तरकारी खेतीबाट नाम र दाम दुवै

गलकोट (बागलुङ) । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाउनुभएको छ । तरकारी खेतीबाटै स्वरोजगार बन्नुभएका उहाँ जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत पाइसक्नुभएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रुपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उहाँ १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय हुनुहुन्छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गर्नुभएका खत्री यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित हुनुहुन्छ । उहाँले अहिले १८ रोपनी जग्गामा तरकारीखेती गरिरहनुभएको छ । उहाँसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन् ।
अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारीखेतीमै सक्रिय हुनुहुन्छ । तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उहाँले सुनाउनुभयो ।
“तरकारीखेतीबाटै वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “तरकारीखेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।” उहाँले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताउनुभयो । उहाँले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
“एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ । अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ”, उहाँले भन्नुभयो, “पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।”
अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहनुभएको छ ।
आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिनुभयो ।
खत्री एग्रो फार्ममा हालसम्म रु १२ लाख लगानी गरिसक्नुभएको छ । उहाँले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो । हाल उहाँले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गर्नुभएको छ । उहाँले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिनुभएको छ । रासस
—







पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया