१ सय ७८ जना खेलाडी पुरस्कृत

समाधान संवाददाता २०८१ असार ३० गते १०:५२

पोखरा ।
गण्डकी प्रदेशका तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद(प्रखेप) गण्डकीले पोखरामा शनिबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।

Advertisement


बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड र यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका विजेता १ सय ७८ जना खेलाडीलाई पुरस्कृत गरिएको हो ।


खेलाडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका सचिव प्रकाश पौडेल, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद तथा प्रशंसापत्रसहित सम्मान गरेका थिए ।

Advertisement


कार्यक्रमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले खेलाडीलाई बधाईसँगै शुभकामना दिए । उनले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको उनले जनाएका छन् । आफ्नो सीमित स्रोतहरुको अधिकतम उपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको उनले सुनाए ।


मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीको जीवन सुनिश्चित गर्न प्रयासरत छ । सरकारले युवावस्थाबाटै उत्प्रेरणा जगाउन धेरै कार्यक्रम अघि सारेको छ । जसको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा अघि बढनु छ ।’

Advertisement

बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड र यु १५ विद्यालय स्तरीय खेलकुदका विजेतालाई नगद र प्रशंसापत्र


मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनको विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघि सार्दै त्यसतर्फ वातावरण बनाउनसमेत प्रदेश सरकार प्रयासरत रहेको सुनाए । गाँउ–गाँउ नै युवा खेलाडी उत्पादन हुने मुल थलो भएकाले त्यसतर्फ पनि आफ्ना योजना अघि बढाउने उनले आग्रह गरे ।


प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण कार्यअघि बढाएको जनाउँदै मुख्यमन्त्रीले विभिन्न कल्याणकारी योजनामार्फत सरकार सदैव खेलाडीसँगै रहेको सन्देश पनि दिन चाहेको उल्लेख गरे ।


गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनत ह बीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए । खेलकुद अनुशासित क्षेत्र समेत भएकाले यसले सौहर्द बढाउनेसँगै राष्ट्रको गरिमासमेत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए ।सरकार खेलाडीहरुको मनोबल बढाउनेसँगै खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाको भनाइ छ ।


सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतले कार्यक्रममा बोलेका थिए ।


पुरस्कृत हुने खेलाडीमध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश नगद ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फका क्रमश नगद रु ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया