खरिलालः समाजसेवा र जागरणका सतिसाल

रवीन्द्र माकाजू २०८१ असार २८ गते १२:१७

समाजसेवाको प्रतिफल ढिलै भए पनि प्राप्त हुन्छ भन्ने उदाहरण बनेका छन्–खरिलाल विश्वकर्मा । जसले २०४३ सालमा नेपाल कुष्ठरोग निवारण संस्थालाई करोडौं मूल्य पर्ने जमिन दान गरेका थिए । त्यसको मूल्यांकन गर्दै २०८० मा कृतिस्तम्भ खडा गरी दानवीर विश्वकर्माको कदर गरिएको छ ।

Advertisement


पोखराका समाजसेवी र समाज सुधारक हुन् खरिलाल ।
उनी विश्व हिन्दू महासंघका हरेक गतिविधिमा संलग्न हुन्छन् । उनलाई प्राय मञ्चमा देख्न पाइन्छ । उनलाई समाजसेवामा प्रेरित गर्ने व्यक्ति हुन्ः पण्डित नारायणप्रसाद पोख्रेल । जहाँसुकै महायज्ञ हुँदा पनि खरिलाललाई केही सहयोग गर्न अपील गर्दथे । खरिलाल मन फुकाएर सहयोग गर्दथे । यसरी सहयोग गर्दा खरिलालको हृदय पग्लन्थ्यो, मन खुसी हुन्थ्यो । दान गर्दा खरिलालले अनुभूति गरे– मान्छे आफ्ना लागि मात्र नभएर अरुका लागि बाँच्न सक्नु महत्वपूर्ण पक्ष रहेछ ।


पण्डित पोखरेलसँग उनले सामाजिक समरसताको ज्ञान सिके । उनले करोडौं पर्ने पोखराको करिब ३ रोपनी जग्गा कुष्ठरोगीहरुका सेवाका लागि दान गरे । अहिले पनि उनी त्यही दानको, सत्मार्गको बाटोमा लम्किरहेका छन् । खरिलाल पर्वतको कुस्मा नगरपालिका वडा नं. ७ मा वि.सं. १९९३ चैत २८ गते जन्मेका थिए । पुख्यौली पेशा सुन, चाँदी व्यवसाय सञ्चालनका क्रममा २०१६ मा पोखरा झरेका उनी हाल पोखरा १५ रामबजार बस्छन् । उनका २ छोरा अर्जुनकुमार र बाबुराम हुन् भने छोरीहरुमा सीता, गीता, रीता र बबिता छन् ।


बुवा रामलाल सुनार (विश्वकर्मा) २००७ सालको प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका नेता भएकाले राजनीतिक वातावरणमा हुर्केका खरिलालमा त्यसको प्रभाव पर्नु स्वभाविक थियो । रामलालको समाजसेवामा लगाव थियो । समाजलाई आवश्यक पर्ने विकास, निर्माणका कार्यमा जनसहयोग जुटाएर काम गर्थे । आमा कौशिला हक्की स्वभावकी हुँदा छुवाछुत विरुद्ध बोल्ने गर्थिन् ।


त्यसको प्रभाव पनि खरिलालमा पनि पर्‍यो ।
त्यसबेला दलितहरुलाई कुवाको पानी छुन दिइँदैनथ्यो । कौशिलाले दलितहरुलाई संगठित गरी पानी थाप्न पाउनुपर्छ भन्ने आवाज उठाइन् । त्यो आवाजले साकार रुप लियो र दलितहरुले पनि पालोपालो पानी खान पाउने अधिकार पाए । यो घटनाले खरिलालको मनमा गहिरो प्रभाव पर्‍यो । बाल्यावस्थादेखि नै अनुशासित एवं संघर्षशील खरिलालको मनमा छुवाछुत अन्त्यका लागि केही न केही त गर्नुपर्छ भन्ने भावना विकसित भयो ।

Advertisement


२०२२ सालतिरबाट पोखरामा दलित उत्थानका लागि संगठित रूपमा आवाज उठाउन थाले । आध्यात्मिक मार्गबाट जातीय छुवाछुत अन्त्य गरी समुन्नत एवं समतामूलक समाज निर्माणका लागि पण्डित पोखरेलले थालनी गरेको आध्यात्मिक एवं सामाजिक अभियानले खरिलाललाई दलित उत्थानको आन्दोलनमा सञ्जीवनी प्रदान गर्‍यो । पण्डित पोखरेलले विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय दलित उत्थान समन्वय समिति गठन गरी खरिलाललाई केन्द्रीय अध्यक्षको जिम्मेवारी सुम्पिदिए ।


संस्थामा खरिलालले निजी खर्चमा धेरै कार्य गरे । पण्डित पोखरेलको सदिच्छा बमोजिम खरिलालले हिन्दू धर्मको सम्वद्र्धन एवं दलित उत्थानमा संस्थागत रूपमा योगदान गरे । पुख्र्यौली व्यवसायबाट विश्राम लिएर हाल दलित उत्थान, समाजसेवा, राजनीति र धार्मिक संस्थाहरुमा उनी आवद्ध छन् । सामाजिक भेदभावबाट पीडित दलितहरूलाई ससम्मान धार्मिक यज्ञहरूमा प्रवेश गराई जातीय विभेद र हीनताबोध मुक्त गर्ने कार्यमा पण्डित पोखरेलबाट खरिलाललाई हमेसा प्रोत्साहन मिल्यो ।


खरिलाललाई विभिन्न ठाउँका मन्दिरको शिलान्यास र उद्घाटन गर्ने अवसर जुरिरहेको छ । पण्डित पोखरेलको हत्याबाट मर्माहत खरिलाल त्यसले दलित आन्दोलनमा ठूलो धक्का लागेको सुनाउँछन् । सकारात्मक सोच र नम्र स्वभावका विश्वकर्मामा अहंकार छैन । दीनदुःखीको सेवामा सन्तोष अनुभव गर्दै, स्कुल, क्याम्पस, मठमन्दिर, असहाय केन्द्र शैक्षिक, धार्मिक एवं सामाजिक संस्थाहरूलाई उदारतापूर्वक नगद तथा जग्गादान गर्दै आएका छन् ।


खरिलाल नेपाल रेडक्रस सोसाइटी, नेपाली कांग्रेस, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, सनातन धर्म सेवा समिति लगायत धेरै संस्थामा आजीवन सदस्य छन् भने थुप्रै संस्थामा सल्लाहकार । एक दिन उनी कुष्ठरोग निवारण संघ कास्कीको कार्यक्रममा टुटुंगा पुगेका थिए । कुष्ठरोगीहरु देखेर उनको मन पग्लियो र सोचे–मैले यिनीहरुका लागि केही गर्नुपर्छ । संघका पदाधिकारीसँग कुरा गर्दा जमिनको आवश्यकता भएको बुझे । उनले आश्रमसँग जोडिएको जमिन दान गर्ने विचार गरे । दान खरिलालले करिब ३ रोपनी जग्गा संघको नाममा गरिदिए ।


यसरी ठूलो छाती देखाउने गरेकाले उनलाई पोखरेली दानवीरका रुपमा लिन्छन् । उनी भन्दछन्–यो सबै परमात्माको कृपाले सम्भव भएको हो । म त निमित्त मात्र हुँ । कुष्ठरोगीहरूको बसोबासका लागि पोखरा १५ टुटुंगामा निःशुल्क ३ रोपनी जमिन उपलब्ध गराएका उनलाई नेपाल कुष्ठरोग निवारण संघ केन्द्रीय समितिले यशस्कर सदस्यता प्रदान गर्‍यो । खरिलालले विश्वकर्मा मन्दिर रामबजारका लागि १ लाख १ रूपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विश्वकर्मा समाजलाई १ लाख ५ हजार चन्दा दिएका छन् ।


उनले नारायण मावि कुश्माका लागि १ लाख ११ हजार १ सय ११ दान दिए । विन्ध्यवासिनी महायज्ञमा ५० हजार दान गरे । गलेश्वर मन्दिरमा पनि ठूलो रकम दान दिए । दलित उत्थानमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप भारतस्थित दलित साहित्य एकेडेमीबाट अन्तर्राष्ट्रिय स्तरको डा. अम्बेडकर अवार्डबाट उनी विभूषित बनेका थिए । खरिलालले जनप्रिय माविमा २ दलित छात्रालाई छात्रवृत्ति दिने गरेका छन् । कोमल हृदयका खरिलालकहाँ औषधि खर्च नभएका अशक्त, गरिबहरू सहयोग माग्न आउँछन् । घरमा आएका कसैलाई उनी रित्तो हात फर्काउँदैनन् ।


खरिलाललाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सनातन धर्म सेवा समिति कास्कीले २०६० सालमा सार्वजनिक अभिनन्दनसमेत गरेको थियो । विभिन्न संघ, संस्थाले सामाजिक विकासमा पुर्‍याएको निःस्वार्थ एवं उल्लेखनीय योगदानका कारण थुप्रै पटक अभिनन्दन, सम्मान तथा कदरपत्र उनलाई प्रदान गरेका छन् ।


खरिलालले दलित उत्थानमा गरेको योगदान इतिहासमा स्मरणीय र प्रेरणादायी छन् । डा. भीमराव अम्बेडकर राष्ट्रिय गौरब सम्मान प्राप्त गरेका खरिलालले नेपाल प्रजातन्त्र सेनानी संघ, सुनचादी व्यवसायी संघ कास्की, विश्वकर्मा सेवा समिति भरतपुर लगायतबाट सम्मानित छन् । उनको एउटै लक्ष्य छ–जीवनभर यसरी नै समाजसेवा गर्न सकूँ ।

तपाईको प्रतिक्रिया