शताब्दी पुरुष ‘किञ्जल्क’ सम्झनामा मात्रै

समाधान संवाददाता २०८१ साउन ९ गते १०:१४

पोखरा ।
‘किञ्जल्क’का रुपमा परिचित साहित्यकार गोपाल वैद्यको सोमबार राति निधन भएको छ । १ सय ३ वर्षीय वैद्यको उपचारका क्रममा फेवा सिटी अस्पतालमा निधन भएको हो । उनको मंगलबार दाहसंस्कार गरिएको छ । साउन १ गते अस्पताल भर्ना भएका उनको जन्म प्युठानमा भए पनि कर्मभूमी पोखरा बनाएका थिए ।

Advertisement


बनारसबाट संस्कृतमा आयुर्वेद पढेका उनी २०१५ सालमा पोखरा झरेका हुन् । उनी नेपाली र संस्कृत भाषामा सिद्धहस्त थिए । साहित्यमा उनको योगदानको कदर गर्दै गत वर्ष कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ४० औं जन्मजयन्तीमा उनलाई लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको थियो । दर्जनौं सम्मान र पुरस्कारबाट सम्मानित उनका केही कृति प्रकाशित छन् भने दर्जनौं कृति अप्रकाशित छन् । उनी नेपाली र संस्कृतमा छन्दवद्ध कविता लेख्ने गर्थे । ‘बाग्लुङे वैद्य’का रुपमा चर्चित उनका बुवा मेघकुमार पनि नामुद वैद्य थिए । गोपालको सुरुआती पढाइ बागलुङको भाषा पाठशालामा भएको थियो ।


पछि पोखरामा पं. शिवकुमार रेग्मीसँग अध्ययन गरी उनी रानीपोखरी काठमाडौं गएका थिए । महोत्तरीको मटिहानी गुरुकुल र वनारासमा पनि उनले शिक्षाआर्जन गरेका थिए । संस्कृत साहित्यमा मध्यमा पास गरी औषधी विज्ञानमा स्नातक गरेका थिए । महेन्द्र संस्कृत विश्वविद्यालयले उनका पुस्तकलाई पाठ्यक्रममा समावेश गरेको छ ।आयुर्वेद संस्कृत भाषामा भएकाले संस्कृत पढेका उनी पछि संस्कृति साहित्यमै लहसिएका थिए । आजन्म शाकाहारी कविराज गोपाल ईश्वरमा गहिरो आस्था राख्थे । संस्कृत भाषामा पुष्प केशरलाई किञ्जल्क भनिन्छ । गोपाल वैद्य पनि नेपाली र संस्कृति साहित्यका पुष्पकेशर साबित भएका छन् ।


राजनीतिमा रुचि नराखे पनि उनी कुनै बेला उनी बागलुङ जनसरकारमा स्वास्थ्मन्त्री बनेका थिए । २००७ सालको क्रान्तिमा बागलुङमा जनसरकार बनाइएको थियो । ओमप्रसाद गौचनको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा नामुद वैद्य भएका कारण गोपाल वैद्यसँग सोध्दै नसोधी स्वास्थ्य मन्त्री बनाइएको थियो ।
उनलाई यो पद पटक्कै मन नपरेकोले सपथ पनि लिएनन् । उनले पद अस्वीकार गरेपपछि अर्का वैद्य टेकनारायण भारीलाई स्वास्थ्य मन्त्री बनाएको थियो । उनी मान, सम्मान, अभिनन्दन, तक्मा आदिबाट परै बस्थे । उनले धेरै वर्ष आयुर्वेदिक औषधी बेचे । गाउँघरमा गई सेवा गरे । त्यस बेला बिरामीले औषधीमूलो गरेवापत अनाज दिन्थे । त्यही अनाजले परिवार पाल्नुपर्दथ्यो । धेरै बिरामीलाई चाहिने मात्रामा मात्र औषधी बेच्थे । बढी औषधि किन्न खोज्नेलाई सम्झाउँथे–औषधी आवश्यक भएमात्रै सेवन गर्ने हो, बढी खाए अमृत पनि विष बन्छ । उनका प्रमुख कृतिमा सुक्ति–मुक्ताहरु, हिमाद्रि–महिमा पद्याऽमृतम लगायतका छन् । वि.सं. १९७७ वैशाख शुक्ल नवमीका दिन जन्मिएका वैद्यको २००७ सालमा गणेशकुमारी श्रेष्ठसँग विवाह भएको थियो । उनी कन्या स्कुल नदीपुरमा सञ्चालक समितिका सदस्य पनि बनेका थिए । किञ्जल्कको निधनले नेपाली साहित्यले कुशल साधक गुमाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया