भनिन्छ सुख दुख एकै सिक्काका दुई पाटा हुन् । जीवन रुपी चक्रमा यी दुई निरन्तर घुमिरहन्छन् । दुखपछि सुख आउँछ, सुखसँगै दुख पनि नजिक आइरहेको हुन्छ । भागवत गीतामा भनिएको छ–तिमी अहिले दुख पर्यो भनेर किन चिन्ता गर्छौ, सुख पनि उसको पछि आउँदै छ, तिमीले सुखलाई मात्र स्वागत गर्ने र दुख भोग गर्दिनँ भनेर पाउँदैनौ । यो संसार दुखको भवसागर हो, सुख मात्रको कल्पना गर्नु मूर्खतामात्र हो ।
८४ लाख योनीहमा भड्किएपश्चात मानिसको चोला प्राप्त हुन्छ भन्ने हाम्रो पौराणिक मान्यता छ । मानव चोला सबैभन्दा उत्तम यस कारण भनिएको हो कि उसमा विवेक हुन्छ । यही विवेक प्रयोग गरी मानिसले यो दुखको भवसागरबाट मुक्ति पाउन सक्छ । यसका लागि भागवत गीतामा भगवान कृष्णले कर्म योगलाई अति नै महत्वका साथ विस्तृत रुपमा वर्णन गरेको हामी पाउँछौं ।
मोक्ष प्राप्तिका २ मार्ग–ज्ञानयोग र कर्म योगमा उनले कर्म योगलाई तुलनात्मक रुपमा सहज रहेको कारण यही मार्गबाट हामीहरुले मोक्ष प्राप्तिको लागि संघर्ष गर्नुपर्ने कुरा बताएका छन् । कर्म योगका बारेमा आफ्ना भनाइ आत्मसात गरेरअघि बढ्ने हो भने जीवन अति नै सहज हुने कुरा श्रीकृष्णले गीतामा बताउनु भएको छ । मानिसले आफ्नो निर्धारित कर्म थाहा पाउन शास्त्रको सहारा लिनुपर्ने हुन्छ ।
शास्त्रसम्मत् रुपमा पूर्ण रुपले आफूलाई अर्पण गरी गरिएका हरेक निष्काम कर्महरुले मानिसलाई परमात्माको नजिक पुर्याउने कुराको खुलासा गर्दै श्रीकृष्ण भन्नु हुन्छ– योग क्षेमम् वहाम्यमम् अर्थात् तिम्रो हरेक योगहरुको जिम्मा म लिन्छु । ‘सम भाव’ अर्थात् हरेक प्रकारका परिस्थितिमा एकै भावमा रहन सक्नु नै योग प्राप्ति हो भन्दै सो स्थितिमा रहने योगीका गुणको बारेमा पनि विस्तृत रुपमा गीतामा व्याख्या गरिएको छ ।
भन्न र सुन्न जति सहज लागे पनि वास्तविक जीवनमा सो स्थितिमा पुग्न किमार्थ सहज छैन । हरेक क्षण अनेकौं कुरामा भौतारिने यो मनलाई बसमा राखेर सम भावको स्थितिमा पुग्नु नै जीवनको एउटामात्रै लक्ष्य हुनु पर्दछ । सो अवस्थामा मात्रै मानिसले आफू भित्रको आत्माको माध्यमबाट परमात्माको नजिक पुग्न सक्छ । सोका लागि सबैभन्दा पहिलो खुट्किलो भनेको आफ्ना इन्द्रियहरुलाई आफ्नो बसमा राख्नु, काम, क्रोध, लोभ, मोह र अहंकार मानव जातिका परम शत्रु हुन् ।
हामी जति संसारिक सुख भोगको लोभमा दौडिरहेका हुन्छौं, त्यति नै आफूभित्रको आत्मा र परमात्माबाट टाढा टाढा गइरहेका हुन्छौंं
इन्द्रियहरुलाई आफ्नो बसमा राख्न सकेमात्र मन स्थिर हुन सक्छ । जसका लागि मानिसले आफ्नो बुद्धिको प्रयोग गर्नु पर्छ । जसले आफ्ना इन्द्रियहरुलाई आफ्नो बसमा राख्न सक्दैन ऊ यो संसार रुपी भवसागरमा बारम्बार जन्म लिइरहन्छ ।
निस्काम कर्म, अर्थात कुनै पनि फलको आकांक्षा नगरी उनै श्रीकृष्णलाई समर्पित गरी कर्म गर्नु नै कर्म योगको मार्ग हो । हाम्रो कर्ममा मात्रै अधिकार छ, त्यसको फलमा छैन । अतः फलको आश नगरी हामीले आफ्नो निर्धारित कर्म गरेमात्रै यो मनावरुपी चोलाबाट हामीले सदाको लागि मुक्ति पाउन सक्छौँ ।
