दलालले नक्कली भिसामा पोर्चुगल पुर्‍याएपछि…

सञ्जय रानाभाट २०८१ साउन ३ गते १०:१५

सञ्जय रानाभाट, पोखरा
दुई वर्ष कुबेत बसेपछि कास्की माछापुच्छ्रे वडा नम्बर ६ का रामचन्द्र गौतम नेपाल फर्के । केही गर्ने अभिलाशाले नेपाल फर्के पनि २ वर्षसम्म उनले सोचे अनुरुप भएन । फेरि विदेश जाने सपना बुने ।

Advertisement


०७६ मा उनी एक दिन साथीहरुसँग पोखरा ८ सभागृहमा रहेको टाइम्स वर्कपर्मिट परामर्श केन्द्र पुगे । त्यहाँ विदेश जान चाहने थुप्रै युवालाई परामर्श दिइएको थियो । त्यसमध्ये रामचन्द्र र उनका साथी थिए । रामचन्द्रका साथी त्यसपछि कुबेत पुगे ।


रामचन्द्रको भेट भने त्यसदिन त्यो परामर्शका म्यानेजर शिवसंसार श्रेष्ठसँग भेट भयो । ‘त्यस दिन मेरो भेट स्याङ्जा पुतलीबजार १ का श्रेष्ठसँग भयो । युरोप पठाउने भएपछि म नजिक पनि भएँ,’ रामचन्द्रले भने ।

Advertisement


पहिल्यैदेखि युरोप जाने रहर भएका रामचन्द्रसँग श्रेष्ठको सम्पर्क र संवाद बाक्लियो । लगत्तै केही दिनमा श्रेष्ठले टाइम्स वर्कपर्मिट परामर्श केन्द्रको जागिर छाडेर पोखराका न्युरोडमा नेक्सस कन्सल्टेन्सी खालेर युरोप पठाउने काम गरिरहेको सुनाए ।


युरोप पुगेपछि परिवार पनि सेट हुने र खाडीजस्तो दुख पनि नहुने रामचन्द्रको बुझाइ थियो । श्रेष्ठले आफ्नो कन्सल्टेन्सीमा स्याङ्जा अर्जुनचौपारी वडा नम्बर ६ का तेजबहादुर रोका र ईश्वरबन्धु अर्याल पाटर्नर भएको बताए ।

‘०७७ सालतिर तिनै श्रेष्ठले पोल्याण्डको डिमान्ड रहेको खबर गरे । मैले हुन्छ प्रोसेस अगाडि बढाउन भनेँ । पटकपटकको प्रयासपछि पनि पोल्याण्डको वर्कपर्मिट निस्क्यो । त्यसपछिको काम गर्न दलालले सकेनन्,’ रामचन्द्रले भने । काम नभएपछि रामचन्द्रले पासपोर्ट मागे । तर, श्रेष्ठले काम हुन्छ भन्दै पासपोर्ट फिर्ता दिएनन् ।


कोरोना भाइरसपछि बिचमा फोनमार्फत संवाद भइरह्यो । फेरि ०७९ तिर उनले पोल्याण्डका लागि प्रोसेस हुने आश्वासन श्रेष्ठले दिएको रामचन्द्र सुनाउँछन् । ‘तर, पोल्याण्डको भिसा लागेन । पासपोट मागेँ तर, पासपोर्ट दिएनन् बरु अन्य ठाउँमा एप्लाई गर्नुपर्ने भन्दै थम्थमाए । ०८० सालतिर पोर्चुगलमा डिमान्ड आएको सुनाए । भिसा १०० प्रतिशत लाग्ने आश्वासन दिएपछि हुन्छ एप्लाई गर्न भनेँ,’ रामचन्द्रले सुनाए ।

पोर्चुगलको इमिग्रेसनले कतारको टिकट काटेर पठाएको फिर्ता गर्‍यो । कतारमा आएर फेरि अवैध भए उनीहरु


उनीहरुलाई भिसा लगाउन भारत जानुपर्ने भनियो । उनीहरुलाई चाहिँ जान दिइएन । आफैले भिसा लगाएर ल्याइदिने भनी श्रेष्ठ दिल्ली उडे । रामचन्द्रहरुको हातमा भिसा लागेको पासपोर्ट आयो । त्यतिन्जेलसम्म उनीहरुले श्रेष्ठलाई २ लाख रुपैयाँ पनि बुझाइसकेका थिए ।


रामचन्द्रसहित पोखरा रामबजारका प्रतिकार चिलुवाल, रामबजारकै सुमित गुरूङ, चाउथेका गणेश आलेमगर, माछापुच्छ्रे गाउँपालिकाका खगराज गौतम र पर्वत घर भई बिरौटा बस्ने नेत्र गुरूङको भिसा आएको भनेर श्रेष्ठले पासपोर्ट थमाएका थिए ।


‘दलालले फेरि आफैं टिकट काटेर जान भन्यो । हामीहरु सबैले पोर्चुगलको राजधानी लिस्बोनका लागि आफैं टिकट काट्यौं । र, असार २३ गते नेपालबाट उड्यौं,’ गणेश आलेमगरले भने, ‘त्यो दिन बेलुका ६ बजे उड्यौं । ३/४ घन्टामा कतार एयरपोर्ट पुग्योैं । कतारमा त्यहाँ ३ घन्टाको ट्रान्जिट थियो ।

त्यसपछि हामीहरु सबै अर्को दिन बिहान ७ बजे पोर्चुगलमा ल्यान्ड भयौं । त्यहाँको इगिग्रेसनले रोक्यो र सीधै इमिग्रेसनको हिरासतमा पुर्‍यायो ।’ नेपालको एयरपोर्टमा इमिग्रेसन पास गरेर कतार हुँदै पोचुगल पुगेपछि ६ जनाको नै भिसा फेक रहेको त्यहाँको इमिग्रेसमा पुगेपछि थाहा भएको उनीहरु बताउँछन् ।


‘तिमीहरुको भिसा फेक भन्दै प्रहरीमा जिम्मा लगायो । ४ दिन त्यहाँको थुनामा बस्यौं । असार ११ गते पोर्चुगलको इमिग्रेसनले कतारको टिकट काटेर पठाएको फिर्ता ग¥यो । कतारमा आएर फेरि इलिगल भयौं,’ उनीहरुले समाधानसँग कुरा गर्दै एक स्वरमा भने, ‘कतारमा पनि त्यहाँ इमिग्रेसनले सोध्यो पुलिसलाई जिम्मा लगायो ।

फेरि कतारको इमिग्रेसनले नेपालको टिकट काटेर फिर्ता गरिदियो ।’ नेपाल आएर वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न भनेपछि उनीहरुले त्यहाँ उजुरी टिपाएको बताए । त्यसपछि पोखरा आएर जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूहरु मानव तस्करहरुको जालोमा परेर ठगिएको भन्दै बुधबार ठाडो उजुरी दिएका छन् ।


‘कतार र पोर्चुगलले हाम्रो आँखाको रेटिनाको फोटो र ल्याप्चे लिएर राखेका छन् । दुवै देशले अब यात्राका लागि ब्यान्ड गरेका छन्,’ उनीहरुले भने, ‘दलालले पैसा पनि लुटे । हाम्रो भविष्य माथि पनि खेलवाड गरे ।’ रामचन्द्र जस्तै सबैसँग गरी दलालले १८ लाख रुपैयाँ ठगेका छन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले ठगिएको विषयमा ठाडो उजुरी परेको बताए । ‘ठगिएको भन्दै उजुरी परेको छ । अब तीन जनालाई कार्यालयमा झिकेर अनुसन्धान गर्छौं । छलफल गर्छौं । यहाँ राखेर अनुसन्धान गर्ने कि वैदेशिक रोजगार बोर्डले मुद्दा चलाउने यकिन भएपछि थप प्रक्रिया अगाडि बढ्छ,’ एसपी थापाले भने ।


कास्कीका सिडिओ भरतमणि पाण्डेले जिल्ला प्रशासन कार्यालयले भिसा चेक नगर्ने बताए । भिसा चेक गर्ने अथोरिटी एम्बेसीलाई मात्र हुने जानकारी उनले दिए । ‘अहिले जो पीडित र पिडक भनिएको छ । उहाँहरुलाई कार्यालयमा झिकाएर सोधपुछ गर्ने काम गर्छ । त्यपछि मुद्दा कसरी अगाडि बढ्छ परिस्थितिले निर्माण गर्छ ।’ ६ जनालाई ठगी गर्ने श्रेष्ठसहितका व्यक्ति फरार छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया