सिद्ध बराह स्कुललाई आभाषको सहयोग

समाधान संवाददाता २०८१ असार ३० गते १३:५५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्यान्डले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा पोखरा २३ स्थित सिद्धबराह आधारभूत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामग्री वितरण गरेको छ ।

Advertisement


बेबिल्यान्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामग्री बिक्री वितरण गर्दै आएका सञ्चालक बुद्धिराज भट्टराईले मुनाफाको केही अंशसहित असहाय एवं अशक्त बालबालिकालाई लक्षित गरी बेबिल्यान्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।


आयोजकका तर्फबाट रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल र सञ्चालक भट्टराईले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी ढुंगाना र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष उपेन्द्र पराजुलीलाई स्टेसनरी, खाद्यान्न तथा खेलकुदका सामग्री हस्तान्तरण गरे ।

Advertisement


रासस गण्डकी प्रदेश प्रमुख पौडेलले व्यवसायसँगै समाजका असहाय तथा अशक्तलाई लक्षित गरी गरिएको सहयोगको प्रशंसा गरे । पारिवारिक विपन्नताका कारण अध्ययन सामग्रीको अभावमा परेका विद्यार्थीका लागि यस किसिमको सहयोग महत्वपूर्ण बन्ने उनले विश्वास गरे ।


बेबिल्यान्डका सञ्चालक भट्टराईले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा असहाय बालबालिकालाई केही सहयोग पुगोस् भन्ने हेतुले अशक्त तथा असहायका लागि सहयोगार्थ छुट्टै पेटिकासमेत राखेर सहयोग जुटाउने गरेको बताए ।

सहयोग बाकसमा ग्राहकबाट जम्मा हुने गरेको स्वेच्छिक सहयोगसँगै आफ्नो मुनाफा भएको रकमको केही अंशबाट आभाष बेबिल्यान्डको प्रथम वार्षिकोत्सवका अवसरमा यस वर्ष सिद्ध बराह आधारभूत विद्यालयका छात्रछात्रालाई प्रदान गरिउको बताउँदै उनले यस अभियानलाई निरन्तरता दिइने जनाए ।


प्राज्ञ नगेन सिंहले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गरी भट्टराईले सुरु गरेको यो अभियान अरुका लागि प्रेरणादायी बन्ने अपेक्षा गरे । सिद्ध बराह आधारभूत विद्यालयका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीले यस किसिमको सहयोगले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा पर्फेक्ट सोलुसनका सञ्चालक नवीन श्रेष्ठ, आभाष अभिजित बेबील्यान्डका सञ्चालिका अञ्जना भट्टराई लगायतले बोलेका थिए । कार्यक्रमसँगै सिद्ध बराह आधारभूत विद्यालयका छात्रछात्रालाई आज विश्वको उत्कृष्ट गन्तव्य नेपालको पोखरास्थित सम्पर्क कार्यालयको अवलोकन गराइएको थियो ।

तपाईको प्रतिक्रिया