भानुले बनाए नेपाली भाषाको जगः भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको जनाएका छन् ।
आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने विचार राखे ।
भानुका कृति सामाजिक कल्याणका लागि समर्पित, जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उनले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरेको तर्क गरे ।
‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ,’ भट्टले भने, ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्याउनु हो । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’
अहिले साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेका छन् । यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्दत पुग्ने उनको विश्वास छ ।
आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।
भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय अध्यापन गरेकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षक ईश्वरीकुमारी जिसीलाई नगदसहित सम्मान गरे । प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान गरे ।
आदिकवि भानुभक्त आचार्यको जन्म गण्डकी प्रदेशको तनहुँ जिल्ला, चुँदी, रम्घा गाउँमा २ सय ११ वर्ष अघि २९ असार १८७१ मा भएको थियो । भानु जयन्ती सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ । नेपालमात्र होइन, नेपाली भाषी जहाँ जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइन्छ ।
भानुभक्तले आफ्नो ५४ वर्षको जीवन अवधिमा ‘रामायण’ ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरी नेपाली साहित्यको जग बलियो बनाएका छन् ।
तपाईको प्रतिक्रिया