रोगहरूको उच्च जोखिम
नेपालमा अहिले मनसुन चलिरहेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागी जस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् ।
भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।
गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्यांक छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसंख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ ।
मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्यांक आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको सङ्केत गरेको छ ।
विपद्ले ल्याउने स्वास्थ्य समस्या
वर्षातको समयमा आउने बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् ।
अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिंगा, किराफट्यांग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्षाले ट्यांकी वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिस लगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ ।
मनसुनजन्य विपद्बाट १८ लाख जनसंख्या र चार लाख १२ हजार घरधुरीमा क्षति पुग्ने आकलन छ
बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ ।
दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिंगा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । वर्षा याममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ ।
रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खाना निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । बिरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाब रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ ।
तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा हृदयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।
टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ । टोकेको ठाउँदेखि दुई–तीन इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्यान्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ ।
उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको व्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदै छ । नेपाली सेनाले १० हजार ८ सय ४७, नेपाल प्रहरीले १० हजार ५ सय ५८ र सशस्त्र प्रहरी बलले ९ हजार ९ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोट जस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमान्ड पोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ ।
पूर्वतयारीसम्बन्धी क्रियाकलापका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापमा विपद्को असरको आधारमा संघीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् ।
त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् ।
अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ ।
डा बुढाथोकी केन्द्रीय कारागार अस्पतालका प्रमुख हुन् ।
तपाईको प्रतिक्रिया