सिर्जनाचोकमा प्रादेशिक रक्त सञ्चारको प्रयोगशाला

समाधान संवाददाता २०८१ साउन १३ गते ११:५५

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले ५९ औं रक्त सञ्चार सेवा दिवसको सन्दर्भमा पोखराको सिर्जनाचोकको ब्लड बंैकको मुल भवनबाट प्रदेश स्तरको रक्त सञ्चार सेवा प्रदान गर्न थालेको छ । रेडक्रस कास्कीले यसअघि पोखरा स्वास्थ्य विज्ञान परिसरबाट रक्त सञ्चार सेवा प्रदान गर्दै आएको थियो ।

Advertisement


अन्डर ग्राउन्ड पार्किङसहित ३ तले बहुउद्देश्यीय भवनबाट प्रयोगशाला सेवा सुरुवात गरेको अध्यक्ष डण्डराज पौडेलले जानकारी दिए । गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापाले सो प्रयोगशाला सेवा शनिबार उद्घाटन गरे । सबै क्षेत्रको सहयोगमा ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ रुपैयाँको लागतमा अपांगमैत्री लिफ्ट सहितको अत्याधुनिक ब्लड बंैकको मुल भवन निर्माण गरिएको हो । आवश्यक उपकरण सहितको गुणस्तरीय रक्त सञ्चार सेवाका लागि करिब ६ करोडको बराबरको उपकरण जडान गरिएको छ । रेडक्रस कास्की शाखाका उपसभापति तथा स्वास्थ्य समितिका संयोजक धर्मराज अधिकारीले मुल भवनबाट ए ग्रेडको रक्त सञ्चार सेवा प्रयोगशाला सुरुवात गरेको बताए । उनले अहिलेको पोखरा स्वास्थ्य विज्ञान परिसर रामघाटको रक्त सञ्चार केन्द्रलाई सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने जानकारी दिए ।


अहिले ४ सय १५ सयभन्दा बढी संघ, संस्थाले स्वतस्फूर्त रुपले नियमित रक्तदान गर्ने उल्लेख गर्दै उनले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा विश्वविद्यालयको शिक्षणबाट समेत सेवा दिने बताए । यसैबीच रक्तदाता सेवा दिवसको सन्दर्भमा रेडक्रस कास्कीले १ सय २० युनिटभन्दा बढी रक्तदान गर्ने संघ संस्था तथा समूहगत रुपमा बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ । नयाँ प्रयोगशालामा खुला रक्तदानसमेत गरिएको छ ।

Advertisement


कार्यक्रममा लायन्स क्लब अफ पोखरा फिस्टेलसिटी, बल्ड मिसन सोसाइटी चर्च अफ गड, राष्ट्रिय युवा संघ नेपाल कास्की, लायन्स क्लब अफ ढोरपाटन बागलुङ, जिल्ला सहकारी संघ कास्की, लायन्स क्लब इन्टरनेसनल ३ सय २५ आई, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ, धादिङ, पोखरा सम्पर्क समाजलाई सम्मान गरिएको छ । युवा रेडक्रस सर्कलमध्ये ७५ युनिट भन्दा बढी रक्तदान गर्ने राष्ट्रिय मावि, मेश्रमबराह मावि, आदिकवि भानुभक्त क्याम्पस तनहँुलाई सम्मान गरिएको रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।


कार्यक्रममा समूहगत रुपमा बढी रक्तदान गर्ने नवीन उदास, दामोदर बराल, सुरेश श्रेष्ठ, कुलबहादुर भुजेल, कृष्ण मानन्धर, बलराम खत्री, ईश्वरीप्रसाद सापकोटा, विष्णुप्रसाद बास्तोला, सन्तोषकुमार मिश्र लगायतका व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा रेडक्रस कास्कीका पूर्व उपसभापति शिवप्रसाद कोइरालालाई रक्त सञ्चार स्वयंसेवी सम्मान गरिएको छ ।


रक्तदानमा विशेष योगदान गर्ने स्वयंसेवी संस्थामध्येबाट आकस्मिक रक्तदान युनिट (आरदायु)का व्यवस्थापक हरिश्चन्द्र शर्मा, नेपाल स्वयं सेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दीपेन्द्र अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा कार्यवहाक मुख्यमन्त्री थापाले रेडक्रसले अग्रपंक्तिमा रहेर विपद् व्यवस्थापन र रक्त सञ्चार सेवाको काम गरेको बताए । ‘प्रदेशका सबै नागरिकलाई १ फागुन २०७८ गतेदेखि गण्डकी प्रदेश सरकारले रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ,’ उनले भने, ‘रगतको प्राविधिक शुल्कलाई जिरोमा झार्ने अभियानका लागि सरकारले ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।’


उनले रगतको वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन खरिद गर्न ६२ लाख बजेटको व्यवस्था गरेको जानकारी दिए । उनले रेडक्रस कास्कीसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्री, रेडक्रस सोसाइटी कास्की उपसभापति तथा स्वास्थ्य सेवा समितिका संयोजक धर्मराज अधिकारी, उपसभापति उर्मिला खड्का, कार्यवहाक मन्त्री रमा न्यौपाने कोइराला, रेडक्रस कास्कीका पूर्व उपसभापति शिवप्रसाद कोइराला लगायतले रक्त सञ्चार सेवा रेडक्रस सोसाइटीको विशेष सेवा भएको बताए ।

तपाईको प्रतिक्रिया