महिला नेतृत्व विकासमा संगम सहकारीको साथ

समाधान संवाददाता २०८१ असार २४ गते ११:२३

पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्थाले पोखरा १५ को आमा समूह ढुंगेसाँघुसँग सहकार्य गर्दै स्थानीय महिलाहरुलाई उदघोषण तथा भाषणकला एवं नेतृत्व विकास तालिम दिएको छ । तालिम ५ दिन चलेको थियो ।

Advertisement


समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै म पनि बोल्न सक्छु, म पनि गर्न सक्छु भन्ने कुरा सहभागीको हँसिलो अनुहारमा देखिएको चमकले नै बताइरहेकोमा खुसी व्यक्त गरिन् ।

उनले भनिन्, ‘हामी अरु जस्तो हुनु पर्दैन, आफैमा विशेष हौं, आठ अरबमा एक हौं ।’ विशेष अतिथि वडा सदस्य आशिष भण्डारीले आफू सामान्य परिवारबाट राजनीतिमा आएको र नेतालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन चाहेको बताए ।

Advertisement


जिल्ला सहकारी संघ कास्कीका सञ्चालक सदस्य एवं संगम सहकारीका सचिव धनराज पुरीले यस वडामा रहेका सबै सहकारी संस्थालाई सहभागी गराएर निर्देशनात्मक कार्यक्रम राखिदिन वडा सदस्यलाई अनुरोध गरे । आमा समूहकी अध्यक्ष शोभा देवले तालिमबाट दिदिबहिनीहरुले निर्धक्कसँग प्रस्तुति राख्दै अघि बढेको देख्दा खुसी लागेको बताइन् ।


कार्यक्रम संयोजक एवं आमा समूहकी सचिव सरस्वती अधिकारीले समुदायप्रति चासो राख्दै महत्वपूर्ण तालिम ल्याइदिएकोमा सहकारीप्रति आभार प्रकट गरिन् । तालिममा सहजीकरण गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद तिलक थापाले सिक्नु र सिकेका कुरा व्यवहारमा उतार्नु एक अर्काका परिपुरक भएको बताए ।

Advertisement

बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट धनकुमारी तिमिल्सिना र मीना पन्थीले तालिमको अनुभव सुनाए भने प्रशिक्षार्थी सुरक्षा भण्डारीले कार्यक्रम सञ्चालन गरिन् ।

तपाईको प्रतिक्रिया