यु २० बुद्धिचाल प्रतियोगिता हुँदै

पोखरा ।
अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे)को सयऔं वर्षको अवसरमा पोखरामा यु २० खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७ विरौटामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारी दिन हिीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता हुन जानकारी गराए । स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्ने छ । शुक्रबार र शनिबार आयोजना हुने प्रतियोगितामा १ सय १० जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता रहने पक्का भएको छ । ‘यो स्विस लिगको आधारमा खेलाइने रेपिड रेटिङ टुर्नामेन्ट हो । प्रतियोगिताको उत्कृष्ट ३ जनालाई हामी विशेष प्रशिक्षणको व्यवस्थासमेत गर्ने छौं । जसले १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी छनोटमा समेत टेवा पुग्नेछ,’ क्षेत्रीले भने । यो प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वारियतामा समेत रहनेछ । अर्थात् खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वारियता) मा समावेश हुनेछ ।
प्रतियोगितामा यु–१० (२५ जना सहभागी), यु–१६ (२५ जना सहभागी), यु १९ (४५जना सहभागी) तथा खुला प्रतियोगिता (१३ जना सहभागि) हुने छन् । खुलातर्फका विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । चौथो र पाँचौ हुनेले समान पाँच–पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार छ । यस्तै यु १०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए ।
पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ । प्रतियोगितामा राधाकृष्ण कार्भिङ र अनमोल दुग्ध उद्योगले सहयोग गरेको छ । २ दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सी बेन्क्युटमा हुनेछ ।
तपाईको प्रतिक्रिया