
पोखरा ।
खाजाका रुपमा होस् वा घरमा पाहुना आउँदा सत्कार गर्न झिंलिगा लोकप्रिय मानिन्छ । झिंलिगा रोटी पछिल्लो समय सेल रोटीसँगै सबैजसो जाति, समूहमा सगुनका रुपमा प्रयोगमा आएको छ । इतिहास अली पुरानै रहेको झिंलिगाको दिन प्रतिदिन लोप्रियतासँगैे बजार पनि बढिरहेको छ ।
पोखरा महानगरपालिका १३ गौडाकोमुख झिंलिगा रोटीको पुरानो बजारका रुपमा परिचित छ । गौडामुखका आनन्दप्रसाद ढेवाजु पुराना झिंलिगा व्यवसायी हुन् । उनले २०४५ सालभन्दा अघि झिंलिगा व्यवसाय सुरु गरेका थिए । ढेवाजुले ३५ वर्षदेखि निरन्तर झिंलिगा रोटी उत्पादन गरिरहेका छन् ।
नेवारी समुदायले परम्परादेखि नै झिंलिगालाई चाडपर्वमा सगुनका रूपमा प्रयोग गर्दै आएको छ । नेवारी समुदायमा लोकप्रिय सिन्किमरी नामले चिनिने झिलिंगा खाजाको परिकार हो ।
‘सबै सिजनमा सबै जातिका मान्छेले झिलिंगा खान्छन् । चाडपर्वमा सगुनका रूपमा प्रयोग हुने भएकाले अली बढी बिक्री हुन्छ,’ ढेवाजुले भने, ‘झिलिंगा अब नेवारी सिन्किमरी मात्र रहेन । सबै जातिको साझा खाजाको परिकार बन्यो ।’
लामो समय झिंलिगा व्यवसायमा बिताएका मेहनत गर्न सके राम्रो सफलता पाइने उनको अनुभव छ । घरमै बसेर सहज तरिकाले उत्पादन र आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा लागेको ढेवाजुले सुनाए । ‘अहिले व्यवसायलाई छोरा बुहारीले निरन्तरता दिइरहेका छन् । हामी त बुढो भइयो,’ उनले भने ।
झिलिंगा अब नेवारी सिन्किमरी मात्र रहेन । सबै जातिको साझा खाजाको परिकार बन्यो ।
झिलिंगा रोटी बेचेर वार्षिक ३ लाखसम्म आम्दानी हुने मनिसा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठ ढेवाजुकी बुहारी हुन् । ८ वर्षदेखि पुख्र्यौली व्यवसायलाई उनले धानिरहेकी छन् ।
दसैं–तिहार जस्ता चाडपर्वमा झिलिंगाको माग अत्यधिक हुने श्रेष्ठले बताइन् । उनका अनुसार सिजनका बेला एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ । अफ सिजनका बेला चार/पाँच महिनामा एक लाख कमाइ हुन्छ ।
‘तिहारमा अझ विशेष रूपमा झिलिंगाको प्रयोग बढी गरिन्छ । तर, आजभोलि झिलिंगा सबै समुदायले तिहारमा मात्र होइन, सबै समय प्रयोग गर्छन्,’ श्रेष्ठले भनिन्, विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाको रुपमा पनि यसको प्रयोग बढ्न थालेको छ । गुरुङहरुले अर्घौमा, मुस्लिमले इदमा किन्न आउँछन् ।
त्यतिकै खाली बस्नुभन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि झिलिंगा बनाएर बेच्न थालेको बताउँदै यसबाट घरखर्च राम्रोसँग चलेको उनले उल्लेख गरिन् । साना व्यवसायीका लागि धेरै लागत पनि नलाग्ने, बिहान बेलुका फुर्सद निकाले पुग्ने श्रेष्ठको भनाइ छ ।
आफूले घरमा घरयासी प्रविधिबाट झिलिंगा बनाउने र वरपर नै खपत भएको उनी बताउँछिन् । सक्दासम्म व्यवसायलाई निरन्तरता दिने उनको सोच छ । ‘झिलिंगा दिनमा चार सय बनाउन सकिन्छ तर त्यसलाई सुकाएर प्याक गर्दा तीन दिनसम्म लाग्छ,’ श्रेष्ठले भनिन्, ‘झिलिंगा १५ रुपैयाँ गोटादेखि ७० रुपैयाँ गोटासम्म पर्छ । बिक्रीको कुनै समस्या छैन । झिलिंगा घरबाटै ग्राहकले लैजान्छन् ।’
सबै महिला आत्मनिर्भर हुनुपर्ने उनको बुझाइ छ । सकेको र जानेको कामबाटै घर, व्यवहार चलाउन सकिने उनी भन्छिन् । व्यवसायलाई विस्तार गर्ने योजना रहे पनि नसकेको उनको गुनासो छ ।
उत्पादनमा वृद्धि गरेर विदेश निर्यात गर्ने उनको योजना छ । जसका लागि स्थानीय तहले व्यवस्था मिलाइदिनुपर्ने श्रेष्ठको माग छ । पानी पर्दा झिलिंगा नसुकेर बिग्रेर कति पटक नोक्सानी व्यहोर्नु परेको उनले सुनाइन् । झिलिंगा बनाउने मेसिन वडा कार्यालयले अनुदानमा उपलब्ध गराइदिए राहत पुग्ने मनिसाले समस्या व्यक्त गरिन् ।
‘घरयासी प्रविधिबाट बनाउँदा मेहनत बढी लाग्छ, उत्पादन कम हुन्छ, आम्दानी पनि कम हुन्छ । मेसिन किन्न सकेमा धेरै उत्पादनसँगै धेरै आम्दानि हुने थियो,’ उनले गुनासो पोखिन्, ‘मेसिनलाई ३/४ लाख रुपैयाँ पर्ने रहेछ । कसरी लगानि गर्न सक्नु त्यत्रो ?’
चामलको पीठोलाई ढिँडोजस्तो बनाई मेसिनमा राखेर पेलिन्छ । पेल्दा निस्कने चाउचाउका जस्ता त्यान्द्रालाई सालको पातमा कलात्मक रूपमा सजाई घाममा सुकाइन्छ । आवश्यकता अनुसार रंग पनि प्रयोग गरिन्छ । सुकाएपछि यो तयार हुन्छ । त्यसलाई तेलमा फुराएर खाइन्छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया