तँ पनि राजनीति गर्छस् !

समाधान संवाददाता २०८१ साउन १५ गते १९:३४


सुरेन्द्रबावु तिवारी


तँ पनि राजनीति गर्छस् ! मलाई स्थानीय ‘बालुवाटार’ (यो चिया पसल हो जहाँ राजनीतिको अधिकतर गफगाफ हुन्छ ) मा एकजना निवृत्त राजनीतिक सामाजिक कार्यकर्ताले फ्याट्ट भन्नुभयो । उहाँले मलाई यसरी ‘तँ’ भनेको मायाले हो, आत्मीयताले हो । मैले निवृत्त भने पनि उहाँ त्यो मान्न तयार भए जस्तो लागेन । त्यो उहाँको कुरा भयो । म यहाँनेर यो कुराको दुईवटा अर्थ लगाएर घोत्लिएको हुँ । पहिलो कुरा त उहाँले मलाई प्रशंसा गर्नुभयो कि भन्ने लाग्यो । उहाँको बुझाइमा पढेलेखेको, घरगाउँमा बस्ने, कुनै पार्टीको अल्पकालीन कार्यकर्ता, समूह वा वर्गको बृहत्तर हितका लागि कुनै विचारबाट प्रेरित भएर राजनीतिलाई विकास र समाज विज्ञानको लेन्समा राखेर सामाजिक भावनाले कार्य गर्न लागेको हो भन्ने अर्थमा । ठीकै लाग्यो ।


अर्को अर्थ भनेको उहाँले मलाई खिसिट्युरी गरेर होच्चाएको हो भन्ने लाग्यो । के कुराले तँ राजनीति गर्छस् ? केका लागि तँ राजनीति गर्छस् ? के उद्देश्य लिएर तँ राजनीति गर्छस् ? समय र परिस्थितिलाई नबुझी राजनीति गर्छस् ? केही आदर्श, मूल्यमान्यता पनि छ कि? समाजका लागि राजनीति गरेको छस् कि ? परिवर्तनका लागि राजनीति गरेको छस् कि ? सत्ता र स्वार्थसम्मको यात्रा त होला नि !ओ हो ! यस्ता प्रश्नहरुको रास अनुत्तरित भएरै चुलिएको छ । सबै प्रश्न मतिरै सोझिएको जस्तो लाग्ने ! उत्तर नपाएरै म बिलखबन्दमा परेको सत्य हो ।

Advertisement


राजनीति के हो ? विकिपिडियामा खोजेर भावानुवाद गर्न खोज्दा यस्तो आयो—विशेष उद्देश्य प्राप्तिको लागि, दिगो परिवर्तनका लागि कुनै कार्य गरिन्छ भने त्यो राजनीति हो । समुदाय, सम्प्रदाय, सहर वा देश जस्ता समूहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन् । ठूला समूहहरू, जस्तै देशहरूमा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्छन् । त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ । त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्छ । विश्वविद्यालयमा पढाइ हुने राजनीति विषयलाई राजनीतिशास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ । यसरी हेर्दा राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो ।


राजनीतिशास्त्री डेभिड इस्टनका अनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरूको उचित व्यवस्थापन हो । स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार हुन सक्छन् । परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै हो । यसअर्थमा राजनीति उच्चकोटीको नीति हो । हामी वर्तमान समयको आवश्यकता अनुसार नयाँ विचार, रणनीति एवं कार्यक्रम बनाउँदै जान सक्छौं, परिमार्जन गर्न सक्छौं राजनीति पनि विधिसम्मत, सामयिक, बहुआयामिक र परिस्थितिजन्य हुन्छ । यो निरन्तर बगिरहने नदी जस्तै अनन्त चलिरहने प्रक्रिया हो । व्यावहारिक रुपमा भन्नुपर्दा राजनीतिबाट कोही पनि अछुतो रहन सक्दैन एक वा अर्को अर्थमा ।

Advertisement


राजनीति गर्ने भनेको के हो? राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । संगठित हुनका लागि, सुरक्षित रहन र सुरक्षाको अनुभूति गराउन हो राजनीति गर्ने । राजनीतिले आफ्नो वर्ग र समुदायको लागि योग्य प्रतिनिधि र अगुवा जन्माउँछ र नेतृत्वको कार्यलाई सर्वस्वीकार्य बनाउँछ । समाज भिन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, भिन्न जीवनशैली, तिनीहरूको संगठनको टकराव र सहअस्तित्वमा अडेको हुन्छ । राजनीति गर्ने भनेकै यही समाजका लागि हो । यी परस्पर विरोधी विषयवस्तु हुँदाहुँदै राजनीति गर्ने भनेर खोलिएका राजनीतिक पार्टीहरू पनि प्रतिस्पर्धा सहित आ–आफ्नो अस्तित्वमा रहेर समाजमा आफ्ना क्रियाकलाप गरिरहेका हुन्छन् । राजनीतिमा कार्यकर्ताको तप्काको मात्रै संगठन र सुरक्षा भन्ने विषयवस्तु रहँदैन । राजनीति त आम विषयवस्तु भइदिन्छ । अर्कोतिर राजनीतिमा लागेपछि आफ्नो विज्ञता, इमानदारी वा निष्ठा वा स्वाभिमानको अझ धेरै कदर हुन्छ भन्ने विषयमा जबसम्म प्रत्येक व्यक्ति ढुक्क र सुरक्षित भएको महशुस गर्दैन तबसम्म ऊ राजनीतिको कटु आलोचक नै रहन्छ । यसको मतलब यो होइन कि, राजनीतिक दलमा आबद्ध भएपछि पूरै अराजक हुने र पार्टीको निर्णय वा नेतृत्व नमान्ने वा स्वतन्त्र नागरिकजस्तो हुने छुट पाउनुपर्छ । अब राजनीतिक दलले निर्वाचनमा उठाएको उम्मेदवारले विजय हासिल गर्दछ र ऊ जनताको निर्वाचित जनप्रतिनिधि बन्छ । यहाँसम्म ठीकै छ ।


जनताले ‘आफूजस्तै, आवाज बुलन्द गरिदिने, मुद्दा बोकिदिने आफ्नो रोजेको प्रतिनिधि’ पाए । बधाई छ । तर विडम्बना ! जनताले मोहमद रफीको गीत ‘क्या हुवा तेरा बादा वो कसम वो इरादा ‘गाना अलाप्दै ‘धोका दिनीलाई के भनौं र खोई ? तिमी हाँस भो मै बस्मला रोई !’ भनेझैं आफैँतिर धारेहात लगाउनु पर्ने अवस्था भयो भनेर गुनासो गरेका छैनन् र ? यस्तो किन हुन्छ ? कमसेकम निर्वाचनमा खाएका वाचा कसम पूरा गर्न जनप्रतिनिधिलाई के ले रोक्यो ? कि निर्वाचनको नाममा आम जनविश्वास माथि धोका भयो? कि निर्वाचनको खटनपटन,खर्चपर्च अरु कुनै वर्गबाट भयो ? अहिले कसैले सञ्चालन त गरेको छैन जन निर्वाचित प्रतिनिधिलाई ? कि यो प्रणालीमै खोट छ ? के कुराले जनताको प्रतिनिधिलाई टाढा र ‘अर्कै बस्तीको मान्छे’ बनायो ? यसो हो भने त राजनीतिक बेइमानी भयो । म फेरि अनुत्तरित भएँ ।


बुढापाकाबाट सुनेको उखान वा टुक्का, ‘मान्छे खेद्ने अगाडिबाट पशु खेद्ने पछाडिबाट’ वास्तवमा नेतृत्व खुबीको सवालमा भनेको हो जस्तो लाग्छ । मान्छे बुद्धि भएको विचार गर्न सक्ने सामाजिक प्राणी भएको नाताले खेदेर वा लखेटेर भन्दा पनि आफै अगुवा भएर, बाटो देखाएर नेतृत्व प्रदान गर्ने भन्ने हो । राजनीतिक दलहरु भनेकै राजनीतिक संस्थाहरु हुन्, जसले लोकतान्त्रिक विधि अनुसार राजनीतिक शक्ति प्राप्त गर्नको लागि प्रायः निर्वाचनको प्रक्रियामा भाग लिन्छन् र निर्वाचित हुन्छन् । निर्वाचनको प्रक्रिया भनेकै अगाडिबाट मान्छे खेद्नुजस्तै हो । हार्ने र जित्नेको प्रतिस्पर्धामा जित्नेको एजेन्डा, नीति, कार्यक्रम योजना तथा शैली विजयी भएको भन्ने बुझिन्छ । र ती योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न सहज पनि हुन्छ । हामीकहाँ यस्तै निर्वाचन पद्धतिबाट तीनै तहका सरकारका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद (संसदमा कानुन बनाउन) मेयेर, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष आदि चुनिन्छन् । राजनीतिक दलहरुको आफ्नो सिद्धान्त वा लक्ष्य हुन्छ जुन प्रायः लिखित दस्तावेजको रुपमा हुन्छ । यसलाई घोषणापत्र भन्ने गरिन्छ । यो कसम पूरा नगर्दा राजनीतिक बेइमानी हुनजान्छ । तपार्इंहरुले माथि उल्लेख भएका नेतृत्व जोसँग जनादेश छ उनीहरु नै दिशाविहीन भएर अल्मलिँदै गरेको भेट्नुभएको छ ?


