नवलपुरमा व्यावसायिक स्याउखेती

समाधान संवाददाता २०८१ असार २६ गते १४:१२
http://www.dreamstime.com/stock-photos-apple-tree-image16327363

नवलपुर ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु ३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्रायः चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेसमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो ।

Advertisement


एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियससम्म तापक्रम हुने यहाँको ५ बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएको स्याउ २ वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए । ‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छन्,’ उनी भन्छन्, ‘बिरुवा रोपेको दुई वर्षपछि नै फल दिन थालेको छ ।’


एएफसीआरसीले करिब ३ हजार ५ सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दाना फुटेका छन् । यहाँ लगाइएको स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै छ ।

Advertisement

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफली लगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।


एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आएको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ ।

Advertisement

टिस्यु कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए ।

केराको बिरुवा प्रतिगोटा ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा १ सय ३० मा बिक्री गरिन्छ । टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवं तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया