सिर्जना चोकको ब्लड बैंकमा रक्तदान कक्ष

समाधान संवाददाता २०८१ साउन २ गते ११:३५

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले सिर्जना चोकमा बनाएको अत्याधुनिक प्रादेशिक रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा मंगलबारदेखि रक्तदान कक्ष सुरुवात गरिएको छ । रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले औपचारिक रुपमा रक्तदान गरी कक्षको सुरुवात गरिएको हो ।

Advertisement


ब्लड बैंक सहितको बहुउद्देश्यीय भवनमा प्रयोगशालाका लागि उपकरण खरिद र जडानको काम भइरहेको छ । आउने साउन ६२ औं नेपाल रेडक्रस दिवसको सन्दर्भ पारेर ब्लड बैंकको प्रारम्भिक रुपमा सञ्चालन गर्ने केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।


कोषाध्यक्ष अधिकारीका अनुसार संघ प्रदेश स्थानीय तह, युनिका फाउन्डेसन नेदरल्यान्ड लगायतका निकायको सहयोमा ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ रुपैयाँ लागतमा भवन बनेको हो । उनले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने लक्ष्यका साथ बनेको भवन गत फागुन महिनामा उद्घाटन गरिएको बताए ।


सबै खालको सुविधा सहित गुणस्तरीय रक्त सञ्चार सेवाका लागि करिब ६ करोड बराबरको आवश्यक पर्ने उपकरण जुटाउने काम भएको उनले उल्लेख गरे । अहिलेको पोखरा स्वास्थ्य विज्ञान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनाइएको छ । रेडक्रस कास्कीले अपांगमैत्री लिफ्टसहितको ब्लड बंैकको मुल भवनबाट प्रदेश स्तरको रक्त सञ्चार सेवा प्रदान गर्न थालेको हो ।


रेडक्रस कास्की शाखाका उपसभापति एवं प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका संयोजक धर्मराज अधिकारीले रगतको बढ्दो माग र आधुनिक प्रविधि युक्त सेवालाई विस्तार गर्ने क्रममा ब्लड बैंक स्थापना गरेको जानकारी दिए । उनले सबै क्षेत्रको सहयोगमा गण्डकी प्रदेशकै गौरव तथा महत्वकांक्षी योजनालाई सफल बनाएको दाबी गरे ।

Advertisement


गण्डकी प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई प्राविधिक रुपमा सहयोग गरेर प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरिएको छ ।

तपाईको प्रतिक्रिया