गण्डकीका कानुन परीक्षण गरिँदै

पोखरा ।
संसदको काम भनेकै कानुन बनाउने हो । प्रदेशहरूमा संसद भनेका प्रदेश सभा हुन् । देशभरका ७ प्रदेश सभाहरू दोस्रो कार्यकालमा चलिरहेका छन् । गण्डकी प्रदेश सभाले पनि ७ वर्ष बिताएको छ । यो अवधिमा गण्डकीमा ४९ वटा कानुन प्रदेश सभाले बनाएको छ । अरु पनि कानुन आए आर्थिक विधेयक र संशोधन विधेयकका रुपमा तर ती मुल विधेयक होइनन् ।
बन्न त कानुन बने । तर तिनको कार्यान्वयन लगायत अवस्था के छ त ? त्यही प्रश्नको उत्तर खोज्न गण्डकीमा ‘विधायिकी मनसाय’ जाँचिने भएको छ । चालु आर्थिक वर्षमा प्रदेशमा पहिलोपटक उत्तर विधायिकी परीक्षणका लागि प्रदेशसभाअन्तर्गत १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, मुख्यमन्त्री कार्यालय अन्तर्गगत यही कामका लागि थप ५ लाख बजेट छ । गण्डकी प्रदेशसभा सचिवालयका उपसचिव प्रेम सुवेदीले प्रदेशसभाले उपयुक्त विधि, प्रक्रिया अपनाएर उत्तर विधायिकी परीक्षण गर्न सक्ने बताए ।
‘प्रदेशमा कमसेकम ३ वर्षअघि बनेका ऐनहरुको परीक्षण गर्ने भनिएको छ । संसदहरु आफैैँले समिति, उपसमिति बनाएर, विज्ञहरुमार्फत् वा कुनै संस्थासँग सहकार्य गरी उत्तर विधायिकी परीक्षण हुन सक्छ,’ उनले भने । सदनले जुन आशय र लक्ष्य राखी ऐन बनाएको थियो, ती लक्ष्य प्राप्त भए÷नभएको, ऐनहरु कार्यान्वयन भए÷नभएको, ऐनहरुमा संशोधन वा खारेजी नै जरुरी रहेको भए सो विषयमा यो परीक्षणले सुझाउनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपर्षिदको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकाल अहिलेसम्म प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयनको अवस्थाबारे यसमा अध्ययन हुने बताउँछन् । ऐनहरु कार्यान्वयनका चुनौती, ऐन बनेपछिका कठिनाइ र परिमार्जनका पक्षबारे यसबाट जानकारी प्राप्त हुने उनले औंल्याए । प्रदेशसभाले बनाएका ऐनहरुको अध्ययन र त्यसबारेका छलफलमा संलग्न अधिवक्ता गिरधारी सुवेदी गण्डकीका ऐनहरुको कार्यान्वयन प्रभावकारी नभएको टिप्पणी गर्छन् । ऐन कार्यान्वयन गर्न आवश्यक संयन्त्र नभएको, आपसमा तालमेल नहुने जस्ता समस्या देखिएको उनले बताए । कानुनहरुको अन्तरवस्तु, संघीय र स्थानीय कानुनहरुसँगको तालमेललाई ध्यान दिएर उत्तर विधायिकी परीक्षण गरिनुपर्ने उनको ठम्याइ छ ।
गण्डकीले बनाएका केही ऐन मर्ज गर्नुपर्ने, केही ऐन संशोधन गर्नुपर्ने र केही परिमार्जन गर्नुपर्ने देखिएको उनले औंल्याए । अधिवक्ता सुवेदीको भनाइमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान पनि सहमत छन् । गण्डकीले बनाएका एक तिहाइ ऐन कार्यान्वयनमा जान नसकेको दाबी गर्दै उनले यसलाई नियमित प्रक्रियाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘एक तिहाई जति हाम्रा ऐनहरू कार्यान्वयनमा गएका छैनन् । सूर्तीजन्य ऐन कार्यान्वयनमा जाँदै गएन । वन ऐन पनि कार्यान्वयन भएको छैन,’ उनी भन्छन्, ‘केही ऐन पूरै कार्यान्वयन भएका छैनन् भने केहीका केही दफा कार्यान्वयन भएका छैनन् । हाम्रा ऐन सुधारेर प्रभावकारी बनाउन उत्तर विधायिकी परीक्षणले सघाउँछ ।’
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने कानुन बन्नु ठूलो कुरा नभएको जनाउँदै कार्यान्वयन प्रमुख पक्ष भएको बताउँछन् । उनी भन्छन्, ‘ऐनहरु कार्यान्वयनमा आएका समस्या, आवश्यक परिमार्जन, हामीले बनाएको उद्देश्यक अनुसार लागु भए÷नभएकोबारे यसले सदनलाई जानकारी दिन सघाउनेछ ।’
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले ४ महिनाअघि प्रदेश तहबाट बनेका कानुनहरुको उत्तर विधायिकी परीक्षण गर्न प्रदेश सरकारहरुलाई सुझाव दिएको थियो । समितिले ‘तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८०’मार्फत प्रदेश तहबाट बनेका कानुनको यथाशीघ्र उत्तर विधायिकी परीक्षण गर्न र कानुन कार्यान्वयन भए÷नभएको सम्बन्धमा अध्ययन गरी प्रभावकारी कानुन कार्यान्वयनको व्यवस्था मिलाउन बनेको थियो ।
यसअघि राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण अभ्यास कार्यान्वयनमा ल्याएको थियो । सभाको विधायन व्यवस्थाप समितिले ४ विधेयकको कार्यान्वयन मापन गरेको थियो । समितिले सार्वजनिक खरिद ऐन र भूमिसम्बन्धी ऐनका भने केही दफा अध्ययन गरेको थियो भने विधायान समितिले सामाजिक व्यवहार सुधार ऐनको परीक्षण गरेको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया