मधुमेह पीडित कार्कीलाई युवा सञ्जालद्वारा सहयोग

समाधान संवाददाता २०८१ असार ३० गते १२:२०

पोखरा ।
पोखरा–२४ कास्कीकोटस्थित ‘हाम्रो कास्कीकोट युवा सञ्जाल’ले बाबुराम कार्की उपचारार्थ सहयोग संकलन अभियान’ मार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट संकलित रकम शनिबार विहान मधुमेह पीडित कार्कीलाई हस्तान्तरण गर्‍यो ।

Advertisement


बिगत केही वर्षदेखि उच्च खालको मधुमेह रोगले पीडित कार्कीको मृगौला फेल हुनुका साथै आँखामा समेत गम्भीर समस्या देखिई दृष्टि गुमेको र पारिवारिक आर्थिक अवस्था कमजोर भएको जानकारी प्राप्त भएपछि तत्कालै संस्थाद्वारा सञ्चालित कास्कीकोट कल्याणकारी कोषमार्फत २० हजार रुपैयाँ नगद सहयोग गरी गत असार ९ गतेदेखि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलनका लागि अभियान सञ्चालन गरेको थियो ।


अभियानमार्फत संकलित ३ लाख ३६ हजार ४५० रुपैयाँको चेक शनिबार बिहान पोखरा–२४ का वडा अध्यक्षको रोहवरमा कार्कीकै निवास पोखरा–२४, कास्कीकोट, पाटेस्वाँरामा पदाधिकारीद्वारा हस्तान्तरण गरियो । हस्तान्तरित रकमको चेक बुझ्दै पीडित बाबुराम कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई हार्दिक धन्यवाद दिँदै उक्त रकम आफूले स्वास्थ्योपचारमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement


युवा सञ्जालद्वारा सामाजिक सञ्जालमार्फत अभियानको घोषणा गरेपछि केही स्थानीय संघसंस्था तथा सामाजिक अभियन्ताहरुले समेत उनलाई आर्थिक सहयोग गरेका थिए । पीडितलाई चेक हस्तान्तरण पश्चात् युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग संकलन अभियान हाल समापन गरिएको संस्थाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया