शाश्वत मृत्यु र भ्रष्टाचारको पाप

डा कैलाश तिमिल्सिना २०८१ साउन १६ गते १५:४३

मृत्युका सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्याल आफ्नो ’कालमहिमा’ कवितामा लेख्नुहुन्छः
“भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।

Advertisement


अर्थात सारमा न टार्न सकिने न त रोक्न सकिने मृत्यु । तर, शाश्वत सत्य मृत्यु कहिलेकाहीँ अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्छ, जब आफ्नै आँखा अगाडिको मृत्यु पनि अपत्यारिलो लाग्छ । अनि मृत्यु के हो, सोच्नु बाध्य भइँदोरहेछ । म बुझ्छु, मृत्यु केवल जीवनको विपरीतमात्र होइन यो त अवश्यभावी अवस्था पनि हो, जीवनकै एउटा पाटो पनि, र त्यसरी नै स्वीकार गर्नुको कुनै विकल्प छैन । सबै मर्छन्, तर, केही व्यक्ति मरेर पनि बाँचेका हुन्छन् । विषय अति नै मननीय छ । अर्थात् हरेक जीवित पदार्थको अन्त्य हुन्छ हुन्छ मृत्यु निश्चित छ । त्यसैले बाँच्नु अल्पकालीन हो, भने मर्नु दीर्घकालीन, मानिसले जगतबाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ, जसरी आगमनलाई ।


पौराणिक कालदेखि नै मानिसहरुले, अझ भनौं पुराणहरुमा वर्णित कथाहरु अनुसार त त्यस कालमै मानिसहरुले मृत्युमथि विजय पाउने चाहना राख्दै आएको र त्यसका लागि उपायहरुको खोजी गर्दै आएको पाइन्छ । तर सम्भव देखिएन । अहिलेसम्मको शाश्वत सत्यचाहिँ के हो भने जीवनपछि मृत्यु अनिवार्य छ ।

Advertisement


बाबुले पति शिवजी गरिब भएकाले गरेको अपमानले भएको मानसिक पीडाका कारण सतीदेवीले यज्ञ अग्निमा हामफालेर आत्महत्या गर्दा, आत्महत्याले शिवजी मानसिक रूपमा नै विक्षिप्त भई र सतीको लास नै उठाएर हिँडेका विषय पनि हाम्रा ग्रन्थमा पाइन्छ । क्षणभरको आवेगमा आएर आत्महत्या गर्ने सतीदेवी प्रतिको शिवजीको आशक्ति र नजिकका मानिसको मृत्यु हुँदा मानसिक रूपमा विक्षिप्त हुने विषय पनि सामान्य नै लाग्छ ।

विछोड, अपमान, घृणा, तनाव दबाब संकटजस्ता विषयले आम मानिसमा अपमानित बोध गराउँदा आत्महत्याको यात्रा तय गर्नेको पनि प्रशस्त उदाहरण भेटिन्छन् । सायद आत्महत्या गर्नु अघि परिस्थितिलाई सम्हाल्ने उपयुक्त सारथी भेटिएको भए घटनाले छुट्टै मोड लिन्थ्यो कि भन्ने अड्कलवाजी पनि आम मानिसको व्यक्त अव्यक्त अनुभूति रहनु हामी स्वाभाविकै ठान्दछाैं ।


मानसिक रूपमा विक्षिप्त हुँदा कसैले सहायता गर्न सक्थ्यो कि ? रामले सीतालाई दिएको दुःखको हिनतावोधले उनलाई पीडा हुँदा सरयु नदीमा डुबेर गरेको जीवनको अन्त्य मानसिक विक्षिप्त भएकै कारण भएको पीडा भनी बुझ्न पनि कठिनाइ रहेन । रामायणमा रामको वा दसरथको मृत्यु भएको कुरालाई हेर्दा मानसिक समस्या कि असत्यप्रतिको विद्रोह ? आत्महत्या कि आत्मदाह, शंकाको धेरामा रहन सक्ला, तर कृष्णले अर्जुनलाई युद्धको संघारमा विचलित मानसिकतावाट स्वचालित बनाउँदा पाएको सफलता पनि मननीय नै छ । जसले गीताजस्तो महान ग्रन्थको धारण गर्‍यो । तर जे होस् भीष्मपितामह र हिरण्यकसिपुको हृयदविदारक मृत्यु पनि टारिएन । कारण फरक होलान् तर मृत्यु सत्य हो भगवानदेखि असुर जो होस् टारेर टर्न सक्दैन ।


फेरि आम मान्छेकै कुरा गरौं । कोभिड–१९ महामारीको सामना गर्नु भनेको अनिश्चितता र जीवनयापनका चिन्ताहरूसँग जुध्नु र भविष्यका लागि आशाहरू सिर्जना गर्न संघर्ष गर्नु पनि थियो । कतिको ज्यान गयो त कति बेपर्वाह रहे । जे होस् कसैले चाहेर नचाहेर पनि मृत्युलाई टार्न सकेन ।


तर यति हुँदाहुँदै पनि कतिपय मानिसमा अजम्बरी देह झै मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भने अध्यावधिक छ । मुख्यसचिवलाई नै भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता परेको छ । अनियमितता र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धमा छानबिन, अनुसन्धान, तहकिकात एवं अभियोजन गर्ने जिम्मेवारी रहेको सन्दर्भमा आफ्ना काम कारबाहीका उपलब्धि र भए गरेका गतिविधि समेटी विगतदेखि नै आयोगबाट अख्तियार इ–बुलेटिन प्रकाशित गर्ने गरेको छ ।


आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक (माघ–चैत) अवधिमा भ्रष्टाचारसम्बन्धी ६ हजार ५ सय १६ बटा उजुरी परेका र पहिलो र दोस्रो त्रैमासिक अवधिमा क्रमशः ८ हजार र ४ हजार ८ सय ५९ तथा गत आवबाट जिम्मेवारी सरी आएका ९ हजार २ सय ६८ गरी यस अवधिसम्ममा जम्मा २८ हजार ६ सय ४३ उजुरी रहेका विषय पछिल्लो प्रतिवेदन ले उल्लेख गरेको छ । आयोगबाट यस अवधिमा ५९ वटा आरोपहरू विशेष अदालतमा दायर गरिएको र सोबापत ९४६ जनालाई प्रतिवादी बनाई विगो ४ अर्ब ३२ करोड ६४ लाख ६९ हजार १ रुपैयाँ मागदावी लिइएको छ ।

‘बचनको ऋषि र व्यवहारको सिसी’ प्रवृत्ति व्यक्ति र संगठन पतनको द्योतक हो


आयोगबाट यस अवधिमा कुल ८ वटा घुस/रिसवतसम्बन्धी कारबाही भएको र यसबाट २० लाख ५७ हजार रुपैयाँ रकम जफत हुनुका साथै घुस/रिसवतसँग जोडिएका १४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारबाहीको प्रकिया अघि बढाइएको विषय पनि उल्लेख गरेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने अभियानमा आयोगको एक्लो प्रयास मात्र पूर्ण बन्न नसक्ने तथा आयोगलाई नेपाल सरकारका सबै निकाय, सार्वजनिक सेवा प्रदायक संस्था, सरोकारवाला निकाय एवं प्रबुद्ध नागरिक समाज र सञ्चार जगतले आ आफ्नो ठाउँबाट भ्रष्टाचार नियन्त्रणमा आवश्यक सहयोग गर्दै आउने दिनमा थप सशक्त प्रभावकारी भूमिका निभाउन अनुरोधसमेत गरेको छ । जसले मानवीय नैतिक पतन र सदाचारिताको ह्रासलाई समेत उजागर गरेको छ । जब आफ्नो जिम्मेवारीबाट च्युत भई आफ्नो समाज र राष्ट्रलाई कंगाल बनाउने तप्का भेटिन्छ, यस्तो मानसिकता भएका मानिस जिउनुको सान्दर्भिकता छैन झै लाग्छ ।


भ्रष्टाचारले बालबालिकाका सपना चुँडिन्छ, बाआमाको ओखतीमूलो धुतिन्छ, युवाको रोजगारी खोसिन्छ, अर्थतन्त्र कमजोर हुन्छ, समृद्धि लुटिन्छ, अति सम्पूर्ण राष्ट्र असफलताको दलदलमा भासिदै जान्छ र राज्यको अस्तित्वको अन्त्य समेत हुन सक्छ ।
खराब व्यवहारको नतिजा सही हुनै सक्दैन । नत यसले स्वयं व्यक्तिलाई सकारात्मक प्रभाव पार्छ त राष्ट्रलाई । अनैतिकता केवल केवल दुःखको कारण हो, भने सदाचार र नैतिक चरित्र व्यक्ति, परिवार र समाज तनाव हरणको शत्रु हो । त्यसैले भ्रष्टाचारीको जीवन पापको रासमात्र हो र मृत्यु मत्र्यलोकको भारको अवसान मात्र ।


मृत्युलाई त्यति सस्तो पनि नवनाउ की कसैको मृत्युको कुरा गर्दा लाज पनि नलजाओस् । आम मानिसमा के विषय अनुभूति हुनु आवश्यक छ भने मर्नु र बाँच्नुभन्दा पनि बाँच्छौँ भने कसरी बाँच्छौँ, मर्छौं त कसरी मर्छाैं भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृति भड्किएको मृतात्मा सरह नै हो । सार्थक जीवनका लागि व्यक्तिको रुचि, खुबी र ज्ञानको आधारमा पेशा व्यवसाय अवलम्बन गर्ने र अवलम्बन गरेको पेशा व्यवसायको विशिष्ट अनुशासन र आचारसंहिताको पालना गर्नै पर्छ । कुनै पनि सिद्धान्तलाई कार्यान्वयन गर्ने सामथ्र्यको विकास गरी परिवर्तित समाजमा सेवाग्राहीको माग/अपेक्षा पुरा गर्न सक्ने सामथ्र्यले नै कुनै एउटा संस्था वा व्यक्तिको व्यावसायिकता बढाउन सहयोग गर्छ । जसले व्यक्तिको शिर त उचो वनाउछ नै साथै समग्र संस्थागत र राष्ट्रिय सम्मानको वातावरण समेत सिर्जना गर्छ । जसले जीवनको सान्दर्भिकता समेत पुष्टि गर्छ ।


पूर्वीय दर्शनमा स्थापित षड्दर्शनका मूलभूत मान्यताहरू छचल्किए झै लाग्छ । हाम्रो संस्कार र सभ्यतालाई युग, समाज र जीवनसापेक्ष ग्रहण गरी त्यसलाई मानवजीवन, धर्तीको कल्याणको आधार मान्नु पनि हो । जसमा लोककल्याणकारी भावना, मानवसेवा र समाजसेवाको चेतना, आध्यात्मिक चिन्तन र सत्कार्य आफनो जीवन अर्पण गर्ने आत्मा र ईश्वरीय सत्ताप्रति विश्वास रहेको विषय उल्लेख छ । परोपकारी र लोकहितकारी भावनाबाट प्राप्त आनन्द अनित्य र विपरिणामी भौतिक जगत भन्दा परको अमृततत्व जीवनको प्राप्ति नै हो अनि अज्ञानता, क्षणिक स्वार्थ र सांसारिक सुखभोगको अभिलाषा मुक्तिमार्गको अवरोध हो । लोभ, ईश्या, मोह र लालचाबाट मुक्त भई ईश्वरीय परम प्राप्तिलाई जीवनको लक्ष्य बनाएमा जीवन सबै खालका दुःखबाट मुक्त हुन्छ भन्ने आध्यात्मिक चिन्तनसमेत प्रस्तुत भएको छ ।


भनिन्छ, मानिस मरे पनि यश, कीर्ति र चेतना मर्दैन । आत्माले त अर्को जन्म लिन्छ । जसरी एउटा सलाईको काँटी आफू निभ्ने निश्चित हुँदाहुँदै पनि दियो जलाउन आतुर हुन्छ । त्यसरी नै एउटा आत्माले अर्कोलाई मुक्ति मिल्न सक्दछ । के जीवनको अन्त मृत्यु हो ? भागवत गीताले जीवन अनि मृत्युका बारे मान्छेको जीवन र आत्मालाई जोडेर मृत्युलाई मुक्तिका रुपमा व्याख्या गरेको पाइन्छ । त्यस्तै आदिकवि भानुभक्त आचार्यको कविता ‘देह र आत्मा’ ले पनि आत्मा शरीर परिवर्तन गर्दे हिँड्दछ, न कुनै हतियारले यसलाई नष्ट गर्न सक्छ, न त हावाले सुकाउन सक्छ, आत्मा अजर अमर छ भन्ने सार उल्लेख गरेको छ ।


