१४ सय घरमा बिजुली

समाधान संवाददाता २०८१ साउन १३ गते ११:५३

म्याग्दी ।
म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा १ हजार ४ सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा १ हजार ४ सय ३८ उपभोक्ता थपिएका जनाएको छ ।

Advertisement


केन्द्रका सूचना अधिकारी प्रकाश झाले थप ११ वटा नयाँ ट्रान्सफर्मर जडान गरेर विद्युत् वितरण गरेको जानकारी दिए । ‘म्याग्दीका शतप्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने कार्यक्रममार्फत ११ वटा बस्तीका नौ सय ४५ घरधुरीमा बिजुली पुगेको छ’, उनले भने, ‘यसअघि विद्युतीकरण भएका बस्तीमा थप ४ सय ९३ घरमा यसपालि मिटर जडान भएको छ ।’


मालिका गाउँपालिका ६ दुखुका ९९, रघुगंगा ७ चिमखोलामा ६५, ८ मंगलेका २३, धवलागिरि–६ मराङमा १ सय ३, मालिका–२ रुममा २ सय ५६, धवलागिरी–३ दरमा ७६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, मालिका–४ ओखरबोटमा १ सय २, मालिका–१ छिस र रिठेचौरका एक सय १७ घरधुरीमा नयाँ मिटर जडान भएका छन् ।
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालोमा निर्भर स्थानीयमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए ।

Advertisement


यस वर्ष थपिएका म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ८ सय २१ विद्युत्का ग्राहक पुगेका छन् । आव २०७९÷८० मा १ हजार २ सय ३८ र २०७८÷७९ मा ७७० घरधुरीमा नयाँ लाइन जडान भएको थियो ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्र अन्तर्गत मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हँुदै आएको छ । गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत २२ करोड ५५ लाख २४ हजार २१ महसुल संकलन भएको छ ।


समयमा महसुल नबुझाउने ३ सय ७८ ग्राहकको लाइन काटेर ३६ लाख ३ हजार ९ सय ६० बक्यौता असुल गरिएको छ । ६० दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र ६ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।

Advertisement


समयमा वास्तविक मिटर रिडिङ र अभिलेखमा एकरुपता तथा लाइनको सुुदृढीकरणसँगै लक्ष्यभन्दा बढी विद्युत् चुहावट नियन्त्रण गरिएको प्राधिकरणका वितरण केन्द्र प्रमुख सत्यनारायण गामीले बताए । प्राधिकरणले १२।०७ प्रतिशत चुहावट नियन्त्रणको लक्ष्य दिएकोमा म्याग्दीमा १२।२५ प्रतिशत नियन्त्रण भएको उनले सुनाए । रासस

तपाईको प्रतिक्रिया