पोखरामा हुने लाखे नाच प्रतियोगितामा २३ टोलीको सहभागिता, २० टोलीबीच प्रतिस्पर्धा

समाधान संवाददाता २०८१ साउन १६ गते १९:२३

पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ लाखे समूहले सहभागिता जनाउने भएका छन् ।

आयोजक नेवाः खलः कचा पृथ्वीचोकले बुधबार पत्रकार सम्मेलन गरी २३ टोलीको सहभागिता हुने र २० टोलीले मात्र प्रतिष्पर्धा गर्ने जानकारी दिएको छ ।

नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठका अनुसार गोलाप्रथा गरेर सहभागी टोलीहरुका लागि प्रस्तुतिको समय टुंगो लागेको छ । प्रतियोगितामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन झो भ्वयः को समेत आयोजना गरिएको छ ।

Advertisement

पत्रकार सम्मेलनमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः संस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवा खल कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । गत साल पनि बाघजात्रा आयोजक समिति २०८० को आयोजना र नेवा खलः कास्की तथा नेवा समुदायसँग समबन्धित संघसंस्थाहरुले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेको थियो ।

प्रतियोगिता पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । करिब दश हजार जनाको उपस्थिति रहने आँकलन गरिएको कार्यक्रममा एलइडी मार्फत् पनि नाच देखाइने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनो तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रेशमप्रसाद श्रेष्ठले बताए । लाखे नृत्य प्रस्तुतिका लागि चाहिने पोसाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था प्रतियोगि टोली स्वयंले व्यवस्था गर्नु पर्ने नियम छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Advertisement

कार्यक्रममा नेवा खलः कचाः पृथ्वीचोकका पूर्व अध्यक्ष तथा सल्लाहकार गजेन्द्रमान श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेवा मिसा पुचः कास्कीकी अध्यक्ष संगिता बज्राचार्य, नेवा पत्रकार पुचः कास्की अध्यक्ष अनिशा श्रेष्ठ, नेवा ल्याम्ह पुचः कास्की अध्यक्ष विनीत जोजीजु लगायत नेवा समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया