सूर्यदर्शन सहकारी ठगी: थप २५ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले सहकारीको पुरानो सफ्टवेयर फेला पारेपछि ०६५ यताका सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ पुर्जी जारी भएको हो ।
यसअघि प्रहरीले ०७२ देखिका १९ पूर्वसञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । १९ मध्ये ५ जनामात्रै पक्राउ परेका छन् । थप २५ जनालाई पक्राउ पुर्जी जारी भएसँगै अब ४४ जना फरार रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
२०७२ अघिका सञ्चालक समितिका पदाधिकारीविरुद्ध एक साताअघि पक्राउ पुर्जी जारी भएको हो । संस्था स्थापना भएको ०६५ पछिकै सफ्टवेयर भेटिएपछि थप २५ जनालाई प्रतिवादी बनाएको प्रमुख थापाले जानकारी दिए । सहकारी पीडितले अघिल्लो प्रतिवेदन अपुरो भएको भन्दै ०८० माघ २२ मा दोस्रोपल्ट उजुरी दिएका थिए ।
जसमा रास्वपा सभापति रवि लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध छानबिनको माग गरिएको थियो । महानगरका विज्ञ, प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र पीडितका प्रतिनिधि सम्मिलित टोलीले सूर्यदर्शनको पुनः वित्तीय विश्लेषण प्रतिवेदन तयार गरेको थियो ।
प्रतिवेदन ३ हजार ४ सय १९ पृष्ठको छ । ९ खण्डमा विभाजित यो प्रतिवेदनमा १८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको र ४ सय ३३ ऋणी रहेको उल्लेख छ । १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।
पोखरा महानगरपालिकाले तयार गरेको सूर्यदर्शनको दोस्रो वित्तीय विश्लेषण प्रतिवेदन भने अध्ययनकै क्रममा रहेको एसपी थापाले जानकारी दिए । त्यस प्रतिवेदनमा सहकारीका ऋणीतर्फको पाटो अनुसन्धानकै क्रममा रहेको एसपी थापाले जानकारी दिए । तर, सहकारीका मुख्य नायके गितेन्द्रबाबु (जीवी) राई नै फरार हुँदा प्रहरीको अनुसन्धानले खास प्रगति लिन सकेको छैन ।
राईले योजनावद्ध रुपमा संगठित तरिकारले सहकारीको पैसा अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले असोज १८ गते अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो । हाल सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आईटी प्रमुख भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
गएको वर्ष ७ सहकारीमाथि छानबिन
जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्ष ०८०÷८१ मा सहकारी ठगीसम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ५४ करोड ५३ लाख ८५ हजार ३ सय ३८ रुपैयाँ अपचलन गर्ने ११ जनामध्ये ४ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।
इमेज बचत तथा ऋण सहकारीको ६४ करोड ८८ लाख ६० हजार ४ सय ७९ अपचलन गर्ने बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ६ जनामात्रै पक्राउ परेका छन् । तीमध्ये ४ जना धरौटीमा रिहा भइसकेका छन् नगर प्रमुख नेपाली अझै फरार छन् ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन गर्ने ६५ जना प्रतिवादी रहकोमा २५ जना पक्राउ परेकामध्ये १८ जना धरौटीमा छुटेका छन् । ७ जना पुर्पक्षका लागि थुनामा छन् । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ अपचलन भएको छ ।
ठगीमा संलग्न ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा २० जना पक्राउ परेका छन् । तीमध्ये ११ जना धरौटीमा रिहा भएका छन् । विन्ध्यवासिनी बचत तथा ऋण सहकारीको ७ करोड ६९ लाख ५९ हजार ८ सय ३४ रुपैयाँ अपचलन गर्ने ३१ जनामध्ये १९ जना पक्राउ परेका छन् । तीमध्ये १७ जना धरौटीमा रिहा भइसकेका छन् ।
बलिदानी बचत तथा ऋण सहकारी संस्थाको १० करोड ५९ लाख ३५ हजार ८ सय ४४ रुपैयाँ अपचलन गर्ने १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ५ जनामात्रै पक्राउ परेका छन् । तीमध्ये २ जना धरौटीमा रिहा हुँदा ३ जना थुनामा छन् ।
तपाईको प्रतिक्रिया