भाटभटेनी समूहको अगुवाइमा १ अर्बको कोल्ड स्टोर

काठमाडौं ।
भाटभटेनी समूहको अगुवाइमा चितवनमा १ अर्ब लगानीमा अत्याधुनिक कोल्ड स्टोर (चिस्यान केन्द्र)को निर्माण सुरु भएको छ ।
१० हजार टन क्षमताको यो कोल्ड स्टोरमा लिटिल एन्जल्स समूह र एग्रीवस्तु समूहको लगानी छ । तीन वटा समूह मिलेर सुरु भएको चितवनको यो पहिलो प्रोजेक्ट हो । यो समूहले २० अर्ब लगानीमा देशका अन्य स्थानमा पनि कोल्ड स्टोर स्थापना गर्ने योजना बनाएको छ ।
भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले झण्डै २० अर्ब लगानीमा देशैभरी कोल्ड स्टोर खोल्ने बताउँदै चितवनमा सुरु भएको प्रोजेक्ट पहिलो भएको बताए । ‘हामीले यो विशुद्ध किसानलाई लाभ दिने उद्देश्यले स्थापना गर्न लागेका हौं,’ उनले भने, ‘किसानले लागतको मूल्य पाएका छैनन् । किसानले भन्दा बिचौलियाले बढी कमाउने अवस्था आएपछि कोल्डस्टोर खोल्ने निर्णयमा पुगेको हुँ ।’
लागत मूल्य नपाएकै कारण धेरै किसान पेसाबाट विस्थापित भएको बताउँदै उनले त्यसलाई रोक्न असल मनसाय लिएर लगानी गरेको जिकिर गरे । ‘यसमा मैले नाफा हेरेको छैन । मात्रै किसानको आयस्तर वृद्धि हेरेको छु,’ गुरुङले भने, ‘मलाई यो परियोजनाबाट किसान हँसिलो भएमात्रै पुग्छ ।’
कोल्ड स्टोरमा किसानले आफ्ना उत्पादन राख्न पाउँछन् । मूल्य पाउने समयमा निश्चित पैसा तिरेर त्यो कृषिवस्तु बिक्री गर्न पाउने सुविधा पनि दिइनेछ । यो समूहले किसानलाई मल, बिउ लगायतका सामग्री सस्तो मूल्यमा दिनेछ भने किसानका उत्पादनलाई बजार भाउ भन्दा केही कम गरेर किन्नेछ ।
१० हजार टन क्षमताको यो कोल्ड स्टोरमा लिटिल एन्जल्स समूह र एग्रीवस्तु समूहको लगानी छ
बिचौलियाले लागतभन्दा कममा किसानबाट किनेर अस्वाभाविक मार्जिन राखेर बिक्रेतालाई बेच्ने परिपाटीको अन्त्य गर्ने योजनामा यो समूहको छ । किसानबाट किनेको कृषिवस्तु भाटभटेनीका आउटलेटमा बिक्री हुने छन् ।
चितवनको यो परियोजना मंसिरमा सञ्चालनमा आउनेछ । तीन बिघा जमिनमा निर्माण हुने यो कोल्ड स्टोरमा ग्रेडिङ र प्याकेजिङको पनि सुविधा रहनेछ । उनका अनुसार जनकपुर, पोखरा, भैरहवा र नेपालगञ्जमा चितवनको जस्तै अत्याधुनिक कोल्डस्टोर सञ्चालनमा ल्याइनेछ ।
लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठका अनुसार कोल्ड स्टोरमा १९ वटा छुट्टाछुट्टै चेम्बर हुनेछन् । ती चेम्बरमा आलु, प्याज, लसुन, केरा लगायतका कृषिवस्तु राखिनेछ । मोडिफाइड एटमसफेयर भएको कोल्ड स्टोरमा तापक्रम, आर्द्रता, कार्वनडाइ अक्साइड लगायत व्यवस्थापन हुन्छ । अहिलेसम्म यो सुविधा भएका साना कोल्ड स्टोर थिए ।
भाटभटेनी समूहका अध्यक्ष गुरुङले पनि देशका विभिन्न स्थानका आउट लेटमा कृषिवस्तु किन्दा किसानले मूल्य नपाएको देखेका थिए । उनले किसानबाट सोझै किन्ने संयन्त्र नभएका कारण महँगोमै किन्नुपर्ने बाध्यता थियो । किसानले आफ्ना उत्पादनको मूल्य नपाएर बन्दादेखि काउलीसम्म बारीमै फाड्न ट्रयाक्टर नै लगाएको देख्दा गुरुङ धेरै विचलित भए ।
त्यसले अत्याधुनिक कोल्ड स्टोर बनाएर किसानसँग सोझै उत्पादन किन्ने र उपभोक्तालाई बिक्री गर्ने सोच बनाए । गुरुङ र श्रेष्ठबीच किसानले भोगेको समस्या समाधान गर्न संयुक्त लगानीमा अगाडि बढ्ने निर्णयमा पुगे । त्यसमा कोल्ड स्टोरमा लगानी गर्दै आएको एग्रीवस्तु थपियो ।
एग्रीवस्तुले कपिलवस्तुमा अत्याधुनिक कोल्ड स्टोर निर्माण गरेर संचालनमा ल्याइसकेको थियो । कांग्रेसका नेता दीपप्रकाश उपाध्यायका छोरा आशीष शर्माले २ हजार ५ सय टनको कोल्ड स्टोर सञ्चालनमा ल्याएका थिए । उनको अनुभव र लगानीलाई समेटेर गुरुङ र श्रेष्ठले देशैभरी कोल्ड स्टोर बनाउने खाका बनाएका छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया