चन्दा उठाएर गाउँमा एम्बुलेन्स

लमजुङ ।
यहाँ चन्दा संकलन गरी केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका २ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा संकलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग१झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
क्बलका अध्यक्ष एवं राइनास २ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा संकलनबाट उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताए । एम्बुलेन्स खरिद गर्दा २० लाख १० हजार खर्च भएको छ । एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा ४ लाख ३० हजार थप खर्च भएको छ ।
‘स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गर्नुभएको छ । क्लबले विभिन्न व्यक्तिबाट चन्दा संकलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ’, वडाध्यक्ष शाहीले भने ।
२४ लाख ४० लाख खर्च भएको जनाउँदै उनले २३ लाख संकलन भएकोमा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराएको सुनाए ।
भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले जानकारी दिए ।
गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् ।
तपाईको प्रतिक्रिया