जुरेस बालोदयद्वारा राहत सामग्रीहरु हस्तान्तरण

समाधान संवाददाता २०८१ साउन १७ गते १५:५४

पोखरा ।
पोखरा १७ बिरौटा अवस्थित बालोदय माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलद्वारा कास्की जिल्लाका पहिरो पीडित बालबालिकाहरूलाई बिहीबार राहत सामग्रीहरू वितरण गरिएको छ ।

Advertisement


गत महिनामा कास्कीमा गएको पहिरोका कारणले बाबुआमा लगायत आफन्त गुमाएर अनाथ बन्न पुगेका बालबालिकाहरूका लागि करिब २७ हजार बराबरको स्कुलब्याग, कापी, कलम लयागतका स्टेशनरी सामग्रीहरु वितरण गरिएको हो ।


जुरेस बालोदयका विद्यार्थीहरूले रकम संकलन गरी खरिद गरिएका उक्त सामग्रीहरू नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका सभापति डण्डराज शर्मा र जुनियर युवा समिति कास्कीका संयोजक रमेशराज भण्डारी मार्फत पीडितहरूका लागि हस्तान्तरण गरेका हुन् ।

Advertisement


जिल्ला सभापति शर्माले रेडक्रस निश्वार्थ मानवीय संस्था भएको र यसले दुःख दुःख विपदमा परेका मानिसहरूको सेवा गर्दै आइरहेको थुप्रै उदाहरणहरु व्यक्त गर्दै बालोदयको रेडक्रसले विगतदेखि नै निस्वार्थ सेवा गर्दै आएकोमा खुसी व्यक्त गरे ।


त्यसैगरी युवा रेडक्रस कास्कीका संयोजक रमेशराज भण्डारीले युवा रेडक्रसको परिचय, भूमिका र यसले गर्दै आएका क्रियाकलापहरूको समीक्षा गर्दै रेडक्रसले आयोजना गर्ने गरेका हरेक क्रियाकलापमा बालोदयको सक्रिय सहभागिता हुने गरेको स्मरण गरे ।


कार्यक्रममा उपस्थित महानुभावहरुलाई प्राचार्य टेकनाथ पौडेलले स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारे ।

कोषाध्यक्ष अमिशा ढकालले रेडक्रसका सात सिद्धान्तहरू वाचन गरेकी थिइन् । कार्यक्रमको सञ्चालक शिक्षक नायक टंकप्रसाद पौडेलले गरेका थिए ।

जुरेस बालोदयका सभापति प्रतीक वाग्लेको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माको प्रमुख अतिथ्यता एवं नेपाल युथ रेडक्रस समिति कास्कीका संयोजक रमेशराज भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सर्कलका संरक्षक एवं विद्यालयका प्राचार्य टेकनाथ पौडेल, शिक्षक नायक टंकप्रसाद पौडेल, सहनायक सह शिक्षक नायक सीता शर्मा लगायत शिक्षकहरु एवं एवं सर्कलका सदस्य विद्यार्थीहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया