बोल बम भव्य बनाउन भेला

समाधान संवाददाता २०८१ असार २८ गते १२:४३
फाइल तस्बिर

पोखरा ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिको आयोजनामा हरेक वर्ष हुने बोलबम पदयात्रासहित जलार्पण कार्यक्रमलाई भव्य बनाउनका लागि तयारी भेला तथा छलफल भएको छ । भेलामा केदारेश्वर महादेवमणि सेवाश्रमका पीठाधीश चिद्घन चैतन्य महाराजले साउन महिला शिवशंकर भगवान्को विशेष महिना रहेकाले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको बताए ।

Advertisement


उनले बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने जनाए । भक्ति र श्रद्धाले मात्र परमात्मा प्राप्त गर्न सकिने बताउँदै उनले आनन्दमय जीवनको मार्गतर्फ लाग्न सबैलाई आग्रह गरे । बोलबमको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनदेखि आर्थिक गतिविधि बढाउन समेत सहयोग पुगेको उनको दाबी छ ।


बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूल मन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको छ । विगत २३ वर्षदेखि निरन्तर चलेको बोलबमका संयोजक तथा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल छन् । संयोजक खरालले बोलबमको पूर्वसन्ध्यामा साउन ५ गते शनिबार मोटरसाइकल र्‍याली निकालिने बताए ।

Advertisement


साउन महिनाको प्रत्येक सोमबार शुक्लागण्डकी गाईघाटस्थित १ सय ८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिनेछ । जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ । बोलबम धाममा मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजनकीर्तन हुनेछ ।


पहिला पहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकोमा अहिले भारतबाट तीर्थालु नेपाल आउन थालेका छन् । २३ वर्षअघि केदारेश्वरमा सुरु गरेको बोलबम अहिले यहाँको संस्कृति बनेको छ ।

Advertisement


बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण कार्यक्रम सफल बनाउनका लागि विभिन्न उपसमिति गठन गरेको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा दुर्गा अधिकारी, अर्थ संकलन उपसमिति संयोजकमा केदारेश्वर महादेवमणि सेवाश्रमका कोषध्यक्ष रामप्रसाद बस्ताकोटी, प्रसाद व्यवस्थापन समितिमा अनिल गुप्ता, मञ्च सांस्कृतिक भजन व्यवस्थापन समितिमा लक्ष्मण गौतम, मञ्च टेन्ड साउन्ड व्यवस्थापनमा सल्लाहकार संयोजक दयानन्द पोख्ररेल, फूल, प्रसाद मन्दिर व्यवस्थापन समितिमा मितेरी नारी समूह पोखरा ६, सरसफाइ समितिमा ड्यामसाइड टोल विकास संस्था तथा ड्यामसाइड आमा समूह छन् ।


स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी विश्व हिन्दू महासंघ वडा नम्वर ६ वैदामले लिएको छ । भक्तजनका लागि प्रसादको व्यवस्था पहिलो हप्ता मितेरी नारी समूहले दोस्रो हप्ता रामजी बानियाँले तेस्रो हप्ता माडवाडी सेवा समिति र चौथो हप्ता एनबी व्यवसायी समितिले गर्ने छन् । अन्य समिति आवश्यकता अनुसार थप्दै जाने संयोजक खरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया