कास्कीको शैक्षिक अवस्था बुझ्दै प्याब्सन पाल्पाका पदाधिकारी

समाधान संवाददाता २०८१ साउन १८ गते १२:१३

पोखरा ।
पोखरा शैक्षिक भ्रमणमा आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले पाल्पाली समाज पोखरासँग पाल्पाको शैक्षिक अवस्था र भावी दिशाबारे छलफल गरेको छ ।

Advertisement


टोलीले कास्की र स्याङ्जाको शैक्षिक अवस्थाको अध्ययन अवलोकन भ्रमण गरेको छ । टोलीले प्याब्सन कास्की र प्याब्सन स्याङ्जाका पदाधिकारी तथा सदस्यसँग संस्थागत शैक्षिक क्षेत्रमा भएका कामको अनुभव आदानप्रदान गरेको प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यले जानकारी दिए ।


टोलीले मदरल्यान्ड मावि र ग्लोबल कलेजियट स्कुलले गरेको शैक्षिक प्रगतिको अवस्थाबारे जानकारी लिएको छ । अध्यक्ष बज्राचार्यले शिक्षा र पर्यटनको केन्द्र पोखराको उत्कृष्ट अभ्यास, राम्रा र अनुकरणीय काम सिकेर पाल्पामा लागू गर्ने बताए ।

Advertisement

‘निजी विद्यालयको सञ्चालन र व्यवस्थापनका अलवा कास्कीको समग्र शैक्षिक अवस्थाको अध्ययन अवलोकन गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रले पाल्पाको शिक्षा क्षेत्रलाई धानेको अवस्था छ । आगामी दिनमा राम्रो ढंगले काम गर्न नसकेको खण्डमा शिक्षाको केन्द्रको रुपमा विकास गर्न सकिन्न ।’


उनले शिक्षाको विकासका लागि सहकार्य आवश्यक भएको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनपुकार मुननकमीले पुरानो जमनाको शिक्षाको केन्द्रको रुपमा रहेको पाल्पामा पोखराका विद्यार्थी पढ्न गएको स्मरण गरे । उनले नर्सिङ र मेडिकल शिक्षाको विद्यार्थीका लागि रोजाई स्थान भएको दाबी गरे ।


पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले पोखरा र पाल्पाको पर्यटन प्रवद्र्धन र शिक्षा क्षेत्रको विकासमा काम गरेको जानकारी दिए । मातृसेवा प्रतिष्ठान नेपालसँगको सहकार्यमा पाल्पाको प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि काम गरेको बताए ।


उनले राज्यका निकायले निजी क्षेत्रको विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर नगरेको दाबी गरे । प्याब्सन पाल्पाका सल्लाहकार दुर्गाप्रसाद बस्यालले सरोकारवालाको सक्रियता र एक्याबद्धताले पाल्पाको विगतदेखिको शैक्षिक विरासतलाई जोगाउन सकिने बताए ।


कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य भरतप्रसाद न्यौपाने, पाल्पाका उपाध्यक्ष डासुराम पन्त, सचिव अशेष भट्टराई, पाल्पाली समाज पोखराका महासचिव सञ्जय आत्रेय, पूर्व अध्यक्षहरु कुलप्रसाद घिमिरे, जगदीश गौतम,नारायणप्रसाद पाैडेल, रेशम ‘रचक’ थापा लगायतले शिक्षा क्षेत्रबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया