पोखराको दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा लागु

समाधान संवाददाता २०८१ साउन १ गते २०:४८

पोखरा । दृष्टि आँखा अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उपचार पुर्जी हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरे ।

मुख्यमन्त्री पाण्डेले नेपालका लागि स्वास्थ्य बिमा निकै उपयुक्त भए पनि यसको नियमित सञ्चालनमा केही समस्या देखिएको बताए । सानातिना समस्या समाधान गर्दै कार्यक्रमलाई अझ जनस्तरमा पुर्‍याउन उनले आग्रह गरे । स्वास्थ्य बिमामार्फत उपचारको रकम समयमै नपाएको गुनासो अस्पतालहरुले गरेको भन्दै उनले यसतर्फ स्वास्थ्य बिमा बोर्डको ध्यानाकर्षण गराए । बिमाका लाभग्राहीलाई सरकारी र निजी अस्पतालहरुमा हुँदै आएको विभेदका बारेमा आफू जानकार रहेको भन्दै उनले यस्तो अवस्थाको तत्काल अन्त्य गर्न बोर्ड र अस्पतालसँग उनले आग्रह गरे ।

प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य बिमा गरेर उपचारका लागि जाने बिरामीलाई अस्पतालले दोस्रो दर्जाको व्यवहार गरिरहेको गुनासो बारम्बार आएको बताए । सबैखाले अस्पतालमा बिमाका बिरामीलाई प्राथमिकतमा राखेर उपचार गर्न पनि उनले आग्रह गरे । पोखरामा निजीस्तरबाट स्थापित दृष्टि आँखा अस्पतालले नयाँ प्रविधिबाट बिरामीहरुलाई सेवा प्रवाह गरेकामा खुसी जनाउँदै मन्त्री थापाले आगामी दिनमा अझै प्रभावकारी उपचार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

पोखराका मेयर धनराज आचार्यले पोखरामा निजीस्तरबाट सुविधा सम्पन्न अस्पताल खुल्नु आफैमा गौरवको विषय रहेको बताए । स्वास्थ्य बिमाका बिरामीले यहाँबाट प्रभावकारी रुपमा बिना भेदभाव उपचार सेवा पाउने उनको विश्वास छ ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बिमा रहर र इच्छाले भन्दा पनि वाध्यताले लिने सेवा रहेको बताए । ८ वर्षको अवधिमा ८० लाख नागरिक यसमा आबद्ध भए पनि स्वास्थ्य बिमाका बारेमा अझै पनि बुझाइमा समस्या रहेको उनको भनाइ थियो । हालसम्म मुलुकभरका ४ सय ७६ अस्पतालबाट स्वास्थ्य बिमा गरेका व्यक्तिले सेवा लिन पाउने गरी सम्झौता भएको उनले जानकारी गराए । आवश्यकतामा आधारमा प्रक्रिया पूरा गरी थप अस्पतालसँग सम्झौता गरिेने डा. बसौलाले सुनाए । बिमामा आबद्ध बिरामीलाई अस्पतालहरुले प्राथमिकता दिनुपर्ने भन्दै उनले यसका लागि ३ तहकै सरकारबाट नियमित अनुगमन जरुरी रहेको बताए ।

Advertisement


कार्यक्रममा अस्पतालका अध्यक्ष शिव पोखरेलले गण्डकीको राजधानी पोखरामा स्तरीय सेवा प्रवाहका लागि आफूहरुले पहल गरिरहेको बताए । प्रदेशमै पहिलो लेसिक सर्जरी सेवा सुरु गर्न लागेको जानकारी गराउँदै उनले सुख्खा आँखाको उपचार पनि केही दिनमा सुरु हुने बताए । उनले भने,‘हामीले अत्यधुनिक फेको प्रविधिबाट शल्यक्रिया सेवा प्रदान गरिरहेका छौं, समुदायस्तरमा निशुल्क शिविरहरुसमेत सञ्चालन भइरहेका छन् ।’

तपाईको प्रतिक्रिया