मुख्यमन्त्री विदेश, यातायात मन्त्री मस्तराम, आजदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प
पोखरा । गण्डकीमा राइड सेयरिङको चर्चा चलेको पोहोरदेखि नै हो । नीति कार्यक्रम र बजेटमा यसबारेमा उल्लेख गरिए पनि कानुननी अड्चनकै कारण राइड सेयरिङले मान्यता पाउन सकेन । यसपालि सरकारले कार्यविधि ल्याउन लागेको छ । त्यसैको विरोधमा गण्डकीका यातायात व्यवसायी आन्दोलनमा छन् ।
बिहीबार सडकभर गाडी उतारेर सरकारलाई ज्ञापनपत्र समेत बुझाइसकेका उनीहरु आइतबार अर्थात भोलिबाट आन्दोलनमा उत्रने भएका छन् । उनीहरुले यसबारेमा सरकारलाई २ दिनको म्याद राखेर अल्टिमेटम समेत दिएका थिए । उनीहरुको दबाबले कार्यविधिले मन्त्रिपरिषद्काे बैठक प्रवेश नपाए पनि सरकारले उनीहरुको मागका बारेमा केही बोलेको छैन ।
बोलेका छन् त गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे । उनी कतिबेला के बोल्छन् ठेगानै छैन । भित्री बस्त्रमात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको तस्बिर बाहिरिएका बेला उनको विवादित अभिव्यक्तिले व्यवसायी झनै आक्रोशित बनेका छन् ।
राइड सेयरिङमार्फत ट्याक्सी चलाउनेहरुसँग शुक्रबार भेटमा मनाङेले व्यवसायीले आन्दोलन गरे पनि आफू पछि नहट्ने बताए । आन्दोलनरत व्यवसायीका माग सम्बोधन बारे बोल्दै मनाङेले गैर जिम्मेवार जवाफ दिए पछि उनको सर्वत्र आलोचना भएको छ । ‘२४ घण्टामा अलिअलि रक्सी खान्छु अनि सुत्छु । हुने के हो र । सरकारले उनीहरूको माग पूरा गर्नै सक्दैन,’ उनले भनेका छन् ।
यति बेला प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत गएका छन् । कावा मुख्यमन्त्रीको जिम्मा पाएका बिन्दुकुमार थापाले पनि यसबारेमा के गर्ने भनेर मनस्थिति बनाइसकेका छैनन् । आफूहरुले मनपरी गर्न पाउनुपर्छ भन्ने यातायात व्यवसायीको आन्दोलनलाई सही मान्न नसकिए पनि समस्या समाधानका लागि प्रयास नगरेकामा प्रदेश सरकारप्रति नागरिक भने आक्रोशित छन् ।
व्यवसायीहरूले शनिवारसम्म राइड शेयरिङबाट पछि नहटे प्रदेशभरि गाडी ठप्प पार्ने र आन्दोलन चर्काउने चेतावनी दिएका छन् । व्यवसायीका अगुवा योगेन्द्र केसीले साउन १३ गतेबाट प्रदेशभर सार्वजनिक गाडी नचल्ने भन्दै यसबाट पर्ने असुविधाप्रति क्षमा मागेका छन् ।
तपाईको प्रतिक्रिया