हरेक जीवन एउटा नयाँ देह हो । जहाँ आत्मालाई आत्मिक शुद्धता र चेतनाका आधारमा नयाँ जीवन्तता प्रदान गरिन्छ । विशिष्ट जीवन प्राप्त गर्न भने चेतनामा नियन्त्रण गर्न जरुरी मानिन्छ, चेतनशीलतामा कमी भएमा तल्लो तहको जीवन प्राप्त हुने बताइन्छ । जीवनको वास्तविक मूल्य र उद्देश्य मृत्युलाई एउटा अर्थपूर्ण समाधिको स्वरुप दिनका लागि हो भन्ने हिन्दु शास्त्रहरु केन्द्रित देखिन्छन् । त्यसैले मृत्युलाई जीवनको अन्त्य नभई अनन्त यात्रामो सानो अंश मनन मनन गर्नुपर्ने देखिन्छ ।


बौद्ध दर्शनमा अष्टमार्गमा ८ सिद्धान्तहरू अपनाउन आग्रह गरिएको छ । बुद्धले लालसाको दमन गर्न र मोक्ष प्राप्त गर्न अष्टाङ्ग मार्गको प्रतिपादन गरेका हुन् । जस अनुसारका नियमहरू सम्यक दृष्टिकोण, सम्यक वाणी, सम्यक संकल्प, सम्यक कर्म, सम्यक निर्वाह, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधी हुन् । दुःखहरू हटाउन तथा एकाग्रतासँग विचार, भावना स्थिर र शुद्ध अष्टमार्ग महत्वपुर्ण रहन्छ जुन आधुनिक नैतिमता र सदाचारमा आधारित छ । जसको अभ्यासबाट मनको एकाग्रताबाट शुद्ध ज्ञानको अनुभूति हुने र धर्मको सागरमा छलांग मार्न सकिने विषय उल्लेख छ । सम्पूर्ण मनुष्य जगतको कल्याण गर्नेको मृत्यु पनि अमर हुने निष्कर्ष छ ।


अन्त्यमा, ‘बचनको ऋषि र व्यवहारको सिसी’ प्रवृत्ति व्यक्ति र संगठन पतनको द्योतक हो, भने ‘मनको सफा र वचनको पक्का’ नेतृत्व संस्थागत समृद्धिको आधारभूत सर्त हो । व्यक्तिका जिम्मेवारी फरक होलान् । तर प्रत्येक जीवनको उत्तिकै महत्व हुन्छ । कुनै पेशामा राष्ट्रप्रतिको दायित्व बढी होला त कसैको कम । बढी दायित्वयुक्त व्यक्ति झन् बढी नैतिक, सदाचारी र विभेदरहित हुनुपर्छ । किनकि उसलाइ समाजले पछ्याइरहेको हुन्छ र उसको फराकिलो प्रभाव पनि रहेको हुन्छ ।

खराब आचरण र व्यवहारले मानिस, जीवनभर दुःखका शृंखलामा परिरहन्छ । र ऊ बाँचेर पनि पलपल मरिरहेको हुन्छ । तर जुन मानिस निस्वार्थपूर्वक सामाजिक कल्याणका लागि मर्छ, ऊ प्रेरणाको रथारोहण गर्छ । त्यसैले दुःख आर्य सत्य हो र दुःखको कारण आफू र आफन्तप्रति भौतिकको आशक्ति हो भन्ने बोध नभएसम्म दुःखको निवारण गर्न सकिँदैन । र, दुःखको निवारणको लागि आर्य अष्टांगिक मार्गको बोध र पालनाबाट सम्भव छ । जसका लागि नियमसंगत सबै प्रतिको समभाव र सहानुभूति हो भन्ने कुराको अनुभूति अनिवार्य देखिन्छ । अनिमात्रै सम्यक समाधि प्राप्त गर्न सहज हुन्छ ।


निष्कर्षमा, मृत्यु शाश्वत सत्य नै हो । अतः जिम्मेवारी जे सुकै होस् । आफ्नो अन्तरनिहित स्वार्थ र लोभवाट मुक्त भई स्वार्थहीन, सदाचारी, जवाफदेही, पारदर्शी, इमान्दार र उदाहरणीय व्यवहार गर्न सकेमा व्यक्ति मरेर पनि बाँच्न सक्छ । समाधिको बाबजुद समाजले उसको यश, कीर्ति पुस्तौ पुस्ताका लागि स्मरणको पानामा कैद गर्नेछ । र, यस्तो मृत्यु अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्नेछ किन कि ऊ मरेर पनि बाँचिरहेछ ।

तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।

तपाईको प्रतिक्रिया