कांग्रेससँग एमाले गण्डकी असन्तुष्ट, जिल्ला कमिटी कास्कीको हातेमालो

समाधान संवाददाता २०८१ साउन १८ गते १३:२६

पोखरा ।

Advertisement

संघीय सरकारमा एमाले र कांग्रेस मिलेर गठबन्धनको सरकार बनाइसकेपछि प्रदेशहरुमा जिम्मेवारी बाँडफाँड पनि गरेका छन् । त्यसअनुसार गण्डकीमा कांग्रेस नेतृत्वकै सरकार रहने तर एमाले पनि सरकारमा जाने सहमति छ । लुम्बिनीमा एमाले नेतृत्वमा कांग्रेस सरकारमा गएको छ । अरु प्रदेशहरुमा पनि नेतृत्व र सरकारको सहभागिता एमाले कांग्रेसले मिलाएका छन् ।

कर्णालीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी भइसकेको छ । र कोशीमा पनि । बागमती प्रदेशमा कांग्रेसले नेतृत्व लिएको छ र एमाले पनि सरकारमा सहभागी भएको छ । कांग्रेस नेतृत्वको गण्डकी सरकारमा भने एमाले अझै सहभागी नभएको मात्रै होइन आफ्नो सहभागिता हुन अघि नै दीर्घकालीन निर्णय भइरहेको भन्दै एमाले गण्डकीले असन्तुष्टि नै जनाइसकेको छ । तर यसबिचमै एमाले कास्कीले भने कांग्रेसको कास्की समितिसँग साखिल्य देखिएको छ ।

Advertisement

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसँग संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गरेका छन् र त्यो पनि नेपाली कांग्रेस कास्कीको लेटरप्याडमा । संयुक्त वक्तव्यमा संघ र प्रदेश सरकारको स्वागतमात्रै गरिएको छैन र प्रदेश सरकारलाई सघाउने पनि उल्लेख छ ।

एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले चाहिँ पार्टी प्रदेश कमिटीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै कांग्रेस नेतृत्वको प्रदेश सरकारसँग असन्तुष्टि जनाएका छन् । सरकारमा एमाले सामेल नहुँदै पाण्डे सरकारले प्रदेश नीति तथा योजना आयोगलाई पूर्णता दिएको छ । अन्य नियुक्तिका लागि समेत सरकारले काम थालिसकेको छ ।

दवाडीले बुधबार विज्ञप्ति निकालेर गण्डकी प्रदेशको सरकारमा नेकपा (एमाले) को संलग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

२ दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमति विपरीत दिर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा (एमाले) ले आग्रह गरेको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिमा नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली नेतृत्वलाई दुई तिहाई मतको विश्वास प्राप्त भई सरकारले कार्यारम्भ गरेको छ विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकारहरु गठन, पुनर्गठन पनि भइरहेका बेला यस्ता गतिविधि नगर्न एमालेले सचेत गराएको हो ।

हेर्नुहोस् दुई वक्तव्य

तपाईको प्रतिक्रिया