राजनीति के को लागि गर्ने ? फेसबुकको भित्तामा मैले कुनै बेला यस्तो भनाइ पढें र यो प्रश्नको केही मात्रामा उत्तर पनि मिल्न गएकाले साभार गरको छु । अंग्रेजीबाट यसको भावार्थ अनुवाद गर्दा, ‘तपार्इं यदि कसैको जीवनमा बदलाव ल्याउन चाहनु हुन्छ भने, परिवर्तन ल्याउन चाहनुहुन्छ भने तपार्इं धनी बनिरहनु पर्दैन, शक्तिशाली, सुन्दर वा सुन्दरी या अतिउत्तम बन्नु पर्दैन, तपार्इंले मात्र हेरचाह गरिदिए पुग्छ’ भन्ने हुन्छ । राजनीति गरेर एउटा प्रतिनिधि पात्र बनिसकेपछि आफ्नो उत्तरदायित्व भनेकै नागरिकको हेरचाह हुनुपर्छ । तपार्इंलाई धनी बनाउन अथवा तपार्इं धनी देखेर पक्कै पनि नागरिकले मतदान गरेनन् होला । तपाईंलाई थप शक्तिशाली पनि उनीहरुलाई किन बनाउनु प¥यो ? जानी नजानी तपाईंलाई विजयी बनाएकै हुन् । उनीहरुको हातमा केही पनि छैन, निरीह छन् । जनप्रतिनिधि बनाइसकेपछि नागरिकले सम्वन्धित निकाय वा नेतृत्वबाट हेरचाह चाहन्छन्, संरक्षण चाहन्छन ्। चाहना गर्नु पटक्कै गलत होइन । लोकतन्त्रको आधारभूत पक्ष भनेकै जनादेशको सम्मान गर्नु हो । जनभावनालाई कदर गर्न नसक्दा लोकतन्त्र कमजोर हुन्छ । राजनीतिप्रतिको कटाक्ष ज्यूँकात्यूँ रहन्छ । विश्वासको वातावरण बनेको हुँदैन । राजनीतिप्रतिको अविश्वासले नेतृत्वको कार्यक्षमता र कार्यदक्षताप्रति पनि संशय पैदा गर्छ ।


भनिन्छ राजनीतिमा इतिहास निर्माता भनेकै जनता हुन् । किनभने जनता अधिकार बारेमा सचेत, संगठित र अनुशासित भई सुझबुझका साथ आफ्नो अवसरलाई सदुपयोग गर्न सक्दैनन् भने परम्परागत तरिकाको राज्यसत्तामा आमूल परिवर्तन हुन सक्दैन । राजनीति पनि संलिँदैन, धमिलो रहिरहन्छ । आफ्नो हेरचाह आफैं गर्ने र समय र अवस्था अनुसार आफ्नो आवश्यकताको बारेमा वोध नभएका जनता पनि पछाडिबाटै खेदेर नेतृत्व प्रदान गर्ने प्रवृतिका हुन् । राजनीतिलाई परम्परागत चंगुलबाट निकास दिन यिनीहरु पनि बाधक हुन् । विभिन्न राजनीतिक दललाई स्थापित वा विस्थापित गर्ने पनि जनतानै हुन् । तीनै जनताबाट कार्यकर्ता अनुमोदित हुन्छन् । यही हाम्रै समाज हो जुन कुनै समय राजनीति गर्ने व्यक्तिलाई समाजमा मान, सम्मान, इज्जत दिने गथ्र्यो । किनभने उनीहरूमा नैतिकता थियो । इमानदारिता थियो । देश र समाजप्रति उत्तरदायित्व थियो । समाजका मानिसप्रति दुःख, सहानुभूति हुन्थ्यो । गाउँठाउँमा कुनै घटना हुँदा यो मेरो दायित्व हो भनेर साथ÷सहयोग दिने गरिन्थ्यो । बदलिँदो समाजमा व्यक्तिवादिता हाबी भएको यथार्थकाबिच अर्थराजनीतिक परिवर्तनले गर्दा अनुशासनको कमी, जवाफदेहिता र पारदर्शिताको कमीले यो अविश्वासको अवस्था निम्तेको हुन सक्दछ । आवधिक रुपमा आउने चुनावको व्यवस्थापनको लागि मात्रै प्रयोग हुने कार्यकर्ताको हैसियतबाट राजनीतिकर्मी माथि उठ्न सक्दैन, जननिर्वाचित भएको हेक्का नभई जब कुनै प्रतिनिधि हुँकार गर्छ तब ‘म पनि राजनीतिक दलको कार्यकर्ता हुँ’ भन्न जो कोहीलाई पनि सजिलो छैन । म राजनीतिमा छु अथवा राजनीति गर्दछु भन्दा शीर निहुरिने, अकमकिने अवस्था नआउन नेतृत्वको राजनीतिक इमान्दारी महत्वपूर्ण कुरा हो जसको पुष्टि अनावश्यक घमण्डबाट नभई बाचा गरिएका सेवा प्रवाहबाट मात्र हुन्छ । जनताको साना साना समस्या र मागको व्यवस्थापन र हेरचाहबाट मात्र सम्भव छ ।

तपाईको प्रतिक्रिया