किसानलाई महानगरको प्रोत्साहन रकम

पोखरा ।
पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नम्बर २६ र २७ का २२६ जना किसानलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन् ।
प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताए । कृषिको यान्त्रीकरण तथा व्यावसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लस्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायत कार्यक्रमहरूमार्फत महानगरको कृषि प्रवद्र्धन गरिएको उनले बताए ।
कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताए । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यावसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उनले यसप्रति कृषकहरूको आकर्षणसमेत बढिरहेको नगरप्रमुख आचार्यले बताए । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । वडा नम्बर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको सुनाए । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसा प्रति आकर्षण बढाउने उनले बताए ।
यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४३९ रोपनी र वडा नम्बर २७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नम्बर २६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने सूचीकृत व्यावसायिक कृषकहरूलाई किसान परिचयपत्र समेत प्रदान गरिएको छ ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया