सम्पादकीय—अधुरो उज्यालो अभियान

समाधान संवाददाता २०८१ असार २४ गते ११:५२

अहिले पनि कसैको घरमा बिजुली बत्ती पुगेको छैन भन्ने विकसित मुलुकका लागि ठूलो समाचार हो । विकसित मुलुकमा समस्या बिजुली नभएको होइन, बिजुली धेरै भएको हो । प्रकाश प्रदूषण अर्थात रातभर पनि सहर पूरै उज्यालो हुनुचाहिँ समस्या हो । वातावरणमा चासो राख्नेहरु हिजोआज प्रकाश प्रदूषणलाई पनि चिन्ताको विषय ठानिरहेका छन् ।

Advertisement

हाम्रोमा भने अझै टुकीको उज्यालोमा रात गुजार्नुपर्ने अवस्था छ । जनताको घरमा बिजुली नपुगेको कुरा नेपालमा संघीयता आएपछि अझै मुखरित भयो । गण्डकी प्रदेश सरकार स्थापना भएलगत्तै उसको पहिलो प्राथमिकता घरघरै बिजुली पुर्‍याउने र खानेपानीको धारा पुर्‍याउने भन्ने थियो । उसले भनेअनुसार ७७ सालभित्रै गण्डकी प्रदेशका सबै घरमा बिजुलीको उज्यालो पुग्नुपर्ने थियो ।


जुन सरकारले बिजुलीको लक्ष्य राखेको थियो । उज्यालो गण्डकी प्रदेशको अभियान सुरु गरेको थियो, त्यसले पूरा कार्यकाल अर्थात ५ वर्ष टिक्न पाएन । तै उसले पनि २०७४ २ वर्षभित्रमा प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्‍याउने निर्णय गरेको थियो । त्यो लक्ष्य पूरा भएन । तर आजका मितिसम्म पनि उक्त लक्ष्य पूरा नहुनु र उज्यालो गण्डकी प्रदेश अझै अधुरै रहनु दुर्भाग्य नै हो । अहिलेको सरकारले पनि उज्यालो गण्डकी प्रदेश भनेकै छ । गण्डकीका ११ जिल्लामध्ये मनाङ र नवलपुरका कतिपय गाउँमा बिजुली पुग्न बाँकी छ । भन्न त सरकारले अब शून्य दशमलव ५ प्रतिशतकहाँमात्रै बिजुली पुग्न बाँकी रहेको भन्छ ।

तर लघुजलविद्युत, सौर्य ऊर्जा लगायतबाट गरी बिजुलीको उज्यालो पुर्‍याइएका गाउँको सेवा भरपर्दाे छैन । बागलुङको पश्चिमी भेगमा अझै राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । गोरखाको उत्तरी भेग वा मनाङको माथिल्लो भागमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । सौर्य ऊर्जाको भरमात्रै भए पनि केही राहत भएको छ । तर, लघुजलविद्युत लगायत वैकल्पिक ऊर्जाचाहिँ घरको उज्यालोका लागि काम लाग्छ ।

उद्यमधन्दाका लागि चाहिँ अलि बढी क्षमताको बिजुली चाहिन्छ । तसर्थ बिजुली केवल उज्यालो मात्रै होइन ऊर्जा हो । ऊर्जाको आपूर्ति भएको ठाउँमा उद्यमशीलता फस्टाउँछ । गण्डकी प्रदेशले पहिला त उज्यालो प्रदेशकै अवधारणा साकार बनाउनुपर्छ । त्यसपछि बढी क्षमताको बिजुली विस्तार अभियान चलाएर उद्यमशीलताको वातावरण बनाउनु आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया