बाढी प्रभावितलाई सहयोग

समाधान संवाददाता २०८१ असार २७ गते ११:००

पोखरा ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति पोखरा १७ छोरेपाटनले विपद् व्यवस्थापन सहयोग अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीलाई त्रिपाल हस्तान्तरण गरेको छ ।

Advertisement


‘विपत्तिमा सहारा’ भन्ने उद्घोषका साथ मनसुनजन्य विपद् प्रभावितलाई प्रदान गर्न ३० थान त्रिपाल सहयोग गरेको समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।

समितिका अध्यक्ष बास्तोलाले विपद् व्यवस्थापन र मानवीय सेवाका क्रियाशील रेडक्रससँग विगतदेखि समन्वय र सहकार्य गर्दै आएको उल्लेख गरे । उनले मनसुनजन्य विपद्लाई मध्यनजर राख्दै आगामी दिनमा समेत रेडक्रस कास्कीलाई सहयोग गर्ने वचन दिए ।

Advertisement


रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेलले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीसँगको समन्वयमा सामाजिक संघ, संस्थाको सहकार्यमा मनसुनजन्य प्रभावितलाई राहत सेवाका कार्य सक्रियतापूर्वक गरेको बताए । उनले जिल्ला विपद् व्यवस्थापन समितिको परिपत्र अनुसार कास्की रेडक्रसले विपद् प्रभावितलाई राहत सामग्री प्रदान गरेको जनाए ।

मनसुनजन्य विपद् प्रभावितलाई प्रदान गर्न गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिद्वारा रेडक्रसलाई ३० थान त्रिपाल प्रदान

Advertisement


रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का भण्डारीले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले समग्र विपद् व्यवस्थापनको लागि गर्ने १० क्लष्टरको काममध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारी दिइन् ।

रेडक्रस कास्कीका उपसभापति धर्मराज अधिकारी, कार्यवहाक मन्त्री रमा कोइराला न्यौपाने, कार्यसमितिका सदस्यहरु पार्वती कार्की, रमेशराज भण्डारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १७ का सल्लाहकार झविन्द्र रेग्मी, गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवक लामिछाने, सचिव हरि लम्सालले विपद् व्यवस्थापनमा सामाजिक संघ संस्थाले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए ।


गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति नेपाल रेडक्रस सोसाइटी कास्कीको संस्थागत सदस्य हो । समितिले रेडक्रस कास्कीको प्रादेशिक रक्त सञ्चार सेवा (व्लड बैंक) सहितको बहुउद्देश्यीय भवनमा ३० लाखको लागतमा गुप्तेश्वर महादेव गुफा कक्ष निर्माण गरेको छ ।


मनसुन प्रवेशसँगैको वर्षाले भैपरी आउने विपद् व्यवस्थापन, प्रभावितलाई राहत उद्धारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न सामाजिक संघ, संस्थाले रेडक्रस कास्कीलाई सहयोग गर्दै आएको रेडक्रस कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी दिए ।

रेडक्रस कास्कीले पहिरोसहित उच्च जोखिममा रहेका पोखरा १४ बाच्छीबुढुवा गस्ती टोलका प्रभावित बासिन्दालाई खाद्यान्नसहित राहत सहयोग गरेको छ । ९ घर, परिवारलाई खाद्यान्न, गैर खाद्य र नगदसहितकोसहयोग गरेको कार्यालय प्रमुख खड्काले बताए ।


वात्स्यायन वृद्धाश्रम नजिकैको अव्यवस्थित रुपमा बसेको बस्ती सेती नदीको कटानले उच्च जोखिममा परेको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्की, नेपाल प्रहरी, पोखरा महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयको स्थलगत अनुगमनपश्चात प्रभावित घर, परिवारलाई राहत प्रदान गरिएको हो । जोखिममा रहेको बस्तीलाई उच्च सतर्कता अपनाउँदै वडा कार्यालय पोखरा १४ को व्यवस्थापनमा सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष बोधराज कार्कीले बताए ।


रेडक्रस कास्कीले हरेक वर्ष मनसुनजन्य लगायत सवै प्रकारका विपद् प्रभावितलाई तत्काल खाद्य तथा गैर खाद्य, नगद सहित राहत सहयोग गर्छ । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपद्बाट प्रभावितहरुको राहात तथा उद्धारका लागि ३० लाखको विपत राहत कोष खडा गरेको छ । रेडक्रस कास्की अन्तर्गतका ४८ उपशाखाले समेत आआफ्नो क्षमता अनुसार विपद् राहत कोष खडा गरेर काम गरेका छन् ।

तपाईको प्रतिक्रिया