यो संसार रुपी दुखको भवसागरमा हामीले सक्दो मेहनत गर्नु पर्छ । जे जस्तो कर्म हामीलाई प्रकृतिले प्रदान गरेको छ, त्यो कर्म पूर्ण इमान्दारिताका साथ निर्वाह गर्नु हाम्रो परम कर्तव्य हो । हाम्रा शास्त्रहरु यसै बनेको हैनन्, हाम्रा पुर्खाहरुको वर्षौंको ज्ञान र अनुभवबाट सिर्जित हाम्रा शास्त्रहरु हामीले सहजै नकार्न हुँदैन र सक्दैनौं पनि । बढ्दो पश्चिमा सभ्यताले हाम्रो संस्कृतिमाथि दिनानुदिन प्रहार गरिरहे पनि अहिले आएर स्वयं उनीहरु नै हाम्रो संस्कृतिको अन्वेषणमा लागिरहेको जगजाहेर नै छ ।
हालैमात्र गौमुत्रको अमेरिकाले पेटेन्ट दर्ता गराएको छ । थोपा थोपालाई प्याकिङ गरेर बिक्री गर्न थालेको छ । जबकि गौमुत्रले हाम्रो स्वास्थ्य तथा वातावरण पुग्ने फाइदाका बारेमा हाम्रा पुर्खाहरुलाई ऊ बेला नै ज्ञान थियो । मेहनत र दुखको कुरा गर्दा हामी प्रायः मेहनतलाई दुखको रुपमा परिभाषित गरिरहेका हुन्छौं । कुनै पनि कर्मका लागि गरिने शारीरिक या मानसिक परिश्रमलाई हामी प्राय दुखमा परिभाषित गरिरहेका हुन्छौं ।
हरेक मानिसले आफ्नो जीवन निर्वाहका लागि कुनै न कुनै कर्म गर्ने पर्छ, चाहे त्यो शारीरिक रुपमा होस् या मानसिक । दुवै प्रकारले गरिने मेहनत हाम्रा निर्धारित कर्म हुन् । यसलाई दुखको रुपमा परिभाषित गर्नु हाम्रो अबोधपन हो । अथक परिश्रमका बाबजुत पनि यदि आफ्ना प्राकृतिक आवश्यकता पूर्ण गर्न नसकेमा मात्रै त्यो परिश्रम दुखको श्रेणीमा पुग्ने मेरो बुझाइ छ ।
फरक क्षमता भएका मानिसहरुसमेत आफ्नो प्राकृतिक आवश्यकता पूर्ण गर्न यहाँ सक्षम छन् र कतिले त्यसैमा पनि सन्तुष्ट रहेर सहज जीवन बिताइरहेका पनि छन् । तर पूर्ण क्षमता भएका कतिपय हामी सानो केही चोटपटक लाग्दैमा मात्रै पनि ठूलो दुखमा परेको ठानी आफ्नो मनोबल नै गिराइरहेको पाउछौं ।
मानिसका प्राकृतिक आवश्यकता न्यून छन् । दुइ छाक स्वस्थ खाना, मौसम अनुसार शारीरिक सुरक्षाको लागि केही वस्त्र र सहज आवास मात्रै अत्यावश्यक प्राकृतिक आवश्यकताहरु हुन् । वर्तमानमा हामी विलासी जीवनको चाहनामा यति दौडिरहेका छौँ कि हामीले सन्तोषले सास फेर्ने समय पनि एकदमै कम पाएका छौँ । कतिसम्म विलासिता हामीलाई सुख दिने हो ठ्याक्कै निक्र्याेल गर्न मुस्किल छ ।
सुख कुनै बाह्य तत्वमा नभई स्वयं भित्र अनुभव गरिने एउटा भावना हो । अतः सधै आफैंसँगै भित्रै रहिरहने दुई भावनामध्ये सुखको मात्र आशामा हामीबाहिर जति भौतारिरहेका हुन्छौं, हामी त्यति नै दुखको नजिक हुन्छौं । जति जति हामी यो संसारिक सुख भोगको लोभमा दौडिरहेका हुन्छौं, त्यति नै हामी आफूभित्रै रहेको आत्मा र परमात्माबाट टाढा टाढा गइरहेका हुन्छौं । सुख दुख बाहिरी तत्वहरु प्रतिको हाम्रो आफ्नै प्रतिक्रिया हुन्, दुवै क्षणिक हुन् । यदि बाह्य तत्वले हाम्रो सोच परिवर्तन गर्छ भने हाम्रो आफ्नो अस्तित्व चाहिं के त ?
डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।
तपाईको प्रतिक्रिया