बिपी स्मृति पुस्तकालयमा बिपीकै पुस्तक चर्चा
पोखरा । नेपाली कांग्रेस बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आयोजनामा पोखरामा शुक्रबार पठनसंस्कृति कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भयो । जसमा बिपी कोइरालाका पुस्तक ‘मोदी आइन्’ र ‘सुम्निमा’ उपन्यासबारे पुस्तक परिचर्चा भयो ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४२ औं स्मृति दिवस सन्दर्भ पारेर पार्टीको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा नवराज न्यौपानेले ‘मोदी आइन्’ बारे चर्चा गरे ।
यस्तै, अर्का प्राध्यापक डा भानु शर्मा कँडेलले ‘सुम्निमा’ बारे परिचर्चा गरे । कँडेलका अनुसार ‘सुम्निमा’लाई नेपाली साहित्यमा साँच्चै महत्वपूर्ण कृति मानिने बताए । यसले नेपाली समाजमा प्रकृति र मानवबीचको सम्बन्ध, प्रेम, चाहना, परम्परा र आधुनिकताबीचको टकराव, जातीय पहिचान, व्यक्तिगत बिकास, सामाजिक समानुभूति आदि विषयवस्तुहरुको खोजी गरेको उनको भनाइ छ ।
सँगसँगै यसले स्पष्ट रूपमा जातीय सद्भावलाई यसको केन्द्रीय विषयवस्तुको रूपमा सम्बोधन गर्नुका साथै कोइरालाको जीवन दर्शन सुम्निमाको चरित्र मार्फत उजागर गरेको बताए । सुम्निमाले व्यक्तिवाद र खुशीको खोजी, स्वच्छन्दतावाद, मानवतावाद, जीवन सिद्धान्त। अरूप्रति समानुभूतिः प्रेम र करुणा परस्पर विरोधीजस्ता देखिने तत्वहरु वायु र माटो, शारीरिक आशक्ति र ज्ञान मार्फत मुक्तिको चाहना जस्ता मानवीय मूल्यहरूबीचको समन्वयलाई पनि बढावा दिएको चर्चा गरे ।
डा न्यौपानेले ‘मोदी आइन्’ बारे चर्चा गर्दै उक्त कृति बिपीको मुख्य कृति भएको बताए । मोदीआइन्मा महाभारत गीताको पुनर्गठन, बिपीका राजनीतिक र साहित्यिक विचार प्रस्तुत भएको बताए । २०२० माघ १५ देखि १७ सम्म ३ दिनमै यो कृति तयार भएको थियो । जतिबेला बिपी सुन्दरीजल बन्दीगृहमा थिए । पौराणिक र लौकिक आख्यानको संयोजक यहाँ देख्न सकिन्छ । गीता दर्शनको खण्डन गर्दै मानवतावादी तथा जीवनवादी दर्शनको स्थापना, यथेष्ट मात्रामा स्वरैकल्पनाको प्रयोग, यहाँ असल मान्छे बन्नु सन्देश रहेको डा न्यौपानेले चर्चा गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेको कार्यक्रममा सहभागीले ती उपन्यासबारे विभिन्न विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि शिव त्रिपाठीले छन्दमा कविता वाचन गरेको कांग्रेस गण्डकीका प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले बताए ।
नेपाली कांग्रेस बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुस्तकालय संयोजक प्राडा कुशुमाकर न्यौपाने र सञ्चालन सदस्य कमल सापकोटाले गरेका थिए । संस्थाले विभिन्न सन्दर्भमा पठन संस्कृति कार्यक्रम गर्दै आएको संस्थाका कोषाध्यक्ष शिरोमणि बरालले जनाए।
तपाईको प्रतिक्रिया