
पोखरा ।
सुन्दा अचम्म लाग्लाः मोही पनि किनेर खान पाइन्छ । पहिले गाउँतिर घरमा पाहुना आउँदा मोही दिएर स्वागत गरिन्थ्यो । विशेषगरी गर्मीको समयमा गाउँघरमा दहीमा पानी हालेर खाने चलन अझै पनि छ ।
दही, महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थहरुमा मानिसको आकर्षण बढ्दो छ । तर बजारमा पाइने पेय पदार्थभन्दा पनि दही र मोहीको सेवन मानव स्वास्थ्यका लागि निकै नै लाभदायक रहेकाले दही, मोहीको मोहसमेत बढ्दो छ ।
मोहीको तलतल मेट्न पोखरा बिरौटाको एस एन्ड एस डेरी उद्योगले असार १६ गतेदेखि दर्पण मोही उत्पादन गरी बजारीकरण सुरु गरेको छ । मोहीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने भएकाले मोही उत्पादन सुरु गरिएको डेरीका सञ्चालक शिवहरि आचार्यले बताए ।
आचार्यका अनुसार सुरुमा विभिन्न रेस्टुरेन्टहरुलाई दर्पण मोही उपलब्ध गराइएको छ । उनले अहिलेलाई ४५ रुपैयाँमा आधा लिटरको बोतलमा मोही बजारमा उपलब्ध गराएको बताए । पछि भने प्याकमा र लिटरको बोटलमा पनि बजार लैजाने योजना छ ।
मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन, एमिनो एसिड, पोषण तत्व लगायत हुने हुँदा सबैका लागि स्वास्थ्यवद्र्धक पेय पदार्थ रहेको उनको तर्क छ । पोखरा १७ मा रहेको डेरी उद्योग आचार्यले १६ वर्षअघि सञ्चालन गरेका हुन् । दुग्ध व्यवसायी तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिवसमेत हुन् उनी ।
‘डेरी एसोसिएसनको देशैभर मोही उत्पादन गर्ने उद्देश्य छ । मोहीलाई ब्रान्डिङ गर्ने तयारीमा छौं । बजारमा पाइने चिसो पेय पदार्थको विकल्पमा मोहीलाई स्थापित गर्ने लक्ष्य छ,’ उनले भने ।
देशैभर मोही उत्पादन गर्ने डेरी एसोसिएसनको उद्देश्य, मोहीलाई ब्रान्डिङ गर्ने
अहिले परीक्षणका लागि मात्रै उत्पादन गरेको सुनाउँदै उनले माग अनुसार उत्पादन बढाउँदै लैजाने जनाए । दैनिक १ हजार लिटर मोही बजारमा ल्याउने तयारी छ । मोहीमा १ प्रतिशत फ्याट मिसाइन्छ भने ५ प्रतिशत एसएनएफ राखिन्छ ।
प्याक गरिएको मोही ७ दिनसम्म प्रयोग गर्न तथा फ्रिजमा राखेर अझ धेरै दिनसम्म प्रयोग गर्न सकिने उनले बताए । मोही १ लिटर बोटललाई ८० रुपैयाँ र एक लिटर प्याकेटलाई ७५ रुपैयाँ पर्छ । यो डेरीबाट बटर, नौनी, घिउ, पनिर, चिज, दही, दूध, आइसक्रिम लगायत वस्तु उत्पादन हुन्छन् ।
मोहीले स्वास्थ्यमा पुर्याउने फाइदा
खाना खाइसकेपछि मोही पिउँदा पेटलाई शीतल गराउँछ । निद्रा नलाग्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । मोही नियमित सेवन गर्दा आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम न्यून हुन्छ ।
मोहीमा पर्याप्त मात्रामा क्लासियम पाइने भएकाले कब्जियत हुनबाट जोगाउँछ । मोहीले मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । यस्त, कोलेस्टेरोल र मुटुसम्बन्धी समस्यामा पनि मोही फाइदाजनक हुन्छ ।
मोहीको सेवन भुटेको जिराको साथ गर्नाले पाचन प्रणालीमा ठीक राख्न मद्दत गर्छ । मोटोपना अधिक हुँदा महीमा नून मिलाएर पिउनु शरीरका लागि लाभदायक हुन्छ । उच्च रक्तचाप हुँदा चूर्ण महीको साथ सेवन गर्नुपर्दछ । बिहान, साँझ महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।
बान्ता आउने जस्तो भएमा महीमा जाइफल पिसेर यसको मिश्रण पिउँदा लाभदायक हुन्छ । सौन्दर्य समस्या सुल्भाउनलागि मोही फाइदाजनक वस्तु हो । मोहीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना, डन्डीफोर जस्ता समस्या कम हुन्छन् ।
कपाल झर्ने समस्यामा पनि मही उत्तिकै उपयोगी हुन्छ । बासी मोहीले हप्तामा दुई दिन कपाल धुँदा कपाल सिल्की र चम्किलो बन्छ ।
कस्तो अवस्थामा मोही खानु हुँदैन ?
आमाशय कमजोर भएमा, आन्द्राको समस्या, घुँडा वा जोर्नीको समस्या, चिसो लागेका बेला, शरीरको कुनै भाग सुन्निने समस्या भएमा मोही सेवन गर्नु हुँदैन ।
यसले दुखाइ बढाउने वा सुन्निएका भाग झन् बढाउन सक्छ । कसै कसैलाई मोहीको एलर्जी पनि हुने गर्छ । त्यस्ता व्यक्तिले मोही नखानु उचित हुन्छ । यसले चिसो लाग्छ भन्ने हुँदैन बरु रुघाखोकी लागेको छ भने कम खानु भन्ने सुझाव दिइन्छ । मोही बेलुका खानु स्वास्थ्यका लागि राम्रो हुँदैन ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया