हरिया चुरा र मेहन्दीमा नभुल्न महिला अधिकारकर्मीको आग्रह

पोखरा । सामाजिक अभियन्ताहरुले शिवजीको पूजा, आरधना गर्ने साउन महिना र हरितालिका तीज पर्वलाई परम्परागत र मर्यादित रुपमा मनाउन अपिल गरेका छन् ।
शान्तिका लागि नागरिक सामाजको सञ्जाल पोखरा र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले संयुक्त रुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी धर्म, संस्कार र परम्पराका नाममा हुने विकृति, विसंगति रोक्न मागसमेत गरेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष केशु भुजेलले नेपालमा हिन्दु संस्कार र परम्परामा नभएको चलन साउन महिनामा हरिया चुरा, पहेंला तथा हरिया पोते र कपडा लगाउने चलन व्यापक रुपमा बढेको जनाइन् ।
साउन महिनाको हरेक सोमबारमा बोलबम मनाउने क्रममा त्यस्तो प्रचलन बढेको छ । उनले तीज पर्वका नाममा विभिन्न पार्टी प्यालेसदेखि तारेहोटलमा गरिने तडकभडक प्रस्तुति तथा क्रियाकलाप परापूर्व कालदेखि मनाउँदै आएको तीजको मान्यता विपरीत भएको उनले दाबी गरिन् । ‘साउन महिनाभरी शिवको ब्रत बस्ने, शिव लिंगमा गाईको दूध चढाउने, भजनकीर्तन र आरधना गर्ने प्रचलन छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हरिया चुरा लगाउने, फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने प्रचलन व्यापक रुपमा बढ्नु गलत छ ।’
विज्ञप्तिमा संस्कृति परम्परा र धार्मिक आस्था तथा विश्वासलाई निरन्तरता दिने क्रममा केही वर्ष यता केही महिलाबाट अनावश्यक परिवारमा खर्चको बोझ थोपर्र्ने महिनाका रुपमा साउन विकसित हुँदै गएको उल्लेख छ । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष विना सिलवालले तीजको नाममा एक डेढ महिनाअघि बाटै पार्टी प्यालेस होटलमा महगां लुगा तथा गहनामा सजिएर तामझामका साथ मनाउने फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने चलनले हुने खाने र हुँदा खानेको बीचको खाडललाई अझै बढाउदै गएको दाबी गरिन् ।
नेपाली महिलाले परापूर्वदेखि नै मनाउँदै आएको तीजमा निराहार व्रत बस्ने परम्परा रहेको उल्लेख गर्दै उनले पराइघरमा भोगेका पीडा दर्दलाई गीतको माध्यमबाट व्यक्त गर्ने र दुख बिसाउने चौतारीको रुपमा तीज पर्वलाई लिने गरेको जानकारी दिइन् ।
विज्ञप्तिमा हरिया चुरा तथा तडक भडक रुपमा तीज मनाउँदा देशको मुद्रा अनावश्यक रुपमा देशबाहिर गरेको दाबी गरिएको छ । उच्च वर्गका सम्भ्रान्त परिवारको देखासिकीले मध्यम र निम्न आय भएका परिवारमा ठूलो आर्थिक बोझ पर्नुका साथै पारिवारिक बेचैन र बेमेल समेत बढेको भन्दै मानव अधिकारकर्मीहरुले चिन्ता जाहेर गरेका छन् । भड्किलो तीज तथा चाड पर्वको रुपमा बढ्दै गएको विकृतिलाई रोक्न प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग उनीहरुले माग गरेका छन् ।
.
तपाईको प्रतिक्रिया