर्ने योजना रहेको सुनाइन् । जसका लागि स्थानीय तहलाई सहयोग गर्न आग्रह गरिन् ।


क्लबको आयोजनामा गत ८ गते भएको पत्रकार क्षमता अभिवृद्धि तालिममा उत्कृष्ट फिचर समाचार लेख्ने दुई जनालाई सम्मान गरिएको थियो । समाधान दैनिककी प्रमिला कुँवर र सिटीवान टिभीकी आसा मगरलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


क्लबका अध्यक्ष एकराज गिरीले अयरपानीले पर्यटनको प्रचुर सम्भावना बोकेको बताए । अयरपानीको आथित्यता र स्थानीय परिकारले मन जितेको उनको भनाइ छ ।


पोखराका क्रियाशिल पत्रकार मिलेर सञ्चालन गरिएको क्लबले पत्रकारका लागि र उनीहरुको क्षमता अभिवृद्धिका लागि काम गर्दै आइरहेको गिरीले बताए ।


अयरपानीमा गुरुङ समुदायको बाहुल्यता छ । केही बाह्रमण समुदायको पनि बसोबास छ ।

तपाईको प्रतिक्रिया