चलचित्र ‘ईश्वर’ ११ साउनबाट
माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोटमा सुटिङ भएको फिल्म अन्तरजातीय प्रेम र बिहे केन्द्रित छ

पोखरा ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छ । पोखराका राजु गिरीले निर्देशन गरेको चलचित्र साउन ११ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुने निर्माता हरिबहादुर थापाले जानकारी दिए ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा फिल्म निर्माता थापाले फिल्मको कथा र फिल्मले उठाएका विषयबस्तु मन परेका कारण लगानी गरेको बताए । उनले आर्थिक मन्दीको बेलामा फिल्ममा लगानी गर्नु चाने चुने कुरा नभएको उल्लेख गरे ।
करिब १ करोड ८० लाख लगानी बनेको फिल्म रामो भएको उनको दाबी छ । सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनले भने, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’
आर्थिक मन्दीको बेला पनि फिल्ममा लगानी गर्नु चानचुने कुरा नभएको उल्लेख गर्दै उनले फिल्मको कथाले आफूलाई छोएको हुँदा लगानी गर्न तयार रहेको बताए । उनले भने, ‘लक्ष्य प्राप्तिका लागि संघर्ष र निरन्तरता नै मुख्य प्रेरणा हो । फिल्ममा कुनै गल्ती कमजोरी भए प्रतिक्रिया दिनुहोला । ताकि आगामी दिनमा सुधार्दै जान सकियोस् ।’
सो फिल्मको प्रमुख पात्रमा ध्रुव थापा छन् । फिल्ममा उनी प्रहरी निरीक्षकको भूमिकामा छन् । कलाकार तथा निर्देशक माओत्से गुरुङले भारतीय सेनाबाट अवकास प्राप्त सैनिकको चरित्रमा अभिनय गरेका छन् ।
उनले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरी निरीक्षकको कथामा फिल्म बनेको जानकारी दिए । उनले प्रमुख पात्र ‘ईश्वर’ (प्रहरी निरीक्षक)ले अन्याय र अत्याचार विरुद्धको संघर्ष फिल्मको मुल कथाबस्तु भएको बताए ।
निर्देशक गुरुङले नायक ध्रुव थापा आफ्नो बाल्यकाल देखिको साथी भएको जनाए । धेरै वर्ष अमेरिका बसेका ध्रुव नेपाल फर्केर माओत्सेसँग फिल्ममा जोडिएका छन् । फिल्म ‘ईश्वर’ सफल बन्नेमा निर्माण पक्ष आशावादी छ । यो फिल्म भने विगतका तुलनामा राम्रो बनेको कलाकार माओत्सेको पनि दाबी छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका हेमजाकोटमा सुटिङ भएको फिल्म खासगरी अन्तरजातीय प्रेमकथामा आधारित छ । अभिनेत्री कृष्टि गुरुङले नेपाली फिल्मी क्षेत्रको नयाँ कलाकार भएको बताइन् ।
गुरुङ फिल्ममा अभिनय गरेकी उनले अन्तरजातीय प्रेम सम्बन्धबाट विवाहसम्मको भूमिका खेलेको जानकारी दिइन् । यो चलचित्रसम्म आइपुग्दा कलाकार माओत्से गुरुङसहित धेरैको साथ र सहयोग रहेको उनले उल्लेख गरिन् ।
अर्का कलाकार कुविना गुरुङले जातीय परम्परा अनुसार मामाको छोरी, फूपूको छोराबीच विवाह गर्ने प्रचलन विगतमा भएता पनि केटा केटीले राजी खुसी अनुसार विहे गर्न पाउनुपर्ने अडान राखिन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभु अधिकारी, सहसचिव शंकर तिवारीले फिल्म राम्रो भएकोले हेरेर साथ दिन आग्रह गरे । फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृष्टि गुरुङ, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, शिशिर वाङदेल, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मको प्रस्तुतकर्ता लक्ष्मी थापा कुँवर हुन् । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बिपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । चलचित्रमा रामेश्वर हुमागाईंको छायांकन छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।
तपाईको प्रतिक्रिया