माफी माग्नुपर्ने मन्त्री मनाङेले दिए झनै गैर जिम्मेवार अभिव्यक्ति

समाधान संवाददाता २०८१ साउन १६ गते ६:१९
मन्त्रालयमा नाङ्गै बसेका मन्त्री मनाङे

पोखरा । मन्त्रीकै कुर्सीमा बसेर पत्रकारलाई जथभावी भनेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले माफी माग्नुको साटो झनै गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् । पोखराबाट प्रसारित हुने पब्लिक फोर के टिभीमा अन्तरवार्ता दिने क्रममा पत्रकारले अरुसँग रकम लिएर आफू विरुद्धको समाचार र फोटो प्रकासन गरेको आरोप लगाएका हुन् ।

Advertisement

भित्री बस्त्रमात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सञ्चारमाध्यममा समाचारहरु समेत आएका थए ।

पोखरामा आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा २ पत्रकार कुटिएको सन्दर्भमा उनले अमृत सुवेदी कुटिनुपर्नेमा सोझा पत्रकार कुटिएको प्रतिक्रिया दिएका थिए । त्यसपछि पोखराका पत्रकार उनको अभिव्यक्तिलाई लिएर आन्दोलित छन् ।

पत्रकारको टोलीले कावा मुख्यमन्त्री बिन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

मन्त्री मनाङेले टिभीको अन्तर्वार्तामा पनि अमृत सुवेदी कुटाइ खानुपर्ने पत्रकार भनी दोहोर्‍याएका छन् । आफूले कस्तो कपडा लगाइयो भन्नु भन्दा पनि काममा जोड दिने भन्दै कसले कस्तो कपडा लगायो भन्ने सन्दर्भलाई समाचार बनाएर फैलाउनु नपर्ने उनको भनाइ थियो ।

Advertisement

गन्जी लगाएर मन्त्रालयमा बसेकै आधारमा मन्त्री पद नजाने उनको भनाइ थियो ।

प्रदेश सरकारले नै २०७४ सालमा मन्त्रीहरुका लागि जारी गरेको आचारसंहितामा कार्यालय वा कार्यक्रमहरुमा भद्र पाेसाक लगाउनुपर्ने उल्लेख नै गरिएको छ ।

यसैबीच मंगलबार मन्त्री मनाङेको सचिवालयले विज्ञप्ति निकालेर पत्रकारहरुलाई धम्की दिएको भनी विभिन्न सञ्चार माध्ययममा प्रकाशित भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्री मनाङेले आफूले बोलेको विषय गलत भएको स्वीकार भने अझै गरेको छैनन् । माफी माग्ने त कुरै भएन ।

मा. मन्त्रीज्यूले नियतवस वा प्रतिशोधका कारण कहिं, कतै, कसैलाई पनि धम्की दिनुभएको छैन, उहांको त्यस किसिमको आशय पनि होईन । माननीय मन्त्रीज्युको अभिव्यक्तिबाट पत्रकार र संचार जगतमा चोट पुग्न गएको भए नियतवस भएको घटनाको रुपमा नलिइदिन अपिल गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशमा यातायात क्षेत्रको विकास विस्तार र नागरिक मैत्री सहज यातायात सेवा प्रदान गर्ने सवालमा मन्त्री दृढ रहेको भन्दै यसमा सम्पूर्ण सचारकर्मी साथीहरुको सकारात्मक सल्लाह सुझावको अपेक्षा पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार, पत्रकारिता र सञ्चार क्षेत्रलाई उच्च सम्मान गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा यस मन्त्रालय र माननीय मन्त्रीज्यू सदैव दृढ हुनुहुन्छ भन्ने कुरामा विश्वस्त रहन अनुरोध गर्दै यहाँहरुसंगको सहकार्य र समन्वय निरन्तर रहने विश्वास दिलाउन चाहान्छौं, विज्ञप्तिमा भनिएको छ । मन्त्रीका स्वकीय सचिव सन्तोष अधिकारिले विज्ञप्ति जारी गरेको हुन् ।

तपाईको प्रतिक्रिया