गण्डकीमा प्रेस रजिस्ट्रार छान्न समिति गठन

समाधान संवाददाता २०८१ साउन ३ गते १९:३०

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका छन् । अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य अग्रज पत्रकार रवीन्द्र बास्तोला छन् । मुख्यमन्त्री तथा मन्त्रिपषिदको कार्यालयका सचिव केशवराज ढकाल सदस्य सचिव छन् ।

Advertisement


प्रेस रजिस्ट्रारले जसले प्रदेशको आमसञ्चार माध्यम व्यवस्थान सम्बन्धी काम गर्छ । एघारौं तह अर्थात् प्रदेश सचिवसरहको रहने प्रेस रजिस्ट्रारको पदावधि ४ वर्ष तोकिएको छ । स्नातकोत्तर उत्तीर्ण गरेको, पत्रकारितामा कम्तीमा १५ वर्षको अनुभव भएको ३५ वर्षदेखि ६० वर्ष उमेर सम्मका व्यक्तिलाई प्रेस रजिस्ट्रारमा नियुक्त गर्न सकिने प्रावधान राखिएको छ । समितिले कार्यविधि बनाइ सूचना आह्वान गर्नेछ । आवेदन दिएकामध्ये बढीमा ३ जनाको नाम समितिले मन्त्रिपरिषद्मा पेस गर्नेछ । ३ जनामध्ये १ जनालाई सरकारले नियुक्त गर्नेछ ।

संसदको पहिलो कार्यकाल अर्थात् पृथ्वीसुब्बा गुरुङको पालामा नै संसदमा दर्ता भए पनि विवादका कारण रोकिएको प्रदेश आमसञ्चार विधेयक ४ वर्ष पछि आम गत फागुन २१ गते पारित भएको हो ।

पृथ्वीसुब्बाका पालामा संसद सचिवालयमा दर्ता भएको विधेयक कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा संसदमा टेबल भएको थियो । तर त्यसमा उल्लेखित कतिपय बुँदाहरु विवादित र संविधानसम्मत नभएको भन्दै सञ्चारजगतबाट विरोध भएपछि उक्त विधेयक रोकिएको थियो । अघिल्लो कार्यकालको संसदबाट पारित हुन नसकेपछि उक्त विधेयक स्वत निस्क्रिय बनेको थियो ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि यस विधेयकमा विशेष चासो दिएर परिमार्जनसहित मस्यौदा तयार गरेर सरोकारवालाको सुझावसमेत समावेश गरी विधेयक संसदमा दर्ता गरिएको थियो । उक्त विधेयकमाथि प्रदेश मामिला तथा कानुन संमितिमा सुझावसहित दफावार छलफल गरिएको थियो । विपक्षी दलका सांसदले दर्ता गराएका संशोधनका केही बुँदा समावेश गरी उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेपछि संसदमा फिर्ता गरिएको थियो ।

Advertisement

प्रेस रजिस्ट्रार छनोटका लागि मुख्यमन्त्री पाण्डेले गत चैत २१ गते तत्कालीन मन्त्री सरस्वती अर्याल संयोजकत्वमा समिति गठन भएको थियो । संसदबाट विश्वासको मत प्राप्त गर्न कठिन देखिपछि पाण्डेले २३ गते राजीनामा दिएका थिए । त्यसपछि प्रक्रिया रोकिएको थियो ।

तपाईको प्रतिक्रिया