मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आत्म रक्षा तालिम

समाधान संवाददाता २०८१ असार २५ गते ११:३५

पोखरा।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगर क्षेत्रका मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कर्मचारीको लागि लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण तथा आत्मरक्षा तालिम २०८१ दिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्य तथा राइट फर चिल्ड्रेनको विशेष सहयोगमा भएको कार्यक्रममा प्रहरी उपरीक्षक मोहनकुमार थापाले लैंगिक हिंसा तथा महिला बाल बालिका बिरुद्ध हुने कसुर सम्बन्धी कानुनी व्यवस्थाको बारेमा सहजीकरण गरे ।


तालिममा मुआथाईका प्रशिक्षक ज्योति मल्ल र दीपेश थापाले कोही कसैले यौनजन्य दुव्र्यवहार गर्न खोजेमा अपनाउनु पर्ने आत्मरक्षाको बारेमा प्रशिक्षण दिएको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

Advertisement


गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले जुन सुकै पेशा र व्यवसाय आफैमा राम्रा र नराम्रो नहुने बताइन् । मनोरञ्जन क्षेत्रको पेशा व्यवसायीले अनुशासनको पालना गर्नु पर्ने उल्लेख गर्दै उनले पेशालाई सम्मानित र मर्यादित बनाए समाजमा मान सम्मान बढ्ने चर्चा गरिन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु मानव बेच विखन र ओसार पसारको समस्यामा परेर प्रहरीले कानुनी कारवाही अगाडी बढाएको बताए । उनले कार्यस्थलमा हुने यौनजन्य हिंसाका घटना समेत बाहिर आएको उल्लेख गरे । उनले महिला कर्मचारीले समान कामको समान ज्याला पाउनु पर्ने चर्चा गरे ।

Advertisement


कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष पराजुली, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, राइट फर चिल्ड्रेनका परियोजना संयोजक सन्तोष गुरुङ, लोक दोहोरी व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङ लगायतले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको सवालमा बोलेका थिए ।


कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्य, स्पा, दोहोरी साँझ, डान्सबारमा कार्यरत कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया