
मनाङ ।
सरकारले मनाङ जिल्ला अस्पतालका लागि १८ जनाको स्थायी दरबन्दी तोकेको छ । हाल सो अस्पतालमा ५ जनामात्र कार्यरत छन् । सरकारले हालसम्म सो दरबन्दी पूरा गर्न सकेको छैन । करारमा राखिएका कर्मचारी पनि असार मसान्त सकिएसँगै कतिपय कर्मचारीको कार्यावधि सकिएको छ ।
यसले जिल्ला अस्पतालको काम गर्न सकस भएको छ । भएका दरबन्दीमा पनि दक्ष जनशक्ति छैनन् । अस्पतालमा २ चरण गरेर काम गराउने वातावरण पनि छैन । दुर्गममा कर्मचारी आउनै मान्दैनन् । थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भारती मेहताको गुनासो छ । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधिबाट जिल्ला अस्पताल चलाउनुपरेको उनी बताउँछिन् । उनले प्रदेश सरकारसँग सशुल्क फार्मेसीका लागि माग गरेको जनाइन् ।
स्थानीयलाई सहज रूपमा स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यले निर्माण भइरहेको अस्पताल भवन पूरा हुन सकेको छैन । स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनामा सेवा प्रवाह हुँदै आएको अस्पताललाई १५ शड्ढयामा स्तरोन्नतिको काम पूरा हुन नसकेको हो ।
जीर्ण भौतिक पूर्वाधार भएको भवनबाट जिल्लावासीलाई प्रभावकारी सेवा पुर्याउन सकिएको छैन । यस अस्पताललाई १५ शड्ढयामा स्तरोन्नति गरेर जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रदेश सरकारले ४ वर्ष अघिदेखि अस्पताल निर्माणको काम भइरहेको छ । तेस्रो पटक थप गरिएको म्याद पनि सकियो तर काम सकिएको छैन ।
स्वास्थ्य चौकीभन्दा पनि कम जनशक्ति र साँघुरो भौतिक संरचनाबाट सेवा दिइरहेको मनाङ अस्पतालमा कर्मचारी जानै मान्दैनन्
तीन पटक म्याद थप गरिसकिएको छ । अन्तिम पटकको म्याद पनि सकिसकेको अवस्था भए पनि निर्माणको काम भने सकिएको छैन । उक्त अस्पताल भवनको संरचना निर्माण पूरा गर्न चौथो पटक म्याद थप गर्नुपर्ने अवस्था आएको छ ।
ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गम क्षेत्रबाट बिरामीले सास्ती खेप्नुपरेको छ । विसं २०८१ असार मसान्तसम्म अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । थप भएको समयमा पनि अस्पतालको भवन निर्माण सम्पन्न भएन । अहिले अस्पताल भवनको निर्माणको काम ठप्प भएको छ ।
विसं २०४६ फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल जीर्ण अवस्थामा पुगेको छ । दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालित अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि १४ करोड लागतमा ओम बुद्ध/बुद्ध जेभीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार कम्पनीले काम गर्न नसकेपछि जिल्लावासीको सहज स्वास्थ्य सेवा पाउने आशा निराशामा परिणत भइरहेको छ । कामले गति लिन नपाएपछि सेवाग्राहीको अपेक्षा पूरा हुने अवस्था अझै पनि छैन । समयमा अस्पतालको भवन निर्माण नहुँदा स्वास्थ्यको पहुँचमा पुग्न सकस भएको अवस्था छ । सामान्य उपचारका लागि पनि हेलिकप्टरको सहारा लिन जिल्लावासी बाध्य भएका छन् । हेलिकप्टर नभए जिल्ला बाहिरका अस्पताल जानुपर्ने बाध्यताबाट मनाङ्गी जनताले मुक्ति पाएका छैनन् ।
ओम बुद्ध/बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको दाबी गर्नुभयो । ठेकेदार घिमिरेले रङ्गरोगन तथा टाइल बिछ्याउने कार्य भइरहेको जानकारी दिए । उनी भन्छन्, ‘बर्खासँगै सडकको अवस्था र सामग्री ढुवानीमा समस्या भएकाले निर्माणमा ढिलाइ भएको हो ।’
सडक सहज हुनासाथ कामले तीव्रता पाउने उनको भनाइ छ । विसं २०७५ देखि गण्डकी प्रदेश अन्तर्गत रही सञ्चालन हुँदै आएको अस्पतालबारे समस्या प्रदेश सरकारसमक्ष जानकारी गराएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मेहता मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताउँछिन् । अस्पतालका तर्फबाट पनि आफूहरूले धेरै नै पहल गरेको उनको भनाइ छ । डा भारतीले पनि असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न भइसक्नेमा आशावादी रहेकामा पूरा हुन नसकेको गुनासो गरिन् ।
साहसिक पदयात्राको प्रवेशद्वार चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्युदर घटाउनमा पनि अस्पतालले निकै ठूलो भूमिका खेलिरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया